पाँच वर्षमा सभामुख‚ राष्ट्रिय सभा अध्यक्षसहित ९६ सांसद तथा ५४ कर्मचारीले गरे विदेश भ्रमण
काठमाडौँ । २०७४ सालको आम निर्वाचन पश्चात् सङ्घीय संसद्का ९६ जना सांसदहरूले विदेश यात्रा गरेका छन् । सङ्घीय संसद् सचिवालयले जारी गरेको तथ्याङ्क अनुसार राष्ट्रिय सभा अध्यक्ष‚ उपाध्यक्ष तथा प्रतिनिधिसभा सभामुख‚ उपसभामुख सहित ९६ जनाले विदेश भ्रमण गरेका हुन् ।
सङ्घीय संसद् सचिवालयले उपलब्ध गराएको जानकारी अनुसार २८ साउन २०७५ देखि ५ मङ्सिर २०७९ सम्म विभिन्न कार्यक्रमको नाममा माननीयहरू विदेश भ्रमण गएका हुन् । सो अवधिमा ५४ जना कर्मचारी सांसदको स्वकीय देखि संसद् सचिवालय कर्मचारीहरू विदेश भ्रमणमा गएको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयका अनुसार २२ भदौ २०७५ मा पहिलो पटक सभामुख कृष्णबहादुर महरा सहित सांसदहरू शान्तिमाया तामाङ‚ रंगमती शाही‚ उमा शङ्कर अरगरिया‚ एकवाल मियाँ‚ दुर्गा पौडेल चाइना गएका थिए । ‘चाइना तिवेत टुरिजम कल्चर’ नामक कार्यक्रममा उनीहरू ५ दिने भ्रमणमा चाइना गएका थिए ।
२०७९ को आम निर्वाचन अघि अन्तिम पटक भने ०५ मङ्सिर २०७९ मा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमलि्सना सहित सांसदहरू डा विमला राई पौड्याल र खिमलाल देवकोटा विदेश गएका थिए । ४३ औँ अन्तर संसदीय महासभामा भाग लिन उनीहरू ५ दिनका लागि कम्वोडिया गएका थिए । भ्रमण टोलीमा राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल‚ उपसचिव प्रदीप गुरागाईँ‚ शाखा अधिकृत पवन महत‚सिनियर अहेब डा पुष्पराज रिजाल थिए ।