दीपेन्द्रको निर्देशनमा फिल्म ‘हरिबहादुरको जुत्ता’ बन्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश
काठमाडौँ । अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहने गरी फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्न लागेका हुन् ।
सरोज ओलीको निर्माण रहने फिल्म बुधबार चलचित्र विकास बोर्डमा दर्ता भएको छ । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो’, हरिवंशले भने, ‘सरोज ओलीभाईलाई सुनाएपछि यसमा म आफै फिल्म बनाउँछु भनेर उहाँ हौसिनुभयो । त्यसपछि फिल्मको लिड रोलमा पनि मलाई नै अनुबन्धित गर्नुभयो । आइडिया युनिक छ, फिल्म राम्रो बन्छ भन्नेमा म विश्वस्त छु ।’
फिल्म निर्माणमा भने ओली पहिलो पटक होमिन लागेका हुन् । हरिवंशले आफूले खोजेजस्तै कन्सेप्ट सुनाएपछि आफू फिल्म निर्माण गर्न कस्सिएको निर्माता ओलीले बताए ।
‘करिब २५ वर्षदेखि कला क्षेत्रमा लागि रहेको थिएँ । तर फिल्म निर्माणको साइत जुरेको थिएन’, ओलीले भने, ‘राम्रो कथा पाएँ भने फिल्म निर्माण गर्छु भन्ने तयारीमै थिएँ ।’ हरिबहादुर जुत्ताको कन्सेप्ट मन परेर निर्माता बन्न लागेको ओलीको भनाई छ ।
अभिनेताद्वय हरिवंश र प्रकाशसँग निर्देशक दिपेन्द्रको यो पहिलो सहकार्य हो । तीनैजनाले यसअघिसँगै फिल्ममा सहकार्य गरेका छैनन् । प्रकाशका अनुसार यो फिल्म तीन पुस्ताका कलाकर्मीलाई जोड्ने कडी बन्नेछ ।
‘म सानैदेखि हरिवंशदाईलाई टेलिभिजनमा देखेर हुर्किएको हुँ’, प्रकाश भन्छन्, ‘संगीतमा लाग्छु भन्ने त थियो तर फिल्ममा यसरी कामगर्न पाउँला, सोचेको थिइनँ । आज उहाँसँग जोडिन पाउँदा औधी खुशी छु ।’ फिल्मको थप ‘कास्ट एन्ड क्रु’ फाइनल हुन बाँकी छ । कथासारबारे पनि निर्माण पक्षले केही खुलाएको छैन ।