‘एक्टोपिक प्रेग्नेन्सी’को कारण, उपचार र जोगिने उपाय
हिजो बेलुका ६ बजे काठमाडौँकी एक तीस वर्षकी महिला महिनावारीको भन्दा अत्यधिक रगत बगिरहेको, तल्लो पेट दुखिरहेको भनेर अस्पताल आइन् ।
उनको जाँच गर्दा योनिबाट रक्तस्राव भइरहेको र ‘सक’ (आघात) मा रहेको देखियो । उनी बोल्न सक्ने अवस्थामा थिइनन्, बेहोस्जस्तै थिइन् । उपचार तत्काल सुरु भयो । अत्यावश्यक जाँच तुरुन्तै गर्नुपर्छ भन्दा बिरामीसँग न पैसा छ, न त स्वास्थ्य बिमा !
अस्पतालको इमर्जेन्सीबाट तत्काल आवश्यक मिल्न सक्ने जाँचको रिपोर्ट पठाएर बिरामीका आफन्तलाई हालको अवस्था र जोखिमहरू बुझायौँ । श्रीमानले सबै नालीबेली बताए ।
बिरामी महिलाको घरमा बच्चा रहेछन् । पिसाब जाँच गर्दा गर्भवती रहेको देखिएछ । त्यसपछि अनिच्छित गर्भ फाल्न नजिकैको पसल (फार्मेसी) बाट औषधि लिएर खाएको तीन दिन भएको रहेछ । औषधी खाएपछि रगत बग्न थालेछ, त्यसलाई रोक्ने थप औषधी खाँदा पनि ठिक भएनछ ।
बिरामीका श्रीमान भन्छन्, ‘घरछेउको प्राइभेट अस्पतालमा उपचार र अप्रेसनको एकदेखि डेढ लाख लाग्छ भन्यो ।’
हामीले चेकजाँच गर्दा बिरामीको ‘रप्चर्ड एक्टोपिक प्रेग्नेन्सी’ (पाठेघरभन्दा बाहिरको नलीमा बसेको गर्भ फुटेको) को अवस्था रहेछ । तत्काल अप्रेसन गर्नुपर्ने देखियो ।
अप्रेसनको पैसा पनि अस्पतालकै सामाजिक सेवा एकाइबाट मिलेसम्म सबै छुट गराएर उपचार सुरु भयो ।
सामान्य रूपमा भ्रूण पाठेघरमा स्थापना हुनुपर्छ । त्योबाहेक पाठेघरको नली (ट्युब), डिम्बाशय, पेटमा गएर भ्रूण बस्यो भने त्यसलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ ।
साँझ ७ बजेतिर फुटेको नली फाल्ने अप्रेसन सम्पन्न भयो । बिरामीलाई थप ६ पोका रगत चढाउनुपर्यो । करिब एक घन्टाभित्रै बिरामीको उपचार सकेर बिरामीलाई निगरानीमा राखियो । अप्रेसन सफल भयो, बिरामीको ज्यान जोगियो ।
बिरामीको दाहिने नली (फलोपियन ट्युब) घुमाउनुपर्यो । त्योभन्दा ठुलो बिरामीको ज्यान जोगियो, श्रीमानले श्रीमती गुमाउनुपरेन, घरको निर्दाेष बच्चाले आमा गुमाउनुपरेन ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीका डा. श्रीराम खड्काको टिमप्रति बिरामी र आफन्तले बिरामी बचाइदिनुभएकामा खुसी साटे ।
- के हो ‘एक्टोपिक प्रेग्नेन्सी’ ?
सामान्य रूपमा भ्रूण पाठेघरमा स्थापना हुनुपर्छ । त्योबाहेक पाठेघरको नली (ट्युब), डिम्बाशय, पेटमा गएर भ्रूण बस्यो भने त्यसलाई ‘एक्टोपिक प्रेग्नेन्सी’ भनिन्छ ।
योनि, पाठेघर र नलीको बारम्बार संक्रमण हुने महिलामा पाठेघर बाहिर बच्चा बस्ने चान्स बढी हुन्छ ।
महिलामा पेट दुख्ने धेरै कारण छन् । त्यसैले पेट दुख्नासाथ स्वास्थ्य परीक्षण गराइहाल्नु बुद्धिमानी हुन्छ । बेलैमा उपचार नभए एक्टोपिक गर्भ फुटेर रगत बग्दा महिलाको ज्यानकै खतरा रहन्छ ।
- जथाभावी औषधी सेवन नगरौँ
संसारमा नेपाल मात्र एउटा यस्तो देश होला, जहाँ जुनसुकै औषधी सजिलै किन्न मिल्छ, मानौँ पसलको चक्लेट किने जसरी । यसो गर्दा च्याउसरि उम्रेका औषधी पसललाई आम्दानी होला, बिरामीको भने सत्यानाश हुन्छ ।
पसलबाट मनलाग्दी औषधी किन्दै खाने नगर्नुहोला । औषधी पसल सञ्चालकले पनि अवस्था हेरेर मात्र औषधी दिनुपर्छ, व्यापारको नाममा मानवीय धर्म बिर्सनु हुँदैन । कैयौँ मान्छेलाई थाहा छैन, तपाईंहरूले डाक्टरलाई देखाउनुपर्छ मात्र भनिदिए पनि ठुलो धर्म हुन्छ, यस्ता दुर्घटना न्यूनीकरण गर्न तपार्ईं हामी सबैको साथ अनिवार्य छ ।
देशमा औषधी व्यवस्था विभाग छ । जथाभावी गर्ने माथि निगरानी बढाउनुपर्छ । काठमाडौँमै यस्ता घटना कैयौँ देखिन्छन्, राजधानी बाहिरको अवस्था झन् विकराल छ ।
- उपयुक्त साधनको प्रयोग गरौँ
गर्भ रोक्न कैयौँ साधन छन् । चिकित्सक तथा स्वास्थ्य संस्थाले उपयुक्त साधनबारे सम्पूूर्ण जानकारी दिन्छन् । उपयुुक्त साधनको प्रयोग गरौँ ।
अनिच्छित गर्भ भए डाक्टरलाई नदेखाईकन कुनै पनि औषधी प्रयोग नगर्नुहोला । सरकारले गर्भपतन सेवा धेरैजसो अस्पतालमा उपलब्ध गराएको र उल्टै पैसा पनि दिने गरेको छ । गर्भपतन सेवा धेरै विकास भइसकेको भए पनि हामी आम नागरिक आफैँ सजग छैनौँ, हाम्रा पनि कैयौँ कमी–कमजोरी छन् ।
- स्वास्थ्य बिमा गरौँ
सरकारले स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको छ । कसलाई कहिले के पर्छ भन्ने थाहा हुँदैन ।
३५ सय रुपैयाँमै एक लाखसम्मको स्वास्थ्य उपचार पाउनु सामान्य कुरा होइन । वडापालिकामा बुझेर सबैले स्वास्थ्य बिमा गरौँ ।
हाम्रा सरकारी अस्पताल अब्बल छन् । सबैले विश्वास गरौँ । संसारकै सस्तो दरमा सेवा उपलब्ध हुनु हामी सबैका लागि अवसर हो ।
डा. पाण्डे कालिकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत हुन् ।)