मङ्गलबार, २२ असोज २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व रेबिज दिवस

कुकुरले टोकेमा के गर्ने ?

शनिबार, १२ असोज २०८१, १६ : ४४
शनिबार, १२ असोज २०८१

आज सेप्टेम्बर २८ अर्थात् विश्व रेबिज दिवस । ‘अवरोध हटाऔँ ः रेबिज उन्मूलन गरौँ’ मूल नाराका साथ विभिन्न कार्यक्रम गरी यसपालिको रेबिज दिवस मनाइँदै छ । 

लक्षण देखा परिसकेपछि रेबिज रोग शतप्रतिशत प्राणघातक हुन्छ । यद्यपि आवश्यक सतर्कता अपनाउन सके शतप्रतिशत रोकथाम गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रणनीतिक योजनाले सन् २०३० सम्म कुकुरको टोकाइले सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्यमा पुर्‍याउने लक्ष्य लिएको छ, जसमा नेपालले पनि प्रतिबद्धता जनाएको छ । 

रेबिज एक प्राचीन रोग हो, यद्यपि अहिले पनि यो रोगबाट हरेक नौ मिनेटमा एक व्यक्तिको मृत्यु हुने गरेको छ । मृत्यु हुनेमा ४० प्रतिशतभन्दा बढी बालबालिका छन् । नेपालमा पनि हरेक वर्ष यो रोगका कारण एक सयभन्दा बढी मानिसको मृत्यु हुन्छ भने हरेक वर्ष करिब एक लाख मानिसले कुकुरको टोकाइपश्चात् खोप लगाएको तथ्यांक छ । 

यो रोग कुकुरबाहेक बिरालो, मुसा, चमेरो वा अन्य जंगली जनावरबाट सर्ने गर्छ, तर यो रोगबाट जति मानिसको मृत्यु हुन्छ, तीमध्ये ९५ प्रतिशतभन्दा बढीको मृत्युको कारण कुकुरको टोकाइ रहेको छ । असुरक्षित र त्रसित महसुस गरेका कुकुरले मानिसलाई टोक्नु सामान्य हो, यो कुकुरहरूको प्राकृतिक बानी नै हो, तर रेबिज लागेका कुकुरले कुनै पनि व्यक्तिलाई बिनाकारण टोक्छन् ।


घाउलाई साबुनपानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्राथमिक उपचार हो । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिङ गर्ने वस्तु वा ब्यान्डेजले छोप्नु भने हुँदैन । 


आक्रामक र मुखमा फिँज हुँदैमा रेबिज नै हो भन्ने सत्य होइन । रेबिज संक्रमित धेरैजसो कुकुर आक्रामक हुन्छन्, केही भने यसको विपरीत सुरुमा धेरै निष्क्रिय देखिन सक्छन् । रेबिज संक्रमित कुकुर वा अन्य जनावरको टोकाइबाट मात्र नभई संक्रमित जनावरको र्‍याल शरीरका विभिन्न झिल्ली वा घाउको सम्पर्कमा आएमा समेत रेबिज रोग सर्ने सम्भावना हुन्छ । 

  • घाउको हेरचार र उपचार 

रेबिजको रोकथाम सम्भव छ । रोगको लक्षण देखिइसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन । कुकुरले टोक्नेबित्तिकै कतिपय मानिस निकै आत्तिएको र वरिपरि जे पाइन्छ, त्यही घाउमा लगाउने गरेको समेत देखिन्छ । रोगका बारेमा आवश्यक ज्ञान नहुँदा वा हेलचक्र्याइँ गर्दा यो रोगबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । 

कुकरले टोकिहालेमा घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । साबुन नभए पानीले मात्रै भए पनि पखाल्नुपर्छ । घाउलाई साबुनपानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्राथमिक उपचार हो । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिङ गर्ने वस्तु वा ब्यान्डेजले छोप्नु भने हुँदैन । 

  • खोप 

रेबिज रोग फैलन नदिन मानिस र जनावर दुवैका लागि खोप उपलब्ध छन् । कुकुर वा जंगली जनावरले टोकेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी तुरुन्तै रेबिज विरूद्धको खोप लगाउनुपर्छ । कतिपयले अझै पनि रेबिजको उपचारका लागि पेटमा २० वा सोभन्दा बढी खोप लगाउनुपर्छ भन्ने सोच्छन् तर आजको उपचार पद्धतिमा सामान्यतया अवस्था हेरी पाखुरामा तीनपटक खोप लगाए पुग्छ— टोकेको दिन, तेस्रो दिन र सातौँ दिन । खोपबाहेक कहिलेकाहीँ घाउको जटिलता र टोकेको स्थान हेरी चिकित्सकले ‘इम्युनोग्लोबुलिन’ समेत लगाउन सिफारिस गर्छन् । 

सैद्धान्तिक रूपमा भन्नुपर्दा रेबिजविरुद्ध नियमित रूपमा खोप लगाएको कुकुरले टोकेमा खोप लगाउनुपर्दैन तर खोपको गुणस्तर, लगाएको समय तरिका र कुकुरको शारीरिक अवस्था उपयुक्त नभएमा खोप लगाए पनि कुकुरमा रेबिज रोग देखिन सक्छ । त्यसैले कुकुरलाई रेबिजविरुद्धको खोप लगाइए पनि परामर्शका लागि चिकित्सककहाँ जानुपर्छ । चिकित्सकले टोकेको घाउको मूल्याङ्कन गरेर ‘पोस्ट–एक्सपोजर भ्याक्सिन’ आवश्यक छ कि छैन भनेर निर्कोल गर्छन् ।

रेबिजविरुद्धको खोप लगाइएको र रेबिजविरुद्ध लड्ने क्षमता पूर्ण रूपमा विकास भएको कुकुरबाट जन्मेको बच्चाहरूसँग कम्तीमा तीन महिनासम्मको उमेरका लागि रोगसँग लड्ने क्षमता माउबाट आएको हुन्छ । त्यसैले सामान्यतया तीन महिनाभन्दा कम उमेरको छाउराले टोक्दा खोप लिनुपर्दैन, तर हामीले पालेको कुकुरको आमाबारे हामीलाई धेरै जानकारी नहुने हुँदा कम उमेरको छाउराले टोके पनि रेबिज विरुद्धको खोप लिनु बुद्धिमानी हुन्छ । 

पुरानो मानव खोपबाट केही साइड इफेक्ट भए पनि नयाँ मानव खोप जुन हाल उपलब्ध छ, त्यसले साइड इफेक्ट नहुने हुँदा निर्धक्कका साथ लगाउनुपर्छ । सबै आधुनिक खोपहरू निष्क्रिय, सुरक्षित र प्रभावकारी हुने भएकाले गर्भवती र स्तनपान माहिलाले रेबिजविरुद्धको खोप लिन मिल्छ र बच्चालाई कुनै असर गर्दैन । 

  • टोक्ने कुकुरको निगरानी 

एउटै कुकुरले धेरै मानिसलाई वा जनावरलाई टोकेर रेबिज रोग सारेको उदाहरण पनि छन् । त्यसैले अन्य मानिसलाई नटोकोस् भन्नका निमित्त टोक्ने कुकुरलाई केही समयसम्म निगरानीमा राख्नुपर्छ ।

रेबिज संक्रमित कुकुरको सामान्यता १० दिनभित्र मृत्यु हुन्छ । आफूलाई टोक्ने कुकुरको केही समयमा मृत्यु भएमा नजिकको पशु सेवा शाखा वा भेटेरिनरी अस्पतालमा जानकारी गराउनुपर्छ । यसरी मरेको कुकुरलाई पशुपक्षी रोग अन्वेषण प्रयोगशालाबाट परीक्षण गर्दा रेबिज पुष्टि भएमा सो कुकुरसँग सम्पर्कमा आएका अन्य कुकुर र स्तनधारी जनावरलाई रेबिजविरुद्धको खोप लगाउनुपर्छ । 

  • घरपालुवा कुकुर र बिरालोलाई खोप 

रेबिज रोगबाट आफू र आफ्नो समुदायलाई बचाउन घरपालुवा कुकुर र बिरालोलाई तीन महिनाको उमेरमा पहिलोपल्ट, चार महिनाको उमेरमा दोस्रोपल्ट र त्यसपश्चात् हरेक वर्ष नियमित रूपमा अनिवार्य रेबिज विरुद्धको खोप लगाउनुपर्छ । 

घरपालुवा र बाहिर सम्पर्कमा नआउने कुकुर र बिरालालाई रेबिज विरुद्धको खोप लगाउनुपर्दैन भन्ने केही मानिसमा भ्रम रहेको पाइन्छ । घरपालुवा कुकुर पनि घरबाट लुकेर बाहिर निस्कने र छिमेकका कुकुर वा जंगली जनावरको सम्पर्कबाट रेबिजको जोखिममा पर्न सक्छ । 

रेबिज संक्रमित चमेरा वा अन्य साना प्रकारका जंगली जनावर जुनसुकै बेला तपाईंको घरभित्र पसी तपाईंको कुकुरको सम्पर्कमा आएका हुन सक्छन् । रेबिज एक प्राणघातक रोग भएकाले घरपालुवा र बाहिर सम्पर्कमा नआउने कुकुर र बिरालालाई रेबिज विरुद्धको खोप लगाउन उपयुक्त हुन्छ ।

(पशु चिकित्सक, केन्द्रीय रिफरल पशु चिकित्सालय, पशु सेवा विभाग ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा प्रकाश अधिकारी
डा प्रकाश अधिकारी
लेखकबाट थप