चित्रबहादुरको कालो चस्मा लगाएर सुन तस्करको घरमा पुगे ‘इमानदार चोर’ !
काठमाडौँ । एक जना तस्करीको गिरोहका नाइकेले रातको समयमा प्रेमिकालाई घरको कोठामा ल्याएर राखेको छ । प्रेमिकासँग प्रेमलापकै बिचमा उसको मोबाइलमा पटक पटक फोनको घण्टी बज्छ । कसको र किन फोन आएको भन्ने केही नखुलाई उनी प्रेमीकालाई त्यहाँ एक्लै छोडेर हतारमा बाहिरिन्छन् ।
ती तस्करीका नाइके फेरि आउने प्रतीक्षामा हुन्छिन् प्रेमिका । निकैबेरपछि कोठामा टर्च लाइट बालेर एकजना चोर भित्र पस्छ । प्रेमी नै आएको होला भन्ने लागेर बत्ती बालेर हेर्दा प्रेमिकाले चोर देख्छिन् र उनी आतिन्तिछन् । शरीरको माथिल्लो भाग नाङ्गै रहेका चोरले आफू चोर्न आएको बताउँछन् । यस्तै चोरको आँखामा कालो चस्मा देखिन्छ । उक्त चस्मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको घरमा चोर्न जाँदा केही नभेटेपछि त्यही चस्मा चोरेको उनले बताउँछन् । संवादमा इमानदार नेतासँग केही नहुने उनले गहिरो सन्देश समेत दिन्छन् ।
प्रसङ्ग हो, राष्ट्रिय नाचघरमा आयोजित ‘गाईजात्रा महोत्सव २०८१’मा समावेश प्रस्तुति ‘इमान्दर चोर’को । नाटक शैलीमा प्रस्तुत प्रहसनमा प्रेमिकाको भूमिका कलाकार सबनम सिल्वाल, तस्करीका नाइके प्रेमीको भूमिकामा विपिन घिमिरे र चोरको भूमिकामा रामभजन कामत छन् । तीनै जना राष्ट्रिय नाचघरैकै कलाकार हुन् ।
प्रस्तुतिमा सबनमको समेत सहजतामा चोरले कोठामा सामान खोज्दै जाँदा ५०० किलो सुन, करोडौँ नगद, महत्त्वपूर्ण फाइलहरू भेट्छ । तर चोरले करोडौँको सुन भेट्दा पनि चोर्न चाहँदैन, उल्टै प्रहरीमा बुझाउने बताउँछ । तर उसलाई पुलिसको पनि विश्वास हुँदैन । प्रस्तुतिमा पुलिस, नेता, कर्मचारी, पत्रकार सबै मिलेर देश खोक्रो बनाएको प्रति व्यङ्ग्य गरिएको छ । जो इमानदार भनेर राज्यको महत्त्वपूर्ण स्थानमा छन् तिनीहरू चोरजस्तो बनेको र राज्यको गलत नीतिका कारण चोर बन्न बाध्य भएकाहरू भने इमानदार भएको सन्देशसँगै प्रस्तुति सकिन्छ ।
राष्ट्रिय नाचघरको आयोजनामा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को संयोजन रहेको ‘गाईजात्रा महोत्सव २०८१’ रोचकदेखि घोचकसम्म अनेक प्रस्तुति रहे ।
भदौ ३ गतेदेखि सुरु भएको श्री रिद्धि सिद्धि ज्वेलर्स मुख्य प्रायोजक रहेको गाईजात्रा महोत्सव सोमबार दिउँसो १ बजेको शोसँगै सकिएको छ ।
महोत्सवमा कलाकार सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, दिनेश काफ्ले, सन्तोष खनाल, सुयसा खनाल, हिमेश पन्तलगायत विभिन्न कलाकारको प्रस्तुति रह्यो ।
भनिन्छ, वर्षभरि देशमा के–के महत्त्वपूर्ण घटना भए भनेर थाहा पाउन विभिन्न पत्रपत्रिका पल्टाउनु पर्दैन, मात्र एउटा गाईजात्रा कार्यक्रम हेरे पुग्छ । ‘गाईजात्रा महोत्सव २०८१’ले राजनीति, भ्रष्टाचारदेखि सामाजिक बिकृति, बिसंगतीसम्मका वर्षभरिको हरेक घटना व्यङ्ग्यका झटारो मार्फत बर्साएको छ ।
कार्यक्रममा सबैभन्दा बलियो प्रस्तुति ‘जय भेडा’ रह्यो । हास्य कलाकार दिनेश काफ्ले र खड्गबहादुर पुन मगर (खबपु)को यो ‘जय भेडा’ प्रहसन हाउडे दाइको चिया अड्डामार्फत पस्किएका छन् ।
यो प्रवसनमा गिरीबन्धु चिया, ललिता निवास चिया, वाइडबडी चिया, युट्युब चिया, सहकारी चिया, गोल्डेन चियामार्फत देशका ठुला भ्रष्टाचारमाथि पेचिलो प्रहार गरिएको छ । जसले दर्शकलाई पेट मिचीमिची हाँस्न बाध्य पार्छ ।
प्रहसनमा दिनेश चिया पसले र खबपु भेडाको दुध बेच्ने कृषक भेषमा देखिन्छन् । दिनेश र खबपुले प्रस्तुतिमा दर्शकको सिटी र ताली पनि भरपुर पाउँछन् । यी कलाकारको किसानको श्रमलाई बिचौलियाले शोषण गरिरहेको मार्मिक प्रस्तुतिमा भने दर्शकलाई केही भावुक तुल्याउँछ । जनतालाई भेडासँग तुलना गर्दै उनीहरुले जसलाई धेरै भेडाले विश्वास गर्न त्यो मात्र सत्तामा पुग्छ भन्दै कटाक्ष गरेका छन् ।
यसैगरी सिस्नोपानी नेपालका लक्ष्मण गाम्नागेका राजनीतिकदेखि सामाजिक विषयसम्मको घोचपेचका व्यङ्ग्यात्मक कविताले पनि गाईजात्रा दर्शकमा रौनक थप्न सफल भयो ।
यसबाहेक कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ र सुरेन्द्र केसी ‘मुलासाग’को ‘सिमानाको कथा’ नामक प्रस्तुति राष्ट्रभक्ति र देशमायाले ओतप्रोत भएको भन्दै धेरैले तारिफ गरे । ‘जोगिन्दर’ले भारतीय सुरक्षाकर्मी र ‘मुलासाग’ले नेपाली सुरक्षाकर्मीको गेटअपमा राखेको प्रस्तुति सशक्त र मार्मिक पनि थियो ।
उनीहरूको प्रस्तुतिमा सीमा अतिक्रमण, सीमाक्षेत्रमा नेपालीमाथि हुने ज्यादतीका विषय मात्रै उठाइएको छैन नेताहरूको विदेशमा उपचारका साथसाथै भ्रष्टाचार र राजनीतिक विषयमा समेत कटाक्ष गरिएको छ । नेपाल कहिल्यै कसैको गुलाम नभएको सन्देश दिने यो प्रस्तुतिमा दर्शक छिनमै पेट मिचिमिच हाँस्न बाध्य भए भने छिनै देशको विषयमा सोच्न बाध्य पनि ।
धुर्मुस-सुन्तलीकाे पुरानै शैली
केही समय कलाकारिता छाडेर रंगशाला निर्माणमा लागेपनि असफल भएका हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ पछिल्लो समय कलाकारितामै कमब्याक भएका छन् । नाचघरको गाईजात्रामा पनि उनको ‘नेपाल आमा’ प्रहसन रह्यो । तर सो जोडीको प्रहसन सशस्त्र नलागेको कतिपयको प्रतिक्रिया छ । महिला र पुरुषमा समानताको नारा समेत उठाएको प्रस्तुतिले घरेलु श्रममा महिला मात्र नभएर पुरुष पनि सामेल हुनुपर्छ भन्ने वकालत हेर्दा कुनै एनजीओको नारा जस्तो सुनिन्थ्यो ।
सिरियल ‘बेरी बास्सै’को चर्चित पात्र ‘धुमूर्स’ र ‘सुन्तली’ गेटअपमा सिताराम र कुञ्जनाले त्यही सियलको भान दिने प्रस्तुति राखे । रंगशालाको पिडा ओकल्दै प्रस्तुति सुरु गरेका उनीहरूले नेपाली अभिनेत्रीको बिकनी तस्बिर, देशका सांसद, नगरपालिका, राजनीतिक पार्टीका शीर्षस्थ नेता, एनसेल काण्ड, त्रिशूली दुर्घटना, देशको प्रदेश लगायतका विषयमाथि कटाक्ष गरे ।
हाम्राले भन्दा राम्राले प्राथमिकता पाउनुपर्ने सन्देशसहित प्रस्तुति सकेका ‘धुर्मुस’ र ‘सुन्तली’को प्रस्तुति हेर्दा उनीहरु देशका पछिल्ला चर्चित घटनासँग अपडेट नरहेको टिप्पणी धेरैले गरे ।
यस्तै कमेडी च्याम्पियन विजेता हिमेश पन्तले कार्यक्रममा दर्शकले अपेक्षा गरेजस्तो प्रस्तुति दिन नसकेकै धेरैको प्रतिक्रिया रह्यो । आफ्नो अभिनय रहेको फिल्मको प्रचार समेत गर्न भ्याएका उनले तिज गीत, नेपाली राजनीति, पत्रकार ऋषि धमला, पूर्व प्रधानमन्त्री प्रचण्डलगायत माथि व्यङ्ग्य गरे । यस्तै हिमेशले आफ्नो व्यङ्ग्यात्मक प्रस्तुतिमार्फत काठमाडौँ महानगरका मेयर बालेन शाहको समर्थन पनि गरे । अन्य नेता र दलप्रति आक्रामक देखिएका उनी रास्वपाका सभापति रवि लामिछानेप्रति भने मौन देखिए ।
यस्तै कलाकार राजा राजेन्द्र पोखरेलको कार्यक्रम संचालन शैली रोचक थियो । आफैँ पनि कमेडियन रहेका उनले एक प्रस्तुतिपछि अर्को प्रस्तुतिसम्मको खाली समयमा दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने काम गरे ।
यस्तै कलाकार सुयशा खनाल र सन्तोष खनालले ‘नेता निवास’ शीर्षकको शिक्षक र विद्यार्थीबिचको प्रहसनमा पनि दर्शकले रमाइलो फिल गरे ।
नेता, शिक्षक कोही पनि आफ्नो आचरणमा नबसेको कुरालाई व्यङ्ग्यात्मक शैलीमा राखिएको थियो । गाईजात्राको प्रस्तुतिमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको पुरानो नेवारी गीतमा नृत्य समेत समावेश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनको तयारीसँगै विभिन्न अभियान सञ्चालन गर्दै नेविसंघ
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
मध्यपहाडी लोकमार्ग : जाजरकोट सडकखण्ड अझै पूरा भएन
-
होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
-
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली, तापक्रम घटेर कठ्याङ्ग्रिने जाडो हुने
-
यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर