एमाले सांसदका पुत्र खनालविरुद्ध प्रहरीले गर्यो उजुरी आह्वान
विराटनगर । प्रहरीले झापाको शिवसताक्षी नगरपालिका ३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन सार्वजनिक सूचना टाँस गरेको छ ।
नेकपा एमालेका कोशी प्रदेश सांसद राधाकृष्ण खनालका पुत्र तथा सहकारीका अध्यक्ष सुमन खनालका विरुद्धमा पीडित नन्दप्रसाद सुवेदीसहित २० जनाले बचतकर्ताहरूले रकम हिनामिना गरी ठगी गरेको भन्दै उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाले शनिबार सार्वजनिक सूचना जारी गर्दै उक्त सहकारीबाट ठगीमा परेका अन्य सेयरधनी तथा बचतकर्ताहरू भए सहकारीमा बचत गरेको पासबुक, नागरिकताको प्रतिलिपिसमेत कागजातहरू लिएर प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो ।
प्रहरी कार्यालय झापाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जारी गरेको सूचनामा शिवसताक्षी नगरपालिकाको कार्यालय, सहकारीको कार्यालयमा समेत टाँस गरिएको छ ।
उक्त सहकारीका अध्यक्ष खनालले बचतकर्ता र शेयर सदस्यहरूको एक करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ ठगी गरेको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदनमा भएजति आफूले ठगी नगरेको अध्यक्ष खनाल बताउँछन् । ‘त्यहाँ भनेजस्तो ठगी भएको छैन । ऋण लगानी भएको छ । ८०–८२ लाख जति रकम अहिले अभाव भएको हो । ऋण उठाएर तिर्न सक्छौं,’ उनले भने ।
ठगीमा संलग्न खनालका बुबा राधाकृष्ण झापा क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित भएका थिए । २०७९ साल मंसिरमा निर्वाचन हुनुपूर्व खनालले आफ्नो छोराले गरेको अनियमितताको जिम्मा लिँदै रकम फिर्ता गर्नका लागि आफूलाई जिताउन आग्रह गरेका थिए । तर, निर्वाचन जितेको यतिका समय बितिसक्दा पनि रकम फिर्ता नपाएपछि उजुरी दिएको एक पीडितले बताए ।
यसैगरी २०८० साल फागुन २४ गते राधाकृष्णका छोरा खनाल आफैँले एक तमसुक बनाएर २ महिनाभित्र सबै रकम र हरहिसाब बुझाउन सही छाप गरेको पाइएको छ । ‘...श्री उन्नति बचत तथा ऋण सहकारी संस्थाको शेयर र बचत खातामा सदस्यहरूले जम्मा गरेको रकम हरहिसाब गरी आजको मितिले २ महिनाभित्र बुझाउने छु,’ उनले गरेको तमसुकमा उल्लेख छ, ‘यदि उक्त भाका भित्रमा तपाईँहरूको सम्पूर्ण रकम मैले बुझाउन नसकेमा वा नबुझाई फिर्ता नदिएमा तपाईँहरूले म सुमन खनाललाई कानुन बमोजिम कारबाही अगाडि बढाएमा मेरो मन्जुर छ ।’
केही महिना अगाडि स्थानीयले खनाललाई इलाका प्रहरी कार्यालय झिलभिलेमा झिकाएर केरकार गरेका थिए । त्यसबेला खनालले आफूले रकम चलाएको र कोही पनि अरू संलग्न नभएको बताएका थिए । ‘योजनामै रकम घोटाला गरेको देखिन्छ,’ एक पीडितले भने । अहिले जग्गा दिन्छु भनेको उनको भनाइ छ ।
‘मंगलबारे मास्तिर रहेको २ कट्टा जग्गा र गाउँमा रहेको खेतीको १२ कट्टा जग्गा बेचेर तिर्छु भनेका छन्,’ ती पीडितले भने, ‘तर, त्यो जग्गा पनि अर्कै सहकारीमा राखेर ऋण लिएको पाइयो ।’
सहकारीको संस्थापक अध्यक्ष पनि उनै खनाल हुन् । उनले आर्थिक वर्ष २०७८/७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३९४ रुपैयाँ र २०७९/८० को अन्त्यसम्ममा त्यो रकम बढेर १ करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि अध्यक्ष खनालले आफ्नोे शेयरमा १ लाख १० हजार र बचत खातामा २३ लाख २२ हजार ५९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५९९ रुपैयाँ राखेको देखिएको र उक्त रकम कट्टा गर्दा उनले सहकारीलाई अझै १ करोड ३८ लाख ३६ हजार ७७० रुपैयाँ तिर्नुपर्ने देखिएको प्रतिवेदनले ठहर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगमा रोमाले बढायो सम्भावना
-
युरोपा लिग : होजलुण्डले कोरे म्यान्चेस्टर युनाइटेडको भाग्य
-
प्रविधिसँग जोडिंदै दूध उत्पादक किसान
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं फेरि पक्राउदेखि रविको 'अनौठो' हिरासतसम्म
-
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
-
भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन