मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय
सडक विभागको तयारी

दसैँमा घर जाँदा सडकका खाल्डोमा गाडीको चक्का नपार्ने सरकारको योजना

काम भने २५ प्रतिशत मात्रै पूरा
आइतबार, ०६ असोज २०८१, १८ : ३०
आइतबार, ०६ असोज २०८१

काठमाडौँ । सरकारले हरेक वर्ष दसैँ तिहार अगाडि सडकका खाल्डो पुर्ने गर्छ । दसैँमा घर जाँदा सहजरुपमा गाडी सञ्चालन हुने सडक तयार गर्ने सरकारी योजना भएपनि विभागकै तथ्याङ्क हेर्दा भने खाल्डो पुर्ने काम सन्तोषजनक देखिँदैन । 

यही असोज १० गतेभित्र देशभर रहेका सडकका खाल्डो पुर्ने लक्ष्य लिइएपनि हालसम्म २५ प्रतिशत मात्र काम भएको विभागले जनाएको छ । अबको ४ दिनमा ७५ प्रतिशत काम पूरा गर्न विभागलाई कठिन छ । 

अवरुद्ध सबै सडक खोल्ने, देशभर रहेका ८० वटा राजमार्गमा गएका पहिरो लगायतका अवरोध हटाई सडक सफा गर्ने काम भइरहेको सडक विभागको सम्भार महाशाखाका प्रमुख अर्जुन अर्यालले रातोपाटीलाई जानकारी दिए । 

अर्यालले भने, ‘निर्माणाधीन सडक, वैदेशिक दातृ निकायले बनाइरहेको बाहेक मुग्लिङ, पोखरा, बुटवल, झापासम्मको सडकमा यातायात सहज बनाउने काम भइरहेको छ । कुन बाटो बन्द छ, वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ । बाटोमा पहिरोका कारण अवरोध भएको सूचना पाउने बित्तिकै सडक सुचारु गर्ने प्रणाली बनाएका छौँ ।’

सडकमा गएको पहिरो सफा गर्ने मूल उद्देश्यका साथ काम भइरहेको उनले बताए ।  सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागलाई सडकको खाल्डो पुर्न तथा पहिरो हटाउन यो वर्ष १ अर्ब ४५ करोड वार्षिक बजेट व्यवस्था गरेको छ । 

यसरी हुँदै छ काठमाडौँ उपत्यका सहितका सडकका खाल्डो पुर्ने काम 

विभागको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका ४७२ किमी, भक्तपुरका १४० किमी र ललितपुरका २०४ किमीमा गरी झन्डै ८२० किमी सडकको खाल्डाखुल्डी पुर्ने काम थालिएको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले हेर्ने पहिलेको मध्यमाञ्चल क्षेत्रभित्र पर्ने ३ हजार ३७५ किमी राष्ट्रिय राजमार्ग, १३ सय ९१ फिडर रोड, २३० किमी रणनीतिक सहरी सडकका खाल्डा पुर्ने काम थालिएको छ । 

काठमाडौँ चक्रपथभित्रको सडक विभाग मातहतका बाटोका विभागकै कर्मचारी र उपकरण प्रयोग गरेर खाल्डाखुल्डी पुर्न लागिएको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए । 

यस्तै चक्रपथ बाहिर भने ठेक्का प्रक्रियाबाट खाल्टाखुल्टी पुर्ने काम थालिने उनले बताए । न्यौपानेले भने, ‘दसैँअघि हामी पूर्ण रूपमा खाल्डाखुल्डी पुर्ने तयारीमा छौँ । यो निरन्तरको प्रक्रिया पनि हो । खासगरी सडकमा दुई तरिकाबाट खाल्डाखुल्डी पर्ने गर्छ । पहिलो वातावरणीय कारण । नेपालमा वर्षभरिमा मनसुनको समयमा मात्र ८० प्रतिशत पानी पर्छ । मनसुनको बेला अत्यधिक पानी परेका कारण सडकमा खाल्डाखुल्डी पर्ने हुन्छ । मनसुन लगतै हामीले खाल्टाखुल्टी पुर्ने गरेका छौँ । अर्को ट्राफिक फ्याक्टर हो । अत्यधिक भार वाहक टिपर, ट्रक र बसका कारण सडकलाई असर गर्छ र खाल्डो पर्नेगर्छ ।’

सडकका खाल्डो पुर्न गत असारदेखि नै ठेक्का प्रक्रिया थालिएको उनले बताए । दातृ निकायले बनाइरहेका सडकबाहेक अरू सबै राजमार्गको खाल्डो पुरेर दसैँमा यात्रुलाई घर जान सहज बनाउने न्यौपानेले बताए । 

साथै सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले केही सडकहरू स्थानीय तहलाई हस्तान्तरण गर्नेगरी अध्ययनको काम पनि गरिरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप