सडक दुर्घटना किन बढ्यो ?
काठमाडौँ । चितवनको सिमलताल र तनहुँको मर्स्याङ्दीमा भएका दुई वटा दुर्घटना पछिल्लो समय भएका सबैभन्दा ठुला सडक दुर्घटना हुन् । असार २८ मा सिमलतालबाट त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बस अहिलेसम्म भेटिएको छैन ।
बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा सवार २५ जनाको शव फेला परेको छ । बस र त्यसमा सवार अन्य ४० जना अझै बेपत्ता छन् ।
भदौ ७ मा तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा भारतीय तीर्थयात्री सवार बस खस्यो । उक्त दुर्घटनामा २७ जनाले ज्यान गुमाए भने घाइते १६ जनाको उपचार हुँदैछ ।
जेठ ३१ देखि यस वर्षको मनसुन सुरु भएसँगै दुर्घटनाको ग्राफ ह्वात्तै बढेको छ । वर्षायाममा दुर्घटना वृद्धि हुनसक्ने पूर्वआकलन भए पनि न्यूनीकरणका उपाय अवलम्बन नगर्दा दुर्घटना अत्यधिक बढेको जानकारहरू बताउँछन् ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २०८१ वैशाख यता १० हजार ६७० वटा साना–ठुला सवारी दुर्घटना भए । दुर्घटनामा परेर वैशाखदेखि भदौ ६ सम्ममा ७ सय ७३ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो ४ महिना १० दिनमा सडक दुर्घटनामा परेर २ हजार १४१ जना गम्भीर घाइते भएको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले बताए । उनले भने, ‘सो अवधिमा ९ हजार ८३३ जना साधारण घाइते भएका छन् ।’
२०८१ वैशाख यताको तथ्याङ्क:
तथ्याङ्क स्रोत : प्रहरी प्रधान कार्यालय
कमजोर पूर्वाधारका कारण सवारी दुर्घटना बढेको सडक सुरक्षा सम्बन्धी जानकार आशिष गजुरेलले बताए । उनले भने, ‘सिमलतालमा पनि पूर्वाधारको कारण दुर्घटना भएको हो । मर्स्याङ्दी नदीमा पनि घुम्तीबाट गएर बस खसेको देखिन्छ ।’
तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐनपहरामा बार नबनाउँदा भारतीय नम्बरको बस मर्स्याङ्दीमा खसेको गजुरेलको निष्कर्ष छ । उनले भने, ‘त्यहाँ घुम्तीमा बेरियर लगाएको देखिँदैन ।’
यसवर्ष पृथ्वी राजमार्गस्थित चितवनखण्ड र नारायणगढ–मुग्लिन सडक खण्डमा अत्यधिक दुर्घटना भएको छ । साउन महिनामा सो क्षेत्रमा ३४ वटा सवारी दुर्घटना भए । २०८१ असारमा नारायणगढ–मुग्लिनमा ५ वटा र चितवन जिल्लाको सिमानामा पर्ने पृथ्वी राजमार्गमा ३४ वटा सवारी दुर्घटना भएको छ ।
वर्षाको समयमा माथिबाट ढुङ्गा खसेर पृथ्वी राजमार्गमा ६ वटा ठुला सवारी दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए । उनले भने, ‘पृथ्वी राजमार्गभन्दा माथि खनेका साना सडकबाट वर्षामा आउने लेदोसहितको बहावका कारण दुर्घटना बढेको छ ।’
राजमार्ग स्तरोन्नति भइरहेको छ । सडकमा राखिएको निर्माण सामग्रीका कारण सडकको आकार सानो भएको र चालकले तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने गरेको डीआईजी केसीले बताए ।
वर्षामा पानीले सडकमा खाल्डाखुल्डी बनाउँछ । पानीको कारणले बाटो चिप्लो हुँदा टायरको ‘ग्रिप’ कमजोर हुनाले वर्षामा दुर्घटनाको थप जोखिम हुने सडक सुरक्षा सम्बन्धी जानकार गजुरेलले बताए । उनले भने, ‘वर्षाले पूर्वाधारलाई थप कमजोर बनाउँछ, पानीले सडक खाल्डाखुल्डी बनाउँछ । त्यसबाट दुर्घटनाको जोखिम बढेको देखिन्छ ।’
सडक दुर्घटनाबाट अत्यासलाग्दो जनधनको क्षति भएको छ । ‘स्थानीय तहले बनाएको सडकमा इन्जिनियरिङ्ग मापदण्ड पालना भएको छैन,’ आशिष गजुरेलले रातोपाटीसँग भने, ‘१ लाख किलोमिटर सडकमध्ये २५ हजार किलोमिटर सडकमात्रै सडक विभागले बनाएको छ ।’
सार्वजनिक सवारीको यान्त्रिक परीक्षण नहुँदा पनि दुर्घटना दैनिक बढ्दै छ । ‘पुराना गाडीहरू चलिरहेका छन्,’ गजुरेलले भने, ‘त्यसले दुर्घटना बढाएको छ ।’
सवारी दुर्घटनाबारे जानकार पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार चालकलाई सचेत नगराउँदा बर्सेनि दुर्घटना बढ्दो छ । उनले भने, ‘हामीले चालकलाई नै जिम्मेवार बनाउनुपर्छ ।’
ठुला दुर्घटना भएपछि जाँचबुझ आयोग गठन गर्ने र प्रतिवेदन बुझेर घर्रामा थन्क्याएर बस्ने सरकारी शैली नयाँ होइन । तत्काल उद्धार संयन्त्र नहुँदा पनि दुर्घटनाको कारण हुने मृत्युदर बढ्दै छ । वर्तमान अवस्थामा सवारी प्रयोगकर्ता आफैँ सचेत भएमा दुर्घटना न्यूनीकरण हुने जानकारहरू बताउँछन् ।
सडक प्रयोगकर्ता अनुशासित नभएको गजुरेलले बताए । उनले भने, ‘प्रयोगकर्ता अनुशासित हुने हो भने सुरक्षाको तह बढ्छ ।’
सडकको स्तरोन्नति गरेर र ब्यारियर राखेर पनि दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
यस्तो छ दुर्घटनाको तथ्याङ्क:
स्रोत : प्रहरी प्रधान कार्यालय
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की अदालतमा सूर्य थापामाथि खनिए रवि, योजनाअनुसार प्रतिवेदन लेखेको आरोप
-
१० बजे १० समाचार : दुर्गा र रविको हिरासतमै बासदेखि ‘दुई नम्बरे उपकुलपति’को आरोपसम्म
-
वायु प्रदूषण न्यूनीकरण आवश्यक छ : मन्त्री शाही
-
मानवअधिकार चलचित्र महोत्सवमा रेमन्यान्ट्सले जित्यो नेपाली पानारोमा अवार्ड
-
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
-
भूमिगत सिँचाइ प्रणालीले सहज बन्दै कृषि पेसा