आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ

‘दक्षिण कोरियाबाट लाभ लिन सकिन्छ, तर नीतिगत समस्या हटाउनुपर्छ’

बुधबार, १९ भदौ २०८१, १६ : १४
बुधबार, १९ भदौ २०८१

काठमाडौँ । दक्षिण कोरियाको राजदूतका लागि प्रस्तावित राजदूत डा.शिवमाया तुम्वाहाङ्फेले नेपाल र कोरियाबिचको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धका आधारमा नेपालले विभिन्न लाभ लिन सक्ने भए पनि सोचेजति लिन नसकिरहेको बताएकी छन् । 

संसदीय सुनुवाइ समितिको बैठकमा डा.तुम्वाहाङ्फेले कार्ययोजना पेस गर्दै नेपाल र दक्षिण कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनादेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायतका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान हुँदै आएको बताइन् । 

‘नेपालले गणतन्त्र कोरियाबाट विभिन्न लाभ लिन सक्ने स्थिति छ । तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचे जति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ’, उनले तीमध्ये केही विषयलाई बुँदागत    रुपमा प्रस्तुत गरेकी छन् । 

सरकारी कार्यालय, विश्वविद्यालय, थिंक ट्यांक, स्थानीय सरकारहरूबिचको सहकार्यमा सहजीकरणमा कमजोर समन्वय हुँदा नेपालले सोचे जति लाभ लिन नसकेको उनको ठहर छ । झन्डै २ करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकोमा नेपालमा ३० हजार मात्र आउने गरेको भन्दै उनले कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२ बिलियन अमेरिकी डलर खर्च गरेको तथ्याङ्क आएको बताइन् । ‘त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो । तर, त्यसको नगण्य मात्रै भित्रिएको अवस्था छ’, उनको भनाइ छ । 

उनले कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसकेको भन्दै नेपालले सहकार्य गर्न खोजेको क्षेत्रको बारेमा रणनीतिक योजना र भिजनको आवश्यकता रहेको औँल्याइन् । 

उच्चस्तरीय भ्रमणमा जोड

नेपाल र कोरियाबिच कूटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण वर्षको अवसर पारेर दुई मुलुकबिचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिने प्रस्तावित राजदूत तुम्वाहाङफेको भनाइ छ । ‘दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ । त्यसका साथै कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ’, तुम्वाहाङफेले कार्ययोजनामा भनेकी छन् ।

व्यापार असन्तुलन कम गर्न साझेदारीमा जोड 

नेपाल र दक्षिण कोरियाबिचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ । ‘कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ’ प्रस्तावित राजदूत तुम्वाहाङ्फेको भनाइ छ । 

‘ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ । नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो’, उनको जोड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप