शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

दसैँ अगावै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न सरकारसँग अध्यक्ष सिंहको माग

शुक्रबार, ०४ असोज २०८१, २० : ००
शुक्रबार, ०४ असोज २०८१

हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दसैँ अगावै निर्माण व्यवसायीको बाँकी बक्यौता भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । निर्माण व्यवसायीहरूको कार्य सम्पन्न भएपछि पनि बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि अध्यक्ष सिंहले सरकारसँग आग्रह गरेका हुन् ।

निर्माण व्यवसायी संघ काभ्रेको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले भुक्तानी गरेर समयमा नै काम गर्ने वातावरण बनाउन सरकारलाई अनुरोध गरे । निर्माण व्यवसायीसँग विभिन्न सम्झौता गरेर सरकारले आफ्नो दायित्व पुरा नगरेको उनको भनाई छ । समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको २ महिनासम्म पनि पूरा नभएको उनले गुनासो गरे ।

अव्यवहारिक कानुन, अदूरदर्शी राजनीतिक नेतृत्व र असहयोगी कर्मचारीतन्त्रका कारण समयमा नै निर्माणका काम गर्न नसकिएको उनले तर्क गरे । उनले कार्यतालिकासहित म्याद थपको लागि सरकारलाई आग्रह गरे । उनले समयमा सम्पन्न हुन नसकेका रुग्ण योजना अध्ययनको लागि कार्यदल गठन गर्न सरकारलाई अनुरोध गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले निर्माण व्यवसायीलाई भुक्तानी दिन भएको समस्या समाधान गर्दै समयमा नै काम सम्पन्न हुने वातावरण बनाउनुपर्ने बताए । उपभोक्ता समितिमार्फत आफ्ना मान्छेलाई काम दिने कार्यले स्थानीय तहमा भ्रष्टीकरण मौलाएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप