कविता
न्याय मरेको छ
सोमबार, ०७ असोज २०८१, १० : ३९
म यस्तो देशको नागरिक हुँ
जहाँ न्याय माग्दा मृत्यु जित्नुपर्छ
तैपनि न्याय पाइँदैन ।
बारम्बार
हीनताबोधको माझमा उभिएर
आफैँलाई प्रश्न गर्छु
सेवक छैनन् यहाँ
पीडामा मलम होइन
घाउमा नुनचुक छर्कने मालिकहरू छन् ।
पीडकहरू निर्बाध घुम्छन्
पीडितहरू मृत्यु शय्यामा हुन्छन्
अनशनमा हुन्छन्
तर देख्दैनन् न्यायाधीशहरू ।
बेथितिको शासनमा
विधिको शासन ज्युँदो छैन
र त
न्याय माग्दा
अन्याय मात्र जितिन्छ ।
त्यसैले म दाबीका साथ भन्छु—
यो देशमा न्याय निदाएको छ
कानुन कैद छ,
न्याय अवैध छ ।
पीडित पिँजडामा छ, अरे कोही त आऊ अब अति भयो ।
न्यायको राको बोकेर आऊ
पीडितको सहारा बनेर आऊ
कौडीको भाउमा किनबेच हुने यो न्यायको दोकानमा
विद्रोहको बिकुल लिएर आऊ ।