सत्ता पक्षले पेल्न खोजे प्रतिवाद हुन्छ : शक्ति बस्नेत
भदौ ५ गतेदेखि सुरू भएको नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक अन्तिम चरणमा प्रवेश गरेको छ । भूगोलका सातै प्रदेशसहित उपत्यका विशेष, प्रदेश समन्वय, केन्द्रीय निकायमा परामर्श समितिको बैठक सकिएको छ । अब ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति र प्रदेश समितिको बैठक बस्न बाँकी छ ।
पदाधिकारी, स्थायी समिति र प्रदेश परामर्श समिति बैठकसम्म आइपुग्दा नीति, नेतृत्व, कार्ययोजना, कार्यक्रम र नेतृत्वको कार्यशैलीप्रति नेताहरूले खुलेर छलफल गरेका छन् । उपमहासचिव जनार्दन शर्माले नेतृत्वको विकल्पसहित पार्टी निर्माणमा फरक प्रस्ताव पेस गरेपछि आन्तरिक मतभेदबारे तीव्र बहस भयो । सबै प्रदेशबाट आएका सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा दस्तावेज पेस गर्ने योजनामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् ।
सत्ता पक्षले माओवादी लगायत विपक्षी दललाई पेलेरै जाने रणनीति बनाएको देखिन्छ । यसै विषयमा माओवादीका उपमहासचिव शक्ति बस्नेतसँग रातोपाटीका संवाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :
- सातै प्रदेशमा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक भयो । बैठकमा के–कस्ता छलफल भए ?
सातै प्रदेशमा बैठक सम्पन्न गर्यौँ । हाम्रो पार्टीको अहिलेको कार्यदिशा, समसामयिक परिस्थिति र आगामी योजनाबारे केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीबिच बुझाइको एकरूपता र विचारमा स्पष्टता हासिल गर्ने काम भएको छ ।
जुन परिस्थितिमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बदल्ने अवस्था सिर्जना भयो, त्यसले अहिले सत्ता पक्षीय दलहरूको सङ्कटलाई नै अभिव्यक्त गर्छ । सामान्य अवस्थामा पहिलो र दोस्रो पार्टी एक ठाउँमा बसेर सरकार बनाउने स्थिति हुँदैन । असामान्य परिस्थितिको उपज हुन्छ त्यो ।
अहिले बाह्य रूपमा असामान्य स्थिति आएको छैन । उहाँहरूको आन्तरिक राजनीतिक जीवनमा देखिएको सङ्कटलाई टार्नका लागि एक ठाउँमा बसेर सरकार निर्माण गर्नुभएको छ ।
अहिले परिवर्तनको पक्षमा माओवादी फेरि दृढतापूर्वक उभिएको छ । यी सबै परिस्थितिले पार्टीलाई नेतृत्वदायी भूमिकामा पुनर्स्थापित गर्ने अवस्था सिर्जना गरेको छ । अब यो परिस्थितिलाई ठिक ढङ्गले बुझ्ने, पार्टीका नीति, योजना र कार्यक्रम बनाएर अगाडि बढ्ने सम्बन्धमा छलफल भएको हो । यसले देशभरी पार्टीभित्र एउटा नयाँ उत्साह र सङ्कल्प पैदा गरेको छ । यसको प्रभाव जनस्तरमा देखिन सुरु गरेको छ । जनताबिच माओवादीप्रति आकर्षण देखिन थालेको छ ।
यी सबै छलफलको निचोडमा भन्नुपर्दा सरकारमा बसेर माओवादीले केही सकारात्मक काम गर्यो । त्यसको प्रभाव जनतामा परेको छ । पार्टीलाई एकताबद्ध बनाएर ठोस नीति र योजनासहित जनतामा जाने विषयमा गम्भीर छलफल भएको छ । बैठकले माओवादीलाई पुनर्जागृत बनाउन ऊर्जा पैदा भएको छ । पार्टीको पादाधिकारी, स्थायी समिति बैठक र सबै प्रदेशबाट आएका सुझावका आधारमा केन्द्रीय समितिले आगामी योजना र कार्यक्रम बनाउने छ ।
- परामर्श समितिको बैठकले माओवादीमा उत्साह र सङ्कल्प पैदा भएको दाबी गरिरहँदा पार्टीभित्र र बाहिर चुनौती देखिएको छ नि, हैन ?
एक गतिशील पार्टीका निम्ति अवसर र चुनौती दुवै हुन्छन् । माओवादीका लागि अवसरभन्दा चुनौती बढी छन् । तपाईंले भनेजस्तो आन्तरिक र बाहिरी चुनौती माओवादीमा छैन । पार्टीभित्र पनि हाम्रा बुझाइमा एकरूपता हुँदै गएको छ । समग्र परिस्थितिलाई बुझ्ने, कसरी ह्याण्डल गर्ने भन्नेबारे पार्टीभित्र थप स्पष्टता र बुझाइमा एकरूपता देखिएको छ । अहिले माओवादीभित्र अवसर र सम्भावना धेरै देखिएको छ । त्यो सम्भावनालाई हामी सदुपयोग गरेर जान्छौँ ।
- पार्टीको पदाधिकारी, स्थायी समिति र प्रदेशस्तरीय परामर्श समिति बैठकसम्म आइपुग्दा खासगरी नीति र नेतृत्वको बारेमा मतभेद देखिएको होइन र ?
बाहिर चर्चा भएजस्तो पार्टीभित्र कुनै मतभेद छैन । पार्टी बनाउनुपर्छ, नेतृत्वमा देखिएको कमी कमजोरी हटाउनुपर्छ । मूल रूपमा मुलुकको यो परिवर्तनको अगुवाइ माओवादीले नै गरेर जानुपर्छ र परिवर्तनको रक्षा, विस्तार हामीले नै गर्न सक्छौँ भन्ने विश्वास हो ।
लामो समयसम्म हामी गठबन्धन गरेर आयौँ । एक दशक सरकारी पार्टीजस्ता भयौँ । यी सबै परिस्थितिले पार्टीको जुझारूपन, सङ्गठनात्मक जीवन, जनतासँगको सम्बन्ध अलिअलि कतै न कतै प्रभावित भएको छ । यसका कमी–कमजोरीका बारेमा समीक्षा भएको छ । यी सबै कुरालाई ध्यानमा राखेर हामीले एउटा ठोस कार्यक्रम र योजना बनाएर कार्यान्वयनमा जान्छौँ । पार्टीलाई एउटा लयमा लैजान्छौँ ।
- सङ्कटमा परेपछि माओवादीले पार्टीभित्र सबैको कुरा सुन्न थालेको हो ?
अहिलेमात्र होइन, पहिला पनि पार्टीभित्र जनवादी अभ्यास गर्दै आएका हौँ । माओवादीमात्रै यस्तो पार्टी हो, जसले आन्तरिक जनवादको निरन्तर अभ्यास गर्दै आएको छ । बाहिरका मान्छेले माओवादीभित्र जनवाद छैन भन्ने गरेका छन् । ०६४÷६५ सालमा हामीले पार्टीभित्र पार्टी बनाउन दिने पनि अभ्यास गर्यौँ । भलै त्यसको परिणाम राम्रो आएन ।
हामी पहिलो संविधान सभाभित्र रहँदा पार्टीभित्र विभिन्न छलफल हुन्थे । आ–आफ्ना पार्टीभित्र गुट वा उपगुट हुन सक्छन् भन्ने कुरालाई त्यतिबेला वैधानिकता दिएका थियौँ । त्यो स्तरको छलफल हामीले गरेका छौँ । तर त्यो छलफल अलि छरपस्ट पनि हुनेगर्थ्यो । अहिले अलि व्यवस्थित गरेका छौँ । छलफल त माओवादीमा पहिले पनि हुन्थ्यो र अहिले पनि भइरहेको छ । जनवादको अधिकतम प्रयोग गर्ने क्रममा विगतमा केही कमजोरी भएका थिए । अहिले व्यवस्थित गर्छौं ।
- पार्टी निर्माणबारे जनार्दन शर्मा ‘प्रभाकर’ले स्थायी समिति बैठकमा पेस गरेको प्रस्तावले मतभेद देखियो नि ?
प्रभाकरजी आफैँले यो फरक प्रस्ताव होइन भन्नुभएको छ । छलफलको क्रममा विभिन्न कोणबाट विषय उठ्छन् । जीवित पार्टीभित्र आन्तरिक छलफल, बहस हुन्छन् । फरक मतको प्रस्ताव गरेको भए पो त्यसमा छलफल गर्ने कि के गर्ने भन्ने प्रसङ्ग आउँछ र अप्ठ्याराका कुरा आउँछन् । त्यो पनि हुनै नसक्ने कुरा होइन । तर प्रभाकरजीले फरक प्रस्ताव भन्नुभएको छैन । पार्टी निर्माणमा विभिन्न कोणबाट छलफल हुँदा कोही भ्रममा पर्नु जरूरत छैन । पार्टीलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भनेर यी सब बहस भएको हो ।
- कम्युनिस्ट पार्टीभित्र जनवादी (आन्तरिक प्रजातन्त्र) केन्द्रीयता (अनुशासन)बारे खुबै बहस हुने गरेको छ । पछिल्लो समय माओवादीमा केन्द्रीयता कमजोर भएको हो ?
कुनै बेला हाम्रो पार्टी युद्धमा थियो । त्यतिबेला युद्धकालीन पार्टी सङ्गठन निर्माण भएको थियो । स्वाभाविक रूपमा केन्द्रीयता प्रधान थियो । अब युद्धबाट शान्ति प्रक्रियामा आइपुग्दा युद्धकालीन केन्द्रीयता लागु गर्नु सान्दर्भिक हुँदैन । त्यतिबेला केन्द्रीयता र जनवादको सन्तुलन मिलाएर जानुपर्ने हुन्थ्यो । अहिले प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरिसकेपछि जनवादको अभ्यास अलि बढी प्रयोग भएको देखिन्छ । स्वतन्त्रताको मात्रा जनवादसँग अलि बढी भयो । ०६५ तिर पार्टीभित्र पार्टीको अभ्यास, त्यसयता जनवाद र केन्द्रीयतालाई सन्तुलन मिलाउने विषयमा केही कमजोरी भएको महसुस गरेका छौँ ।
- अहिलेसम्म भएका बहस र छलफलका आधारमा नेतृत्वका विकल्प, साङ्गठनिक संरचनामा आमूल परिवर्तनको माग गरेको हो ?
यसलाई स्वाभाविक मान्नुपर्छ । पार्टीभित्र सबैको जिम्मेवारी, दायित्व छन् । त्यो सम्भावनालाई यथोचित ढङ्गले सम्बोधन गर्न पार्टीलाई हामीले थप सुदृढ र व्यवस्थित गर्नुपर्नेछ । पार्टीको योजना र कार्यक्रमलाई अझ मूर्त बनाउनुपर्नेछ । कार्यदिशा र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने छ । सङ्गठनलाई अझ गतिशील बनाउनुपर्ने छ । सहरी सङ्गठनलाई विस्तार र व्यवस्थित गर्नुपर्ने छ । यसलाई हामीले पार्टीको रूपान्तरण भनेका छौँ । पार्टीलाई सुदृढ र बलियो बनाएरमात्रै अहिलेको दायित्व र जिम्मेवारी पूरा गर्न सक्नेछौँ । नीति, योजना र कार्यक्रमलाई अपग्रेड गर्ने विषयमा छलफल केन्द्रित छ ।
सङ्घीय गणतन्त्रमा हामी आयौँ । नेपाली क्रान्ति अलि विशेष नै भयो । जनयुद्ध, संयुक्त जनआन्दोलन, शान्ति सम्झौता यी विभिन्न प्रक्रिया हुँदै आयो । यो जनयुद्ध र जनआन्दोलनको संयोजनबाट गणतन्त्र ल्याउन सम्भव भयो । त्यसकारण सङ्घीय गणतन्त्रलाई बुझ्ने सम्बन्धमा पक्षधरबिच फरक बुझाइ छ । यसलाई पुरानै लोकतन्त्रको अलिकति विकसित रूप हो भन्ने एउटा ‘स्कुल अफ थट’ रह्यो । अर्को, परम्परागत लोकतन्त्रभन्दा फरक छ । यो समावेशी लोकतन्त्र छ । सामाजिक लोकतन्त्रको रूप छ । यसको चरित्र समाजवाद उन्मुख छ । समाजवादतर्फ ढल्किएको यो लोकतन्त्र हो भन्ने एउटा पक्षको बुझाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा यी दुई बुझाइजस्तो देखिन्छ ।
यहाँसम्म आइपुग्दा संघीय लोकतान्त्रिक संविधान संशोधनको यी विभिन्न प्रसङ्ग छन् । संविधानलाई अझै प्रगतिशील ढङ्गले परिस्कृत गर्ने कुरामा कसैको विमति हुँदैन । तर अहिले संविधान संशोधनको जुन चर्चा चलेको छ, त्यसको अन्तर्यमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई परम्परागत प्रजातन्त्रमा धकेल्ने प्रयास भइरहेको छ । समावेशी चरित्रको यो गणतन्त्रको कार्यान्वयन गर्नुपर्छ । यसको अन्तरबस्तु कार्यान्वयन सही ढङ्गले हुन सकेको छैन । त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने दिशामा हामी गइरहेका छौँ ।
संविधानको प्रस्तावनामै राखिएको समाजवादलाई कार्यान्वयनको दिशामा जोड लगाउनुपर्छ । अहिले नै समाजवाद आइहाल्छ भन्ने होइन । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उचित कार्यान्वयन गर्न सकियो भने त्यसले समाजवादको आधार तय गर्छ । तर केही साथीहरूले संविधान संशोधनको नाममा सङ्घीय गणतन्त्रलाई परम्परागत प्रजातन्त्रमा लैजाने जुन कोसिस गरिरहनुभएको छ, हाम्रो विरोध त्यहाँ हो ।
- सत्तापक्षले त तपाईंहरूलाई पेलेरै जाने रणनीति बनाएको जस्तो देखिन्छ नि ?
सत्ता पक्षले त्यो गल्ती गर्नुहुन्न भन्ने हाम्रो बुझाइ हो । त्यस्ता गल्तीको मूल्य पार्टीहरूले मात्र चुकाउने भए केही समस्या थिएन । कुनै एक पार्टीले हार्ने वा जित्ने स्थिति बन्थ्यो भने हामीले करेक्सन गर्न सकिन्थ्यो होला । तर अहिले पेलेर जान्छौँ भन्ने सोचेको भए त्यो गम्भीर त्रुटि हुनेछ । यसले थप अस्थिरता जन्माउँछ । समाजमा द्वन्द्व बढ्दै जाँदा पार्टी र परिवर्तनका ठुलो मूल्य चुकाउने खतरा छ । त्यसकारण यस्तो मुर्खता सत्ता पक्षले नगरोस् भन्ने हाम्रो सुझाव छ । यदि पेलेरै ठिक पार्छौं भन्नुभयो भने हामी सशक्त प्रतिवाद गर्छौं । परिवर्तनकारी शक्तिहरू उहाँहरूसँग सती जान सक्दैनन् ।
सम्भावनालाई सङ्कटमा बदल्ने हाम्रो नीति होइन । हामी सङ्कटलाई सम्भावनामा बदल्न चाहन्छौँ । उहाँहरूले जबरजस्ती बदल्न प्रेरित गर्नु हुन्छ भने सम्भावनालाई सङ्कटमा धकेल्न हामी बाध्य हुनेछौँ ।