सोमबार, २६ कात्तिक २०८१
ताजा लोकप्रिय

इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सुरु

आइतबार, २३ भदौ २०८१, १३ : १५
आइतबार, २३ भदौ २०८१

वीरगन्ज । पर्साको इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकता वितरण सहितको सेवा सुरु गरिएको छ।  प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले साे कार्यालयको उद्घाटन गर्दै नागरिकता वितरणसहितको सेवा सुरु भएको बताए । 

उनले इलाका प्रशासन कार्यालयबाट पासपोर्ट बाहेकको सेवा प्रवाह हुने बताए । सुपौलीबाट नागरिकता वितरण, प्रतिलिपि वितरण, राष्ट्रिय परिचयपत्रसहित अन्य कागजात प्रमाणित गर्ने कार्य गरिने बताइएकाे छ ।

कर्मचारीको अभावमा ०७९ सालदेखि इलाका प्रशासन कार्यालय सुपौलीबाट गरिने सेवा प्रवाहको कार्यक्रम रोकिएको थियो ।  सार्वजनिक सेवा जनताको घरदैलोमा पुर्‍याउने हेतुले जिल्ला प्रशासन कार्यालयबाट हुने कामको थालनी इलाका प्रशासन कार्यालयबाट गरिएको प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ । 

एक जना अधिकृतसहित ७ जनाको टोली राखेर इलाका प्रशासन कार्यालयबाट सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । सुपौली इलाकाबाट नागरिकता वितरण सहितको सेवा सुरु भएपछि ४ वटा पालिकालाई प्रत्यक्ष फाइदा पुग्ने जनाइएको छ ।

ठोरी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिकालाई प्रत्यक्ष फाइदा हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि  ०७५ सालको पुस महिनादेखि सुपौलीबाट सेवा सुरु भएपनि नागरिकता वितरणको काम भएको थिएन । 

उद्घाटन कार्यक्रममा पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलसहित अन्य सरकारी कर्मचारीका प्रतिनिधि एवम् राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

यसैबिच सुपौली इलाका स्थापनाका लागि जग्गा उपलब्ध गराउने चार जना जग्गाधनीलाई जिल्ला प्रशासन कार्यालय पर्साले सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले जग्गाधनी प्रभु चौधरी, बिन्दु चौधरी, अनरकलिया गुरो र धर्मेन्द्र गुरोलाई सम्मान गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप