प्रविधिको तीव्र विकास र विद्यार्थी संगठनहरूको भूमिका
आन्दोलन शब्दको प्रयोग गर्दा विद्यालयमा अध्ययन गर्दै गरेको अहिलेको पुस्ता ‘इरिटेड’ हुन अर्थात् चिढिन सक्छ । पुराना राजनीतिक दल र नेताले समाजलाई सही मार्ग दिन सकेनन्, देश बिगारे भन्ने बुझाइ उनीहरूमा बन्न गएको छ ।
देशमा विद्यमान परम्परागत मूलधारका राजनीतिक दलको भूमिकाप्रति नयाँ पुस्ता निकै नकारात्मक देखिन्छ । त्यसैले ‘राजनीति’ र ‘आन्दोलन’ जस्ता शब्द सुन्नेबित्तिकै उनीहरु त्यसप्रति अरुचि व्यक्त गर्छन् ।
आजको युवा पुस्तामा यस खालको भावनाको विकास कसरी हुन गयो ? यो प्रश्नमा बहस आवश्यक छ ।
राजनीतिप्रति नयाँ पुस्ताको अरुचि जाग्नुका पछाडि धेरै कारण हुन सक्छन् । यसमध्ये प्रमुख कारण लाग्छ— सूचना प्रविधि, खासगरी इन्टरनेटको विकास र त्यसको व्यापक प्रयोग ।
वास्तवमा आज प्रविधिको विकासले सिकाइ र बुझाइको प्रक्रियालाई नै बदलेको छ । पाठ्यपुस्तकको परम्परागत रूपमा भन्दा नयाँ प्रविधिमा उपलब्ध कन्टेन्टले मानिसको सिकाइलाई तीव्र बनाएको छ । इन्टरनेटको व्यापक उपयोगसँगै यसमा राखिने सूचना र ज्ञानमूलक कन्टेन्टमाथिको पहुँच व्यापक बनेको छ ।
विगतमा विश्वविद्यालयका ठुला पुस्तकालयभित्र भण्डार हुने गरेका सामग्री आज एक क्लिकमा हातहातमा पुग्छ । ई–बुक्स र ई–पुस्तकालयले मानिसको सूचना तथा पुस्तकमाथिको पहुँचलाई व्यापक बनाइदिएको छ । आज प्रविधिको प्रयोग गरेर हजारौँ ठेलीहरू मथेर निकालिने एक पेजको सामग्री एकैछिनमा तयार हुने अवस्था आएको छ । पढ्न अल्छी लागे पढिदिने सफ्टवेयरहरू विकास भएको छ ।
हप्तौँ लगाएर पढ्दा पनि नसकिने सयौँ–हजारौँ पेज लामा उपन्यास तथा इतिहासका पुस्तकलाई केही घन्टाको फिल्ममा उतारिएका छन् । अहिले त भिजुअलाइजेसनको जमाना आएको छ ।
आज नयाँ पुस्तादेखि स्मार्टफोन र इन्टरनेटमा पहुँच भएका अधिकांंश मानिस रिल्स, सट्र्स र टिकटक भिडियो स्क्रोल गर्दै रमाएको देखिन्छ । सामाजिक सञ्जाल र युट्युबमा आउने फोटो, छोटो भिडियो तथा टेक्स्ट आदि सामग्रीमार्फत कतिपयले धारणा बनाइरहेको पनि पाइन्छ ।
आज नयाँ पुस्तादेखि स्मार्टफोन र इन्टरनेटमा पहुँच भएका अधिकांंश मानिस रिल्स, सट्र्स र टिकटक भिडियो स्क्रोल गर्दै रमाएको देखिन्छ । सामाजिक सञ्जाल र युट्युबमा आउने फोटो, छोटो भिडियो तथा टेक्स्ट आदि सामग्रीमार्फत कतिपयले धारणा बनाइरहेको पनि पाइन्छ ।
जटिल र पट्यारलाग्दा राजनीतिक सिद्धान्त वा विचारभन्दा छोटाछोटा मनोरञ्जनपूर्ण सामग्री, सार खिचिएको ज्ञानवद्र्धक टिप्स आदिमा नयाँ पुस्ता लगायतको रुचि देखिन्छ । लामा–लामा प्रवचन तथा राजनीतिक नेतृत्वका भाषण होइन, एक दुई लाइनका व्यङ्ग्यात्मक तथा मनोरञ्जनात्मक ‘तड्का’ले उनीहरूको ध्यान तान्छ । सामाजिक र वैचारिक राजनीतिक ‘नग्नता’ बिक्न थालेको छ । परम्परागत गुन्यूचोलोमा सजिएको फोटोमा भन्दा आधा शरीर मात्रै छोप्ने भद्दा आधुनिक फेसनमा पोस्टिएका फोटोहरू बढी मन पराइन्छन् ।
सामाजिक सञ्जालमा पोस्ट हुने नेताहरूको भाषणमा ताली होइन गालीको वर्षा हुन्छ । कसैले राजनीतिक नेताहरुलाई गाली वा व्यंग्य गरेर बनाएको भिडियोे रातारात भाइरल हुन्छ । साइबर क्राइम र गाली बेइज्जती ऐनका दफाहरू लगाएर ठुलो संख्यामा मानिसलाई सरकारका संरचनाले कारबाहीको डन्डा चलाए पनि अवस्था नियन्त्रणमुखी छैन । बरु, झन् झन् फैलँदो छ । यस्तो भान हुन्छ कि नयाँ पुस्ताले पुरानो पुस्ताको राजनीतिलाई अब कुनै हालतमा स्वीकार गर्न सक्ने स्थिति बन्दैन । आखिर यस्तो किन ? देशभित्र यस किसिमको सामाजिक मनोविज्ञान र चेतनाको विकास हुनुले के संकेत गर्छ ? के अब परम्परागत राजनीतिक शक्तिहरूको विलोपीकरण नै हो ? बौद्धिक जमातले यी प्रश्नमाथि गम्भीर विमर्श गर्नुपर्ने देखिन्छ ।
वास्तवमा यो नेपाली संस्कृति र सामाजिक चेतनाको भ्रष्टीकरण हो । यसले हाम्रो संस्कार र संस्कृतिमाथि धावा बोल्दै गएको छ । मानिसमा छाडापन निकै बढ्दो छ । मानिस आफ्नो प्रस्ट दृष्टिकोण बनाउन, राजनीतिक र वैचारिक ज्ञान आर्जन गर्न पटक्कै रुचाउँदैन । यसबाट समाज निरन्तर वैचारिक विघटनतिर गएको देखिन्छ ।
कुनै पनि देश समाजले जब आफ्नो संस्कार र संस्कृति जोगाउन सक्दैन, आफ्नो इतिहास नयाँ पुस्तामा सार्न सक्दैन, त्यो देश र समाज निरन्तर विघटनतर्फ नै जान्छ । त्यो देश अन्ततः विलोपीकरणतर्फ नै सोझिन्छ । नेपालमा अहिले नेपाली संस्कार र संस्कृति तीव्र रूपमा विघटनतिर गइरहेको छ भने पश्चिमा संस्कार–संस्कृति तीव्र गतिमा हाबी भइरहेको छ । अहिलेको युवा पुस्ताले नेपालको इतिहास, नेपाली संस्कार र संस्कृतिलाई जोगाउने, विकास गर्नेतर्फ अलिकति पनि ध्यान दिएको छैन । यो निकै ठुलो चिन्ताको विषय हो ।
सामाजिक सञ्जालले अल्झाएको वा ‘लत लगाएर बन्दी बनाएको’ यो पुस्ता र जनसमूहमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई आफ्नो इतिहास, संस्कार र संस्कृतिको ज्ञान दिन राज्यसँग ठोस नीति तथा कार्यक्रम हुनुपर्छ । खासगरी प्रविधिकै प्रयोग गरेर सकारात्मक र उपयोगी कन्टेन्टहरू विकास गर्नुपर्नेछ ।
आजको विज्ञान र प्रविधिको युगमा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूको भूमिका अवश्य बदलिएको छ । समयले नयाँ विधि, नयाँ शैली र नयाँ कार्यक्रम माग गरेको छ । तर, राजनीतिक दल र तिनका भ्रातृ संगठनहरू भने आफ्नो परम्परागत शैलीमै अभ्यस्त छन् । आज सामाजिक सञ्जालभित्र लाखौँका संगठन निर्माण गर्ने र त्यहीँभित्र आफ्नो ज्ञान, सीप, सूचना साझा गरी प्रभाव पार्न सकिने अवस्था छ । शिक्षाका औपचारिक संरचनाभित्र पसेर सदस्यता विस्तार गर्ने र संगठन बनाउनुभन्दा बढी प्रभावकारिता सामाजिक सञ्जालमा देखिएको छ । यद्यपि राजनीतिक संघ, संगठनले यसलाई राम्रोसँग ‘एडप्ट’ गर्न सकेका छैनन् ।
विगतमा राजनीतिक दलका केन्द्रीय नेताहरुले कार्यकर्तालाई प्रशिक्षित गर्ने अभ्यास थियो । उनीहरुले देश तथा विश्वको राजनीतिक इतिहास, वर्तमान अवस्था र अभ्यासबारे घन्टौँ लामो प्रवचन दिन्थे । आजका कार्यकर्ताले चाहे भने इन्टरनेटमार्फत यस्ता धेरै कुरा बुझ्न सक्छन् । कृत्रिम बौद्धिकताको तीव्र विकास र त्यसको प्रयोगले परम्परागत सोचलाई अझ ठुलो चुनौती दिएको छ ।
विद्यार्थी संगठनले विगतको जस्तै आन्दोलनका स्वरूप प्रयोग गरेर आजका विद्यार्थीलाई संगठित गर्न वा प्रभावमा पार्न सक्दैनन् । उनीहरूलाई नेतृत्व गर्न पनि सकिँदैन । जसरी आजका विद्यार्थीलाई संगठित र नेतृत्व गर्न सकिँदैन, त्यसैगरी आजका जनतालाई पनि सकिँदैन । त्यसैले विद्यार्थी संगठनले आफ्नो सांगठनिक स्वरूप, आफ्नो कार्यक्रम र कार्ययोजनामा व्यापक विकास गर्नुपर्छ । बिल्कुलै नयाँ विधि, शैली र कार्ययोजना बनाउनुपर्छ ।
जसरी प्रविधिले मानिसको सिकाइ प्रक्रियालाई छिटो र सहज बनाएको छ, त्यसकै आधारमा राजनीतिक संस्थाहरूले आफ्ना कार्यक्रमको कार्यान्वयन प्रक्रिया र विधिलाई पनि बदल्नुपर्ने भएको छ । समाजमा विद्यमान विभेद हटाउने र देशलाई समृद्धितर्फ लैजाने खालका सामग्री निर्माण गरी प्रविधिमार्फत नयाँ पुस्तामा पु¥याउनतर्फ आजका विद्यार्थी संगठन लाग्नुपर्छ । पुरानो तरिकाले अब राजनीति हुँदैन, त्यसमा आमूल रूपान्तरण जरुरी छ ।
(हमाल अखिल (क्रान्तिकारी) की केन्द्रीय उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज हुन्)