प्रचण्डको विशेष अधिकार र महासचिव प्रणाली
३५ वर्षदेखि क. प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी पार्टी आगामी महाधिवेशनबाट अनिवार्य रूपमा नयाँ चरणमा प्रवेश गर्दै छ । नेपालभित्र मात्र नभई विश्वभरका नेपाली कम्युनिस्ट आन्दोलनमा सकारात्मक र नकारात्मक रूपमा चासो राख्ने शक्तिहरूले माओवादी आन्दोलनको नेतृत्व परिवर्तन र त्यसको प्रभावबारे विश्लेषण गर्न थालेका छन् । माओवादीभित्र पनि यो बहसले प्रवेश पाएको छ ।
नेपाली समाजमा पनि समकालीन राजनीतिक नेतृत्वको व्यवस्थापन र भावी नेतृत्वको खोजी सुरु भएको छ । माओवादी पार्टीको आफ्नो छुट्टै स्कुलिङ भएकाले उसले आफ्नै किसिमले नेतृत्व समूह परिवर्तन गर्न आवश्यक छ । त्यसका लागि माओवादी पार्टीको नेतृत्वमा सञ्चालित जनयुद्ध, जनआन्दोलन, शान्तिप्रक्रिया, अन्तरिम संविधान, संघीय गणतन्त्रको घोषणा, संविधानसभा, संविधान लेखन, संविधान जारी तथा कार्यान्वयन, देशको विकास र आर्थिक समृद्धि सवाल लगायतमा प्रचण्डको योगदानको समीक्षा गर्नुपर्छ ।
- प्रचण्ड एक संस्था
३५ वर्षसम्म अविछिन्न पार्टीको नेतृत्व गरेका प्रचण्डमा धेरै कमी–कमजोरी छन् । यद्यपि माओवादी आन्दोलनको समीक्षा गर्दा प्रचण्डविना जनयुद्ध सम्भव थिएन । संसारमा धेरै गुरिल्ला युद्धहरू भइरहेका छन् । तीमध्ये कतिको दुःखद अन्त्य भएको छ, कति विनाउपलब्धि टुङ्गिएका छन् । नेपालजस्तो भूपरिवेष्टित देश, जहाँ अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय परिस्थिति अत्यन्त प्रतिकूल छ, यहाँ सशस्त्र संघर्ष गर्नु धेरैका लागि कोरा कल्पना थियो । यस्तो विषमताका बिच प्रचण्डको मुख्य नेतृत्वमा नेपालमा जनयुद्ध सम्भव भएको हो ।
प्रमुख नेतृत्व भनेको सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति हो । माओवादी आन्दोलनमा धेरै सक्षम नेता थिए र छन् । कुनै पनि आन्दोलन एक व्यक्तिको क्षमता र दक्षताले मात्र अगाडि बढ्न सक्दैन र सम्भव पनि छैन, तर मुख्य नेतृत्वले पार्टीमा भएका सबै नेताको क्षमता र दक्षतालाई केन्द्रीकृत गर्न सके कि सकेनन् भन्ने कुराको अर्थ हुन्छ । यसरी प्रचण्डले जनताको जनआन्दोलन, शान्ति प्रक्रिया र संविधानसभालाई गणतन्त्रसम्म पुर्याउन सबैको विचारलाई केन्द्रित गर्न सफल भए ।
२०६९ मा पहिलो संविधानसभा विघटनलगत्तै माओवादी पार्टी विभाजित भएको थियो । यस बेला प्रचण्डले जनयुद्ध र जनआन्दोलनको उपलब्धि जोगाएर देशलाई शान्ति र समृद्धिको दिशामा अघि बढाउने कुरामा अडिग रहँदा फरक विचार भएका कमरेडले पार्टी छाडेका थिए । जसले तत्कालै विद्रोहबाट सत्ता कब्जा गर्ने बाटो सही भएको तर प्रचण्डले नचाहेको भनेर हिँड्न खोजे, जो पुष्टि हुन सकेन । संविधान बनेपछि पनि पार्टी विभाजित भयो । यसमा पनि त्यही कुरा लागु हुन्छ र पार्टी परित्याग गर्नेले कम्युनिस्ट विचारको अन्त्य भइसकेको भनी आफूलाई गैरकम्युनिस्ट घोषणा भएको घोषणा गरे ।
जनयुद्ध सुरु हुनुुपूर्व समेत २०५१ मा जनयुद्धमा जाने र नजाने कुरामा पार्टी विभाजित भएको थियो । यी तीनवटै विभाजनको परिघटना हेर्दा प्रचण्डको नेतृत्व क्षमतामा प्रश्न उठ्दैन । किनकि ती विभाजनका कारण मूलतः वैचारिक थिए । हरेक विभाजनका बेला विचार र कार्यदिशा, जनता र राष्ट्रप्रतिको प्रचण्ड बुझाइ नै सही रहेको प्रमाणित हुन्छ ।
जनयुद्धको दसवर्षे छोटो अवधिमै २५० वर्ष लामो निरंकुश राजतन्त्र समाप्त गरी जनताको गणतन्त्र ल्याउने अभियानमा कांग्रेस एमाले लगायत दललाई मनाउन र २००७ सालतिर उठेको संविधानसभाको मुद्दालाई पुनः फर्काउन प्रचण्ड सफल भए । आफूले पार्टीको चुनवाङ बैठकमा उद्घोष गरेको आन्दोलनको आँधीहुरी ल्याउने बाह्रबुँदे सहमति गरेर प्रचण्डले नयाँ राजनीतिक आधार तयार गरे र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन सफलतापूर्वक नेतृत्वदायी भूमिका खेल्न पुगे । पछिल्लो समय उनले सुशासन कायम गर्दै देशलाई समृद्धिको मार्गमा हिँडाउने प्रयास गरे ।
गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री रहेका बेला उनले नागरिक सर्वाेच्चताका लागि राजीनामा दिएका थिए । त्यसपछि पार्टीको मूल मिसन अर्थात् जनयुद्धका उपलब्धि संस्थागत गर्ने र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याई देशलाई समृद्धिको बाटोमा लैजाने कुरालाई नै मुख्य मानी कार्यान्वयनका लागि अगाडि भए ।
क. प्रचण्ड संस्थासरह भइसक्नुभएका कारण वैचारिक प्राधिकारसहित आजीवन अध्यक्ष रहने गरी पार्टीलाई महासचिव प्रणालीमा लैजानु आवश्यक छ । कार्यकारी समितिमा नरहने नेतृत्व रहने गरी नीति परिषद् व्यवस्था गर्नुपर्छ ।
संविधानसभा विघटन भई माओवादीको नेतृत्वमा सरकार रहेको अवस्थामा समेत संविधानसभाको निर्वाचनको वैकल्पिक सरकार बनाउन तयार भएका प्रचण्ड पुनः संविधानसभाको निर्वाचन गराउन सफल भए । निर्वाचनमा पार्टी तेस्रो स्थानमा खुम्चिरहँदा समेत जिम्मेवार भएर शान्ति र संविधानका लागि नेतृत्वदायी भूमिका खेली सङ्घीय गणतन्त्रलाई संस्थागत गर्दै समावेशी, समानुपातिकसहित समाजवाद उन्मुख संविधान बनाउन सफल भए । संविधान जारी भएपछि समेत नयाँ संविधानलाई कार्यान्वयन गर्ने प्रथम निर्वाचन सम्पन गराउन सफल भए ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गराउने नेतृत्व क्षमता भएका क. प्रचण्ड व्यक्ति (अध्यक्ष) नभई संस्थामा रूपान्तरण भएको मान्नुपर्ने हुन्छ । पदाधिकारी, स्थायी वा केन्द्रीय समितिले निर्णय गरेरै पार्टी कुनै जटिल समस्या परेको निर्णय गर्ने अधिकार क. प्रचण्डलाई दिइनुले समेत यो कुरा पूर्णतः प्रमाणित गर्छ ।
- नयाँ प्रणालीको विकास
कम्युनिस्ट आन्दोलनमा आवश्यकताले गर्दा एकै व्यक्तिले लामो समयसम्म नेतृत्व सम्हालेको इतिहास रहेको छ । तर अब यसरी नै पार्टीको सांगठनिक गतिविधि सञ्चालन सम्भव छ ? ३५, ४० वर्षदेखि नेतृत्वमा रहेको ज्येष्ठ नेताहरूको समूहले अब पार्टीमा ऊर्जा पैदा होला ? उहाँहरूको उमेर र स्वास्थ्यले साथ देला ? यस्ता प्रश्न उठ्न थालेका छन्, जुन जायज छन् ।
८० वर्षसम्म लर्खराउँदै पार्टीको कार्यकारी जिम्मा लिएर हिँड्नु कम्युनिस्ट क्रान्तिकारीका लागि सुहाउने कुरा होइन र सही हुनै सक्दैन । कम्युनिस्ट पार्टीको अभिभारा देश, जनता र दुनियाँलाई भविष्य प्रदान गर्ने हो । हिजो ३४ वर्षका प्रचण्डले पार्टीको नेतृत्व सम्हाल्दै ३० देखि ४० वर्ष उमेर समूहका तत्कालीन नेताको अगुवाइमा सुरु गरेको अभियान जनयुद्धले देश संघीय गणतन्त्रसम्म ल्यायो । आज विकास र समृद्धिको जग बस्न सफल भएको छ । अबको नयाँ समाजवादी आन्दोलनलाई अगाडि बढाउन ३० देखि ४० वर्ष समूहका नौजवान क्रान्तिकारी युवाहरूको नयाँ पंक्ति तयार गर्न आवश्यक छ । ती नौ जवानहरूले मात्रै देशको विकास र समृद्धको महाअभियानलाई २० देखि ३० वर्षकै दौरानमा नयाँ उचाइमा पुर्याउन सक्छन् । अब माओवादीले यो भविष्ययुक्त आशा नेपाली जनतालाई दिनु सक्नुपर्छ । यसको नेतृत्व समूह परिवर्तन माओवादी आन्दोलनको अपरिहार्य आवश्यकता हो । यदि माओवादीले यसो गर्न सक्यो भने यो नयाँ क्रान्तिको सुरुवात हुनेछ ।
- नेतृत्व समूह परिवर्तनको तयारी
आगामी महाधिवेशनबाट माओवादी पार्टीले माओवादी आन्दोलनको समग्र समीक्षा गरी संश्लेषण गर्नुपर्छ र उपलब्धि संस्थागत गर्नुपर्छ ।
विचार, कार्यदिशा, कार्यनीति, संगठन र नेतृत्व समेतको सही विश्लेषण तथा संश्लेषण गरी अगाडि बढ्नुपर्छ । क. प्रचण्ड संस्थासरह भइसक्नुभएका कारण वैचारिक प्राधिकारसहित आजीवन अध्यक्ष रहने गरी पार्टीलाई महासचिव प्रणालीमा लैजानु आवश्यक छ । कार्यकारी समितिमा नरहने नेतृत्व रहने गरी नीति परिषद् व्यवस्था गर्नुपर्छ ।
अब पार्टीमा नेतृत्व परिवर्तनको विकल्प नभएको हुँदा आगामी महाधिवेशनमा कार्यान्वयन गर्ने गरी आउँदो केन्द्रीय समितिबाटै तयारी गर्नु जरुरी हुन्छ । यसका लागि पार्टीमा नयाँ उत्तराधिकारीको समूह निर्माण गर्नुपर्ने हुन्छ । तत्काललाई पार्टी नेतृत्वमा रहेका ६० वर्ष उमेर समूहमुनिका क्षमतावान् नेताहरूलाई सात प्रदेश, जवस मोर्चा, सदन र सडक मोर्चाहरूमा जिम्मेवारी दिई खटाउनुपर्छ ।
२०८४ सालको तीनै तहको निर्वाचनमा परिणाम आउने गरी नयाँ नेतृत्व पंक्ति निर्माण गर्दै कार्यान्वयनमा जानुपर्छ । आगामी महाधिवेशबाट नयाँ महासचिव प्रणाली पारित गरी क्रमशः लागु गर्दै लैजानुपर्छ । नेपाली जनताले माओवादी पार्टी र नेतृत्वलाई आशावादी नजरले हेरिरहेको यो घडीमा पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविका र सुशासनलाई मूल मुद्दा बनाउँदै उत्तराधिकारी समूह निर्माण गर्ने तयारी लाग्नु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिलको सिफारिस
-
बाढी पहिरो प्रभावित जिल्लाका स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा
-
महिनाभरी नोवेलले दियो स्तन क्यान्सरको उपचारमा सहुलियत
-
ऊर्जातर्फ चार अर्ब र सिँचाइतर्फ एक अर्बभन्दा बढी क्षति भयो : मन्त्री खड्का
-
सहकारी ठगीबारे संसदीय समितिको प्रतिवेदन कसरी हुँदैछ कार्यान्वयन ?
-
कर्णालीका मुख्यमन्त्री कँडेल भन्छन्– काम गर्न गाह्रो रहेछ