शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘एसियामा नाटोको विस्तार दीर्घकालीन शान्तिका लागि खतराको संकेत हो’

युरोपेली कूटनीतिज्ञहरू प्रतिबन्ध र धम्कीको प्रयोगमा मात्रै अभ्यस्त छन् : किशोर महबुबानी
सोमबार, ०७ असोज २०८१, १४ : ००
सोमबार, ०७ असोज २०८१

नेसनल युनिभर्सिटी अफ सिङ्गापुरको एसिया रिसर्च इन्स्टिच्युटका सिनियर फेलो हुन्, किशोर महबुबानी । उनले सन् २०२० मा लेखेको ‘पुस्तक ‘ह्याज चाइना वन ? : द चाइनिज च्यालेन्ज टु अमेरिकन प्राइमसी’ विश्वभर चर्चित छ । यस्तै सन् २०१३ मा उनको ‘द ग्रेट कन्भर्जेन्स : एसिया, द वेस्ट एन्ड द लजिक अफ् वन वर्ल्ड’ प्रकाशित छ भने सन् २०२२ मा प्रकाशित तथा इन्टरनेट प्रयोगकर्ताको सार्वजनिक पहुँचमा रहेको ‘द एसियन ट्वेन्टी फस्र्ट सेन्चुरी’ सार्वजनिक भएयता ३३ लाखभन्दा बढी डाउनलोड भइसकेको पुस्तक हो ।

भूराजनीतिक विश्लेषक, लेखक तथा हाम्रो समयका सार्वजनिक बौद्धिकको छवि निर्माण गरेका उनी संयुक्त राष्ट्रसंघका लागि दुईपटक सिङ्गापुरको राजदूत भए भने संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का सभापति पनि भइसकेका छन् । उनले हालै आफ्नो संस्मरणात्मक पुस्तक ‘लिभिङ द एसियन सेन्चुरी : एन अनडिप्लोमेटिक मेमोइर’ प्रकाशित गरेका छन् । हालसम्म एक दर्जन पुस्तकका लेखक महबुबानीसँग पछिल्लो पुस्तकको सेरोफेरोमा केन्द्रित रहेर ‘प्रोजेक्ट सिन्डिकेट’ले कुराकानी गरेको छ । महबुबानीसँगको कुराकानी हाम्रा पाठकलाई पनि रुचिकर हुने विश्वास साथ यो अनुवाद सम्पादनसहित तयार पारिएको हो ।

KM_4

  • गत वर्षको कुराकानीमा तपाईंले पछिल्ला दशकमा एसियामा ठुला युद्धहरू नहुनुको कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले देखाएको ‘व्यावहारिकताको संस्कृति’ हो भनेर भन्नुभएको थियो । यसरी हेर्दा यसले पश्चिमी कूटनीतिज्ञलाई एसियासँग कस्तो संलग्नताको सन्देश दिन्छ ? साथै आजको दिनमा युद्ध निम्त्याउन सक्ने खालका भूराजनीतिक अक्षमताहरू के–के हुन् ?

पश्चिमा कूटनीतिज्ञहरूले कति धेरै शक्ति युरोपबाट एसियामा सरेको छ भन्ने विषय पहिले ख्याल गर्नुपर्छ । सन् १९८० को समयमा युरोपेली संघको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चीनको भन्दा १० गुणा ठुलो थियो, तर आजका दिनमा यी दुवै बराबरीमा छन् । अमेरिकी कम्पनी गोल्डम्यान स्याक्सले सन् २०५० सम्म चीनको जीडीपी युरोपेली संघको भन्दा झन्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । जब शक्ति एउटा ध्रुवबाट अर्को ध्रुवमा सर्दै जान्छ, व्यवहार पनि परिवर्तन हुँदै जानुपर्छ । 

युरोपेली कूटनीतिज्ञहरू प्रतिबन्ध र धम्कीको प्रयोगमा मात्रै अभ्यस्त छन् । अब उनीहरूले त्यस्तो खराब बानी छाड्नुपर्छ र सहमतिका लागि छलफल र सम्झौताजस्ता परम्परागत कूटनीतिक शैलीहरूको उपयोगतर्फ फर्किनुपर्छ । त्यस्तै, नाटोका महासचिव जेन्स स्टोल्टनबर्गले नाटोलाई एसियामा विस्तार गर्नुपर्छ भन्नु मूर्खतापूर्ण हो । नाटोको सैन्यवादी संस्कृति यस क्षेत्रको दीर्घकालीन शान्तिका लागि खतराको संकेत हो । अझ फराकिलो गरी भन्नुपर्दा युरोपेलीहरूले एसियालीप्रतिको व्यवहार बदल्नैपर्छ । एसियालीलाई अर्ती दिने होइन, बरु एसियाबाट उनीहरूले सिक्नुपर्छ ।

  • चीनले लामो समयदेखि ‘शान्त उदय’को रणनीति अँगाल्दै आएको भए पनि आजभोलि उसले दक्षिणी चीन सागर र हिमालय क्षेत्रमा आफ्नो सीमा दाबीलाई आक्रामक बनाउँदै गएको देखिन्छ । आजका दिन चीनको आफ्ना छिमेकीसँगको सम्बन्ध कतिको मजबुत देख्नुहुन्छ ? र, यसले क्षेत्रीय स्थिरतामा तीव्र जोखिम कहाँ–कहाँ निम्त्याउँदै छ ?

उदाउँदा शक्तिहरू आफ्नो प्रभाव बढ्दै जाँदा थप आत्मविश्वासी हुँदै जान्छन् । यो स्वाभाविकै हो । चीन यसमा अपवाद हुने कुरै भएन । हार्वर्ड विश्वविद्यालयका राजनीतिशास्त्री ग्राहम एलिसनले भनेका छन्— अमेरिकीहरू चीनलाई हामीजस्तै होऊ भनेर अर्ती दिन औधि मन पराउँछन् । मलाई लाग्छ, यसो भन्दै गर्दा उनीहरूले आफूले के खोज्दै छौँ भन्नेबारे चनाखो रहनुपर्छ । आखिर आफ्नो उदयको समयमा अमेरिकाले विभिन्न युद्ध लडेको हो । टाढासम्मका भू–भागहरू हडपेको हो । आफूले पकड जमाउन खोजेका ठाउँबाट अन्य शक्तिलाई लखेटेको हो । चीनले त यस्तो केही गरेको छैन ।

विशेषगरी क्षेत्रीय विवादहरूले छिमेकीसँग चीनको सम्बन्धलाई चुनौती दिइरहे पनि सबैभन्दा ठुलो जोखिम अमेरिका–चीनको भूराजनीतिक प्रतिस्पर्धाबाटै उत्पन्न हुन्छ, जुन दिन–प्रतिदिन थप डरलाग्दो बन्दै गइरहेको छ ।

पक्कै पनि त्यहाँ धेरै असमझदारी र विविध विषय छन् । खासगरी भारत, जापान, भियतनाम र फिलिपिन्ससँग सम्बन्ध थप चुनौतीपूर्ण हुने स्तरमा सीमा विवाद छन् । आसियान लगायत अन्य छिमेकीहरूसँग चीनको सम्बन्ध असाध्यै सौहाद्रपूर्ण छ । यस्तो हुनुमा आर्थिक सम्बन्धको पनि ठुलो आयाम छ । स्पष्ट शब्दमा भन्नुपर्दा, केही मुद्दा र असहमतिहरू छन्— विशेषगरी क्षेत्रीय विवादहरूले छिमेकीसँग चीनको सम्बन्धलाई गम्भीर चुनौती दिइरहेको छ । 

KM_1

चीन–आसियान व्यापार सन् २००० मा ४० अर्ब अमेरिकी डलर थियो, सन् २०२२ सम्म त्यो नौ सय ७५ अर्ब डलर पुगेको छ । यो सकारात्मक उदाहरणबाट युरोप–अफ्रिका वा अमेरिका–दक्षिण अमेरिकाजस्ता सम्बन्धले धेरै कुरा सिक्न सक्छन् । जहाँसम्म क्षेत्रीय स्थिरताको कुरा छ, एसियामा जोखिमहरू पक्कै छन् । सबैभन्दा ठुलो जोखिमचाहिँ अमेरिका–चीनको भूराजनीतिक प्रतिस्पर्धाबाटै उत्पन्न हुन्छ, जुन दिन–प्रतिदिन थप डरलाग्दो बन्दै गइरहेको छ ।

  • गत नोभेम्बरमा तपाईंले मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमलाई उनको ‘लोकतान्त्रिक मूल्यहरूमा आधारित संस्थागत र आर्थिक सुधार’प्रतिको प्रतिबद्धतालाई लिएर प्रशंसा गर्नुभयो । उनले ‘ब्रिक्स’मा सहभागी हुन गरेको निर्णयलाई कसरी हेर्नुभएको छ ? 

मलेसियाले आफू मजबुत भएको कुरा स्पष्ट रूपमा प्रमाणित गरेको छ । सन् २०१३ देखि आजसम्म ६ पटक प्रधानमन्त्री परिवर्तन भएको विषय राजनीतिक अस्थिरतासँग जोडिए पनि सन् २०१३ मा त्यहाँको अर्थतन्त्र तीन सय २८ अर्ब अमेरिकी डलरबाट उकालो लागेर सन् २०२३ मा चार सय १६ अर्ब अमेरिकी डलर पुगेको छ । साथै सन् २०३० सम्म ६ सय अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ । अधिकांश विकासशील राष्ट्रहरू मलेसियाको यो स्तरको प्रगतिबाट इष्र्या गर्न सक्छन् । 

मलेसियाको सकारात्मक आर्थिक प्रगति निरन्तर रहने सम्भावना छ । प्रधानमन्त्री इब्राहिम यस अघिका प्रधानमन्त्रीभन्दा लामो समय सत्तामा रहने सम्भावना देखिन्छ । साथै राजनीतिक स्थिरतासँगै विदेशी लगानीको नयाँ लहर आउने सम्भावना पनि प्रबल देखिन्छ । अधिकांश आसियान देशहरू, जस्तै मलेसियाले पूर्व र पश्चिम दुवैसँग राम्रो सम्बन्ध स्थापित गरेको छ । ब्रिक्समा सामेल हुँदा यो खालको परराष्ट्र नीतिमा आधारभूत परिवर्तन हुने दखिँदैन । 


पश्चिमी जगत्का उत्कृष्ट अभ्यासलाई जसरी जापानले अनुशरण गरेको थियो, ठ्याक्कै त्यसैगरी सिङ्गापुरले पनि अनुशरण गरेको हो, यसलाई उदाहरणका रूपमा लिन सकिन्छ ।


सन् २००० मा जी–७ भनिने राष्ट्रहरूको अर्थतन्त्र ब्रिक्सभन्दा साढे दुई गुणा ठुलो थियो, तर आज तुलना गर्दा यो सानो भइसकेको छ । ब्रिक्स र जी– ७ बीचको अर्को भिन्नता भनेको ब्रिक्स त उदाउँदो संगठन हो । यसर्थ ब्रिक्समा जाने निर्णय सुझबुझपूर्ण नै लाग्छ । 

  • सिङ्गापुरका संस्थापक तथा आमूल परिवर्तनका अगुवाका रूपमा चर्चित नेता ली क्वान युसँग तपाईंले आफ्नो जीवनको विभिन्न समयमा नजिक रहेर काम गर्नुभयो । नयाँ पुस्तक ‘लिभिङ द एसियन सेन्चुरी : एन अनडिप्लोमेटिक मेमोइर’ मा तपाईंले ‘ली क्वान यु स्वतन्त्र भावनाका मानिस थिए, जसले शक्तिशालीहरूसँग जुधेर धेरै साहसी र असाधारण कदम उठाए’ भनेर लेख्नुभएको छ । आजका दिन विकासशील देशका नेताहरू उनीबाट कस्तो शिक्षा लिन सक्छन् ?

ली क्वान युलगायत सिंगापुरका संस्थापक नेताहरूको ‘ट्र्याक रेकर्ड’ गज्जबको छ । सिङ्गापुरले थोरै समयमै कम आय भएको देशबाट उच्च आय भएको देशको स्थान प्राप्त गर्न सफल भयो । मैले सिङ्गापुरको सफलताको रहस्यलाई सरल रूपमा तीन अंग्रेजी अक्षर ‘एमपीएच’ मा समेट्न खोजेको छु— मेरिटोक्रेसी (योग्यतामा आधारित छनोट), प्राग्माटिजम् (व्यवहारवाद) र अनेस्टी (इमानदारिता) ।

सन् १९४८ मा जब म जन्मिएँ, त्यतिबेला एसिया महाद्विपमा सबै मानिस गरिबीले सन्त्रस्त थिए । भोकमरी र दारुणताको बाहुपासमा सबैजसो जकडिएका थिए । आज यो क्षेत्र विशेषगरी चीन, भारत र आसियान देशहरूमा विश्वका केही ठुला मध्यम वर्गीय मानिस बसोबास गर्छन् ।

रोचक कुरा के छ भने जुन देशहरूले प्रायः आफ्नो फुटबल टिममा उत्कृष्ट प्रतिभालाई समेट्न ध्यान दिन्छन्, तिनै देशहरू आर्थिक टिममा त्यही मापदण्ड लागु गर्न प्रायः असफल हुन्छन् । अर्जेन्टिना त्यसैको गतिलो उदाहरण हो, तर मेरिटोक्रेसीप्रति आफ्नो खरो प्रतिबद्धताका कारण सिङ्गापुरले सरकारका लागि उत्कृष्ट व्यक्तिहरूलाई मात्रै आकर्षित गर्ने र छान्ने गर्छ । मेरो विचारमा यो मोडललाई अन्य विकासशील देशहरूले पनि अनुसरण गर्नुपर्छ । व्यावहारिकता (प्राग्माटिज्म) को कुरा सिङ्गापुरले जापानको मेइजी पुनस्र्थापनाबाट सिकेको हो । पश्चिमी जगतका उत्कृष्ट अभ्यासहरूलाई जसरी जापानले अनुशरण गरेको थियो, ठ्याक्कै त्यसैगरी सिङ्गापुरले पनि अनुशरण गरेको हो । यसलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

अनेस्टी (इमानदारी) हासिल गर्न सबैभन्दा गाह्रो छ । थोरै देशहरू मात्रै शून्य भ्रष्टाचार नजिक पुगेका छन्, तर केही देशले यसलाई अरूको तुलनामा राम्रो गरी अभ्यास गर्न सकेका छैनन् । मलाई लाग्छ, एमपीएच कडा रूपमा लागु गर्ने देशहरू निश्चित रूपमा सफल हुन्छन् ।

  • लिभिङ द एसियन सेन्चुरीको पहिलो दुई अध्याय ‘बर्न पुअर’ र ‘स्टिल पुअर’ शीर्षकका छन् । साथै तपाईंले संस्मरणमा आफ्नो व्यक्तिगत कमाइको विवरण नै पेस गर्नुभएको छ । उदाहरणका रूपमा सिङ्गापुरको परराष्ट्र मन्त्रालयमा काम गर्दा ३० सिङ्गापुर डलर (१० अमेरिकी डलर) कमाउनुहुन्थ्यो भने अन्ततः क्वालालम्पुरमा कूटनीतिज्ञका रूपमा रहँदा आफ्नो आमालाई मासिक एक हजार अमेरिकी डलर पठाउन सक्ने गरी पैसा कमाएको कुरा पुस्तकमा उल्लेख छ । आफ्नो आर्थिक अवस्थाको इतिवृत्तान्त पुस्तकमा उल्लेख गर्नुको कारण के हो ? साथै एसियाको उदयबारे तपाईंका कथाबाट पाठकले के सिक्न सक्छन् ?

आफ्ना आरम्भिक दिनहरू सम्झिँदा मलाई लाग्छ, बाल्यकालमा भोगेको चरम गरिबी र अभावजन्य भोगाइले मलाई दीर्घकालसम्म लाभ पु¥यायो । मानव सभ्यताको प्रारम्भदेखि नै अधिकांश मानिसले जीविकोपार्जनका लागि संघर्ष गर्नुपरेको छ र आजसम्म पछिल्ला दशकहरूमा मानव जातिले गरिबी घटाउन ठुलो प्रगति गरेको छ । विशेषगरी एसियामा यो प्रयास झनै ठुलो स्तरमा भएको छ ।

KM_5

सन् १९४८ मा जब म जन्मिएँ, त्यतिबेला एसिया महाद्वीपमा सबै मानिस गरिबीले सन्त्रस्त थिए । भोकमरी र दारुणताको बाहुपासमा सबैजसो जकडिएका थिए । आज यो क्षेत्र विशेष गरी चीन, भारत र आसियान देशहरू विश्वका केही ठुला मध्यम वर्गका मानिस बसोबास गर्ने ठाउँका रूपमा विकसित भएको छ । यी देशमा मध्यम वर्गीय जीवनस्तरको आनन्द लिने मानिसको संख्या सन् २००० मा १५ करोड थियो भने अहिले एक अर्ब ५० करोड पुगेको छ, हाल यहाँको जनसंख्या ३.५ अर्ब छ ।

जुन देशहरूले प्रायः आफ्नो फुटबल टिममा उत्कृष्ट प्रतिभालाई समेट्न ध्यान दिन्छन्, तिनै देशहरू आर्थिक टिममा त्यही मापदण्ड लागु गर्न प्रायः असफल हुन्छन् । अर्जेन्टिना त्यसैको गतिलो उदाहरण हो ।

आफ्नै जीवनमा मैले गरिबीदेखि सन्तोष र आनन्दसम्मको सुख–सुविधा भोग्न पाएको छु । मैले त्यसैलाई आफ्नो संस्मरणमा व्यक्त गर्ने प्रयास गरेको हुँ ।

  • तपाईं ली क्वान यु स्कुल अफ पब्लिक पोलिसीको संस्थापक डिन हुँदाको एउटा निकै प्रेरक सन्दर्भ पुस्तकमा वर्णन गर्नुभएको छ । त्यहाँ उल्लेख भए अनुसारको तपाईंको आफ्नै जीवनमा त्यस्तो मोड कहिले आयो ?

मेरो जीवनमा यस्तो मोड बिस्तारै आयो भन्नुस् न । सन् १९८२ ताका म अमेरिकाको वासिङटन डीसीमा डेपुटी चिफ अफ मिसनको रूपमा खटिएँ । त्यसपछि मेरो जीवनमा खास्सा परिवर्तनहरू देखिन थाले । त्यसभन्दा अघि युद्धग्रस्त कम्बोडियामा (सन् १९७३–७४) खटिएका बेला मैले अमेरिकी अखबार ‘वासिङटन पोस्ट’की चर्चित संवाददाता एलिजाबेथ बेकरसँग मित्रता गरेको थिएँ । 

जब म वासिङ्टनमा गएँ, उनले मलाई मेरो नयाँ सेफ प्रेमा सुप्पियाहको प्रोफाइल तयार गर्न मद्दत गरिन् । यसले वासिङटनको राजनीतिक वृत्तमा मेरो अवस्थालाई प्रभावकारी बनाउन ठुलो भूमिका खेल्यो । यसैगरी न्युयोर्कमा बिताएका दुई कार्यकालमा मैले हेनरी किसिन्जर, पउल भोल्कर, इन्द्रा नुयी र फरिद जकारियाजस्ता चर्चित व्यक्तिसँग मित्रता गाँसेँ । यी मित्रले मेरा लागि अनेकौँ अवसरका ढोका खोलिदिए ।

(प्रोजेक्ट सिन्डिकेटबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप