इन्द्रजात्राको सुरुवातसँगै पौराणिक देवी नाच सुरु (तस्बिरहरू)
काठमाडौँ । इन्द्रजात्राको सुरुवातसँगै काठमाडौँ महानगरपालिका १८ किलागलमा नाचिने पौराणिक नाच दी प्याखं (देवी नाच) नाच्न थालिएको छ । कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुन्डो, घुँघुरा र पोसाकसहितको नृत्य गरिएको हो ।
श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण सुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरूलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ ।
यो नृत्य इन्द्रध्वज उत्थान गर्नु अगाडि वसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डबलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।
इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डबलीमा नाच नाचिन्छ । कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ । यसैगरी येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डबलीमा नचाइन्छ । जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डबलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ । त्यसपछि एक वर्ष यो नाच देखाइँदैन ।
देवी पात्रहरूमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन् । नाचले असत्य माथि सधैँ सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरूमा दैत्यको वध गरेको देखाइन्छ । यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ । अन्य नाचमा बलि चढाइन्छ भने यस नाचमा त्यस्तो बलि नदिने हुनाले यस नाच लाई शान्त नाचको रूपमा पनि लिइने यो नाचमा भैरवको पात्रमा नाच्ने बद्री डङ्गोलले बताए ।
इन्द्रजात्राका अवसरमा नचाइने नाचहरूमध्ये यो एउटा हो । पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डबलीहरूमा मात्र नचाइन्छ ।
विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धेरैजसो क्यान्सरको उपचार नेपालमै सम्भव छ : डा. शर्मा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङ–पूर्वी रुकुम सडक कालोपत्र नहुँदा समस्या
-
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज युएईविरुद्व खेल्ने
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
-
अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरू कुनको मूल्य कति ?