संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक सोमबार बोलाएका छन् । परिषद्को अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्नेछ ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि ओलीले तेस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन् । पहिलो पटक बोलाएको परिषदको बैठक स्थगित भएको थियो । शुक्रबार बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो ।
के छ कानुनी व्यवस्था ?
संविधानको धारा २८३ मा ‘संवैधानिक अङ्ग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने’ व्यवस्था छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था छ । सोही अनुसार संवैधानिक परिषद् सम्बन्धी ऐन पनि छ । ऐनले संवैधानिक परिषदले गर्ने नियुक्तिबारे विस्तृत कार्यविधि तय गरेको छ ।
प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने र नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भइ काम गर्ने व्यवस्था संविधानमा छ । यसरी सिफारिस भएका पदाधिकारीहरूको संसदीय सुनवाइ हुने व्यवस्था पनि संविधानमा उल्लेख छ ।
संविधानको धारा २९२ मा संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था छ । ‘संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनेछ,’ उक्त धारामा भनिएको छ ।
सिफारिस नहुँदा सर्वोच्चमा समस्या
सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिसका लागि न्याय परिषदले यसअघि नै योग्यता पुगेका आठ न्यायाधीशको रोष्टर पठाएको छ । संविधान अनुसार सर्वोच्च अदालतमा कार्यरत तीन वर्ष पुगेका न्यायाधीशहरू प्रधान न्यायाधीशका लागि योग्य हुन्छन् । हाल सर्वोच्चमा १७ जना न्यायाधीशमध्ये आठ जनाको मात्र योग्यता पुगेकाले उनीहरूको नामसहितको रोष्टर संवैधानिक परिषदमा पठाइएको हो ।
संवैधानिक परिषदमा पठाइएको नाममध्ये प्रकाशमान सिंह राउतको नाम पहिलो नम्बरमा छ । राउत हाल वरिष्ठतम् न्यायाधीश हुन् । शुक्रबार बस्ने परिषदको बैठकले उनको नाम सिफारिस गर्ने सम्भावना छ । यदि परिषदमा सहमति हुन नसकेमा सर्वोच्च अदालत फेरि एक पटक नेतृत्व विहीन हुने देखिन्छ ।
केही दिनमा प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने भएकाले उनी नफर्किएसम्म संवैधानिक परिषदको बैठक बस्न सम्भव हुने छैन । प्रधानमन्त्री अमेरिका भ्रमणबाट फर्केर सिफारिस गर्दा संसदीय सुनुवाइमा समय लाग्ने भएकाले सर्वोच्चमा केही समय प्रधान न्यायाधीश पद रिक्त हुनेछ । हालका प्रधान न्यायाधीशले अवकाश पाउने अनि नयाँ प्रधान न्यायाधीश नियुक्ति नहुँदा अदालत फेरि एक पटक कायममुकाय नेतृत्वमा भर पर्नुपर्ने अवस्था आउने देखिन्छ । यसअघि विभिन्न समयमा यस्तै कारणले कायममुकायमको भरमा न्यायालय चलाउनुपर्ने बाध्यता परेको थियो ।
संविधानको उल्लङ्घन
अवकाश पाउनुभन्दा एक महिना अघि इजलासमा नबस्ने न्यायिक परम्परा अन्तर्गत प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ हाल इजलास बाहिर छन् । भदौ २० गतेदेखि उनले फैसला लेखन र प्रशासनिक काममात्र गर्दै आएका छन् ।
संविधानको धारा २८४ को उपधारा ३ अन्तर्गत एक महिना अघि प्रधान न्यायाधीशको सिफारिस हुुनुपर्ने थियो । उक्त उपधारामा ‘संवैधानिक परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै यस संविधान बमोजिम नियुक्तिका लागि सिफारिस गर्नु पर्नेछ,’ भनिएको छ ।
संविधान अनुसार नयाँ प्रधान न्यायाधीशका लागि भदौ २० गते नै सिफारिस भइसक्नुपर्ने थियो । तर संविधानले तोकेको समय एक साता नाघेको छ । हरेक पटकका नियुक्तिमा संविधानको यो व्यवस्था उल्लङ्घन हुँदै आएको छ । यस पटक पनि समय नाघेपछि संवैधानिक परिषदको बैठक बोलाइएको छ ।
कुन संवैधानिक निकायमा कति पद रिक्त ?
- निर्वाचन आयोगको आयुक्त– १
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य– २
आयोगहरू
- राष्ट्रिय महिला आयोगको सदस्य– १
- राष्ट्रिय समावेशी आयोगको अध्यक्ष– १
- मुस्लिम आयोगको सदस्य– १
निर्वाचन आयोगदेखि राष्ट्रिय समावेशी आयोगसम्म गरी संवैधानिक निकायमा हाल ६ पद रिक्त छन् ।
अधिकांश संवैधानिक आयोगमा पदपूर्ति भए पनि केहीमा सदस्य पद रिक्त छन् । निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग, प्राकृतिक स्रोत तथा वित्तीय आयोग, महिला आयोग, समावेशी आयोग र मुस्लिम आयोगमा केही पद रिक्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असद सरकारमा यातना दिने अधिकारीहरूलाई कारबाही गर्ने विद्रोहीहरूको घोषणा
-
कर्मचारी सरुवा मापदण्डमा जोड, राजनीतिक हस्तक्षेप बन्द गर्न सांसदहरूको जोड
-
घाँस काट्न जाँदा सुचिनामाथि बलात्कार प्रयास, प्रतिकार गरेपछि हत्या
-
एअरपोर्ट ट्याक्सीको नेतृत्वमा दुर्योधन, सदस्यलाई राहत तथा सम्मान
-
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट
-
उपनिर्वाचन परिणामप्रति एमाले असन्तुष्ट, सहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष