बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

सीमान्तकृत मेचे समुदायको संस्कृतिमा आधारित माखाल उपन्यासको लोकार्पण

शुक्रबार, ११ असोज २०८१, ११ : २८
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । सीमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल आज राजधानीमा लोकार्पण गरिएको छ । तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ । 

पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति समेत हुन पुगेको टिप्पणी गरिन् । ‘मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरूका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको छ’ उनले भनिन् ।

त्यसैगरी समीक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरू समेत राखेर तर सरल र सहज तिरकाबाट तयार पारिएको उपन्यास नवीनतम सांस्कृतिक उपन्यास बन्न सफल भएको दाबी गरिन् ।

पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिना भन्दा बढी समय बिताएर त्यस समुदायका अगुवाहरूसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेको बताइन् । प्रकाशक परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भास्कर ज्ञवालीले सीमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मूलधारमा स्थापित गर्न यो उपन्यास प्रकाशित गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप