शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको पोस्टमा फेरि गोलकाे वर्षा

मङ्गलबार, २५ भदौ २०८१, १९ : १६
मङ्गलबार, २५ भदौ २०८१

काठमाडौँ । दीपा शाहीको पाँच गोल प्रेरणामा त्रिभुवन आर्मी क्लबले जारी एन्फा महिला लिगमा मंगलबार सुदूरपश्चिम प्रदेशमाथि दर्जनभन्दा बढी गोलकाे वर्षा गरेको छ ।

सातदोबाटोस्थित एन्फ मुख्यालय मैदानमा दीपा चम्किँदा आर्मीले लिगकै कमजोर टोली देखिएको सुदूरपश्चिममाथि १४–१ को फराकिलो जित निकालेको हो । 

आर्मीका लागि अनिता लम्जेलले दुई तथा विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक र सावित्रीदेवी मगरले समान एक गोल थपे । जारी लिगमा तेस्रो खेलबाट नै सुदूरपश्चिमले २८ गोल बेहोरेको छ । यसबिच दुई गोल फर्काएको छ । यसअघि सुदूरपश्चिमले बागमती युथ क्लबसँग ५–१ र अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग ९–० को फराकिलो अन्तरको हार सामना गरेको थियो ।

सुदूरपश्चिमले जुन फराकिलो हारको शृङ्खला तेस्रो खेलमा पनि जारी राख्यो । यो जितसँगै आर्मी तीन खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । यसअघि आर्मीले वालिङ नगरपालिकालाई ४–० ले हराउँदा विभागीय प्रतिद्वन्द्वी एपिएफसँग २–१ ले पराजित भएको थियो । लगातार तेस्रो खेलमा हार बेहोरेको सुदूरपश्चिम अंकविहीन रहँदै पुछारमा छ । मंगलबार एकै खेलमा १५ गोल सम्भव भयो । तीमध्ये आर्मी र सुदूरपश्चिमले समान एक आत्मघाती गोल सामना गर्‍यो । खेलको सातौँ मिनेटमा विमला चौधरीको गोलबाट आर्मीले अग्रता लिएको थियो ।

सुदूरपश्चिमकी खेलाडीले क्लियर गर्न खोजेको बल नियन्त्रणमा लिँदै विमलाले सुन्दर गोल गरेकी हुन् । आर्मीले १५औँ मिनेटमा हिमाको गोलबाट अग्रता दोब्बर बनायो । चन्द्रा भण्डारीको थ्रु पास सदुपयोग गर्दै हिमाले सहज गोल गरिन् । पाँच मिनेटपछि नै सुदूरपश्चिम प्रदेशले आत्मघाती गोल गरेपछि आर्मीलाई थप सहज भयो । विमलाको कर्नर प्रहार रोक्न क्रममा शान्ती विकको हेडर बल आफ्नै पोस्ट जाली चुम्न पुग्यो । दीपाले २३औँ मिनेटमा आर्मीको चौथो गोल गरिन् । हिमा चौधरीको उत्कृष्ट पास नियन्त्रणमा लिँदै दीपाले सुदूरपश्चिमकी गोलकिपर टिकेश्वरी साउदलाई पनि बिट गर्दै खाली पोस्ट गोल गरेकी हुन् ।

दुई मिनेटपछि नै चन्द्रा भण्डारीले आर्मीको खातामा अर्को गोल थपिन् । हिमा चौधरीको पासमा उनले वान टच गर्दै खाली पोस्ट गोल गरिन् । ३१ औँ मिनेटमा दीपाले व्यक्तिगत दोस्रो गोल थपिन् । करिब २० यार्डमा प्राप्त फ्रिकिक प्रहारबाट उनले सशक्त गोल गरेकी हुन् । ४५औँ मिनेटमा आर्मीको सातौँ गोल सन्जु कुमालबाट सम्भव भयो । विमला चौधरीको क्रसमा दुई खेलाडी मिस गरेपछि सन्जुले वान टच गोल गरिन् । इन्जुरी समयमा दीपाले ह्याट्रिक पूरा गरिन् । दीपा राईको पासमा उनले गोलकिपरलाई पनि छक्याउँदै तेस्रो गोल गरेकी हुन् । 

यससँगै आर्मीले पहिलो हाफमै ८–० को फराकिलो अग्रता लियो । दोस्रो हाफमा पनि आर्मीले लगातार दबाब बनाउँदै ६ गोल गर्‍यो । दीपाले ५४औँ मिनेटमै गोल गर्दै आफ्नो गोलसंख्या चार पुर्‍याइन् । उनले नै ६२औँ मिनेटमा पाँचौँ व्यक्तिगत गोल गरेपछि आर्मीको अग्रता १०–० मा पुग्यो । दुई मिनेट नबित्दै विमला विकले आर्मीका लागि ११औँ गोल गरिन् । यससँगै सुदूरपश्चिम पूर्ण दबाबमा पर्‍यो । यद्यपि, ६८औँ मिनेटमा सुदूरपश्चिमले आत्मघाती गोल पायो । 

सुदूरपश्चिमको लामो फ्रिकिक प्रहार आर्मीकी डिफेन्डर निलम सिंहले आफ्नो गोलकिपर कोपिला खड्कालाई हेड पास दिने प्रयासमा आफ्नै पोस्टमा गोल गर्न पुगिन् । आर्मीकी अनिता लम्जेलले ८२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १२–१ को अग्रता बनायो । निर्धारित समय सकिन तीन मिनेट बाँकी आर्मीले दुई गोल थप्यो । सावित्रीदेविले आर्मीका लागि १३औँ गोल गरिन् । अनिताले नै इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई १४–१ को फराकिलो जित दिलाइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप