शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ११ भदौ २०८१, २२ : ००
मङ्गलबार, ११ भदौ २०८१

आज २०८१ भदौ ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • संसद्मा प्रचण्ड

 प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई कमजोर र निरीह प्रतिपक्ष नठान्न सत्तापक्षलाई चेतावनी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरू बलियो प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका हुन् ।

  • वैदेशिक रोजगार

 परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबिचको लडाइँका कारण युरोप लगायतका देशमा मागपत्र प्रमाणीकरणको समस्या अझै सुल्झिन सकेको छैन ।

  • म सक्छु

२०५६ सालतिर, अधिवक्ता मीरा ढुङ्गानाकहाँ वैवाहिक बलात्कारबाट पीडित महिला आउन थाले । पीडितहरूसँग कुरा गर्दै जाँदा मीराले बुझिन्— महिलाहरू वैवाहिक बलात्कारबाट समेत पीडित रहेछन् । त्यतिबेलाको मुलुकी ऐनले कुनै पुरुषले आफ्नी श्रीमतीबाहेक अन्य महिलालाई उसको इच्छाविरुद्ध जबर्जस्ती करणी गरेमा मात्रै बलात्कार भएको मान्थ्यो । समाजमा पनि यस्तै भाष्य स्थापित थियो ।

  • संसदीय समिति

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति पद प्राप्तिका लागि सत्ता पक्ष र विपक्षी दलबिच होडबाजी चलिरहेको छ । सत्तारुढ दल नेकपा एमालेले लिइरहेको सभापति पद पाउन विपक्षी नेकपा माओवादी केन्द्र कम्मर कसेर लागेको छ ।

  • जसपा नेपालभित्र असन्तुष्टि

जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै चयन गरेका पदाधिकारी तथा कार्यकारिणी समिति सदस्यलाई लिएर असन्तुष्टि देखिएको छ । जसपा नेपालले भदौ १० गते २० सदस्यीय पदाधिकारी घोषणा गरेको थियो । सहअध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–२ उपमहासचिव–३, सचिव–७, कोषाध्यक्ष–प्रवक्ता १–१ जना चयन गरिएको हो ।

  • ओमानका विदेशमन्त्री

ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् ।

  • समिति बैठक

सरकारले राजदूतमा सिफारिस गरेका १७ मध्ये दुई जना राजदूत बन्न अयोग्य रहेको जिकिरसहित संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । समिति स्रोतका अनुसार मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिना र इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित कुनै पनि परिस्थितिमा राजदूत बन्न योग्य नरहेको भन्दै उजुरी परेको हो ।

  • कारबाही

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो। 

  • नेपाली कांग्रेस

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजेका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बिहीबार बिहान बोलाएका हुन् । 

  • भ्याकेट

सरकारले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागु नगर्नु भनि सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध भ्याकेटको निवेदन दर्ता गराएको छ । गृह मन्त्रालय हुँदै महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप