शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, १२ भदौ २०८१, २२ : ००
बुधबार, १२ भदौ २०८१

आज २०८१ भदौ १२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • संसद् बैठकमा विवाद

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको बैठकमा जनयुद्ध ‘हिंसा’ भएको भनी टिप्पणी गरेपछि विवाद भएको छ।  विशेष समयमा बोल्दै गर्दा भट्टराईले डेडिकेटेड फिडर र ट्रकलाइन महसुल विवादमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गरेको सम्बोधनबारे जवाफ दिँदै गर्दा जनयुद्धलाई हिंसा भनी टिप्पणी गरेका थिए ।

  • वैदेशिक रोजगार

वैदेशिक रोजगार विभागले नक्कली आवेदन पेस गरेको भन्दै ५६३ वटा आवेदन रद्द गरेको थियो । तीमध्ये कतिपयले तालिम नै नलिइ तीन महिने केयरगिभरको तालिम लिएको प्रमाणपत्र पेस गरेका थिए । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) बाट मान्यता नपाएको संस्थाबाट प्रमाणपत्र लिएका उम्मेदवारहरूले तालिमसमेत नलिएको पाइएको थियो ।

  • पैसा होइन, मिर्गौला रोग लिएर फर्किए

नेपाल विकास समाजले गरेको एक अध्ययन अनुसार, वैदेशिक रोजगारीबाट फर्कने करिब ३० प्रतिशतमा मिर्गौलाको समस्या देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटा मिर्गौला उपचार केन्द्रहरूमा डायलाइसिस तथा उपचार गराइरहेका पाँच सय जनामध्ये एक सय ५० जना (३० प्रतिशत) विदेशबाट फर्किएकाहरू रहेको अध्ययनले देखाएको छ । विदेशबाट फर्किएकामध्ये पनि आधा जति ४० वर्षमुनिका छन् । 

  • असन्तुष्टि

नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत पदाधिकारी चयन गरेको छ । यद्यपि, पदाधिकारी चयनका लागि भएको निर्वाचनले पार्टीभित्रको गुटबन्दी छताछुल्ल बनाएको नेताहरू बताउँछन् ।

  • ईपीजीको कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० को सन्धिलाई पुनरवलोकन गर्न नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न आफूले भारतलाई आग्रह गर्ने बताएका छन् ।

  • सरकार विस्तार टर्‍यो

नेपाली कांग्रेसले मन्त्रीको नाम दिन नसक्दा कोशी प्रदेश सरकार विस्तार फेरि पछि धकेलिएको छ । यसअघि साउन २३ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि सरकार विस्तार हुने बताइएको थियो । तर, उक्त बैठक तीन हप्तासम्म लम्बिएर अझै सकिएको छैन ।

  • नाडा अटो शो

 राजधानीमा आयोजित नाडा अटो शो, २०२४ को यतिबेला तीव्र चर्चा छ । सवारी साधन प्रदर्शनको कुम्भ मेलाकै रूपमा लिइने अटो शोमा यसपटक ईभी सवारीको बोलबाला छ । त्यसमा पनि चिनियाँ ब्राण्डका सवारी साधनको एकलौटी प्रदर्शन भइरहेको छ भन्दा फरक पर्दैन ।

  • साफ यू–२० च्याम्पियनसिप

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले बुधबार खेलिएको फाइनल खेलमा नेपाललाई ४–१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । घरेलु टोलीलाई स्तब्ध पार्दै बंगलादेशले पहिलो पटक उपाधि चुमेको हो ।

  • सहकारी प्रकरण

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिएको छ । 

  • प्रधानसेनापतिमा सिग्देल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप