बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
नयाँ प्रयास

रातोपाटी डटकम अब चौबिसै घण्टा जागा

मङ्गलबार, ०१ असोज २०८१, २२ : २२
मङ्गलबार, ०१ असोज २०८१

काठमाडौं । डिस्कभरी न्यूज नेटवर्कले रातोपाटी डटकमका पाठक, दर्शक र श्रोतालाई खुसीको खबर लिएर आएको छ । नेटवर्कद्वारा प्रकाशित रातोपाटी डटकम न्युज पोर्टलमार्फत २०८१ असोज १ गतेबाट चौबिसै घण्टा पाठकमाझ समाचार, सूचना र विचार पस्किन थालिएको छ ।

२०७० जेठ २७ गते प्रकाशन सुरु गरेको रातोपाटी डटकमले स्थापनाको १२ औँ वर्षमा आफ्नो प्रकाशनलाई हरेक समय निरन्तरता दिन थालेको हो । नेपाली र अङ्ग्रेजी भाषाका माध्यमबाट अक्षर, अडियो–भिडियोमार्फत नागरिकलाई सुसूचित गर्दै आएको रातोपाटीले संसारभर छरिएर रहेका पाठक, दर्शक र श्रोताको अनुकूल समयमा समाचार, सूचना र विचार पढ्न, हेर्न र सुन्न सहज होस् भनेर यस्तो अभ्यास सुरु गरेको हो ।

यसरी हरेक समय आफ्नो प्रकाशनलाई निरन्तरता दिने रातोपाटी नेपाली मिडियाको भेलमा पहिलो सञ्चार माध्यम बनेको छ । देशका सातै प्रदेशका जनताका खबर, विचार र आवाज समेट्न सात वटा प्रदेश संस्करण सञ्चालन गरेको रातोपाटीले प्रवासमा रहेका नेपालीका लागि ग्लोबल संस्करणको व्यवस्था गर्दै आएको छ । यसलाई अझ सशक्त बनाउन आवश्यक देखिएकाले रातोपाटीले आफ्नो सेवाको समय सीमा राख्न छोडेको हो ।

नेटवर्कका प्रबन्ध निर्देशक अर्जुन पन्तले चौबिसै घण्टा प्रकाशनलाई निरन्तरता दिने प्रयास विश्वभर रहेका हाम्रा पाठक, दर्शक र  श्रोतालाई रातोपाटीसँग जोडिरहने प्रयास रहेको बताए । ‘कुनै पनि महत्त्वपूर्ण घटना र गतिविधिलाई संसारभर छरिएका हाम्रा पाठक, दर्शक र श्रोतालाई तत्काल सूचना दिनु हाम्रो कर्तव्य हो, त्यही कर्तव्य पूरा गर्न नयाँ प्रयास थालेका छौँ,' उनले भने ।

पन्तका अनुसार, डिजिटल प्लेटफर्ममा चौबिसै घण्टा प्रकाशन थालेर रातोपाटी अब सुत्दैन भन्ने सन्देश प्रवाह गर्न खोजिएको हो । रातोपाटी डटकमलाई ‘सबैको, सबैभन्दा राम्रो’ बनाउने नेटवर्कको सङ्कल्पमा अब ‘रातोपाटी चौबिसै घण्टा जागा रहन्छ’ भन्ने थपिएको उनले बताए । रातोपाटीको नयाँ प्रयासमा पाठक, दर्शक र श्रोताको पूर्ववत् साथ, सहयोग र स्नेह मिल्ने आशा नेटवर्कले लिएको छ ।

बदलिँदो समयमा समाचारका पाठक, दर्शक र श्रोता मात्र होइन, रातोपाटीलगायतका नेपाली सञ्चारमाध्यम विश्वभर फैलिएका छन् । सूचना प्रविधिको विकाससँगै नागरिकले हरेक सूचना र समाचार छिटो पढ्न, हेर्न र सुन्न रुचाउँछन् ।

अति व्यस्त दैनिकीका कारण आम पाठक-दर्शकले समाचारका लागि निश्चित समय कुर्न सक्ने अवस्था नभएकाले पनि सञ्चारमाध्यमहरूलाई पहिलेजस्तो समाचार सम्प्रेषणमा ‘डेडलाइन’ तोकेर काम गर्न चुनौती आइसकेको महसुस गरी रातोपाटीले आवश्यकता र समयको मागअनुसार चौबिसै घण्टा सूचना र समाचार पस्किन थालेको पन्तले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप