बिहीबार, २४ असोज २०८१
ताजा लोकप्रिय

जापानीज इन्सेफलाइटिस ६१ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु

शुक्रबार, २८ भदौ २०८१, १९ : ०२
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको हो ।

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानीज इन्सेफलाइटिसको सङ्क्रमणबाट मृत्युदर ३० प्रतिशत हो । हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको गौतमले बताए । ‘मृत्यु हुनेमा १५ वर्ष मुनिका बालबालिका पनि छन्,’ उनी भन्छन्, ‘गत वर्षको तुलनामा यो वर्ष मृत्युदर बढी छ ।’

डा. गौतमका अनुसार गत वर्ष १०७ जनामा जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । सोमध्ये ७ जनाको मृत्यु भएको थियो । यो वर्ष ६१ जनामध्ये १४ जनाको मृत्यु भएको छ ।

जापानीज इन्सेफलाइटिस तराई क्षेत्रमा बढी देखिएको डा. गौतमले बताए ।  उनका अनुसार कैलाली, कपिलवस्तु, पाल्पा, चितवन, सिन्धुली, रौतहट, सर्लाही, सिराह, सुनसरी,  झापा जिल्ला लगायत रहेका छन् । प्रयोगशालामा पुष्टि भएका बिरामी धेरै जस्ता १५ वर्षभन्दा कम उमेरका रहेको उनले रातोपातीलाई बताए ।

नेपालमा जापनीज इन्सेफलाइटिसका बिरामीहरू बर्सेनि अगस्ट र सेप्टेम्बर महिनामा उच्च हुन्छ । यसपछि सङ्क्रमण घट्दै जाने डा. गौतमले बताए ।

जापानीज इन्सेफलाइटिस के हो ?

डा. गौतमका अनुसार जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लामखुट्टेको तोकाइबाट सर्ने गर्दा छ । ‘जापानीज इन्सेफलाइटिस जनवारलाई टोकेर मानिसलाई टोकेमा सर्ने भाइरसजन्य रोग हो,’ उनले भने, ‘यो रोग मानिसको स्नायुमा असर पुर्याइ अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गरेको छ ।’

यो रोग सबै उमेर समूहका मानिसलाई सङ्क्रमण हुने भएपनि १५ वर्ष मुनिका बालबालिका जोखिममा रहेको डा. गौतमले बताए ।

जापानीज इन्सेफलाइटिस सर्ने भाइरसबाट सङ्क्रमित जनावर (हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा)लाई लामखुट्टेले टोकेर सो लामखुट्टे सङ्क्रमित हुन्छ । त्यस लामखुट्टेले मानिसलाई टोकेमा जापानीज इन्सेफलाइटिस रोग सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने नसर्ने डा. गौतमको भनाई छ ।

लक्षण कस्तो हुन्छ ?

एक्कासी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कमपन हुने, पक्षघात हुने यो रोगको प्रमुख लक्षण रहेको डा. गौतमको भनाई छ । यदि यो रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्ने उनी बताउँछन् । यो रोग लागेको तीन दिनमा उपचार पाएमा निको हुने तर ढिलो भएमा अवस्था गम्भीर हुने डा. गौतमले बताए ।

रोगबाट कसरी बच्ने ?

जापानीज इन्सेफलाइटिसबाट जोगिने लामखुट्टेको टोकाइबाट बच्नुनै यस रोगबाट बच्ने प्रमुख उपाय रहेको डा. गौतामको भनाई छ । यो रोगबाट बच्न शारिर ढाक्ने कपडा लगाउने, झुलभित्र सुत्न उनी सुझाउँछन् ।

यस्तै, घरपालुवा चरा तथा जनावरहरुलाई व्यवस्थित तरिकाले घरदेखि टाढा खोरामा पाल्ने । बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउनु पर्ने लगायत उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप