बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार, १२ असोज २०८१, २१ : ४९
शनिबार, १२ असोज २०८१

पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पोखरा ६ गौरीघाटमा करेन्ट लागेर खेमबहादुर पौडेल (मंगल)को मृत्यु भएको हो । 

उनलाई तार पन्छाउने क्रममा करेन्ट प्रवाह भएको र त्यसलाई फाल्दा घाँटी र ज्यानमा बेरिएको श्रीमती जानुका पौडेलले बताइन् । ‘करेन्ट लागेपछि तार फाल्नुभयो । तर उक्त तार उल्टै ज्यानमा बेरियो र उहाँ ढल्नुभयो,’ उनले भनिन्, ‘मैले चिच्याएँ । केही बेरपछि उद्धार गरेर उपचारका लागि अस्पताल लग्यौँ, बचाउन सकेनौँ ।’

असोज १ गते करेन्ट लागेर ढलेका उनको ९ दिनसम्म मणिपाल शिक्षण अस्पतालमा उपचार भएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । इन्टरनेट सेवा प्रदायकको लापरबाहीले मङ्गलको मृत्यु भएको परिवारको आरोप छ । ‘घटना लगत्तै कास्की प्रहरीमा ठाडो उजुरी दियौँ । यत्रो दिनसम्म प्रहरीले कारबाही अघि बढाएको छैन,’ उनी भन्छिन्, ‘प्रहरीले मुचुल्का मात्रै तयार गरेको छ । थप प्रक्रिया अघि बढेन ।’

खेमका भाइ भरतबहादुर पौडेलका अनुसार इन्टरनेटको तारमै हाइ भोल्टेज विद्युत् प्रवाह भएको थियो ।  ‘हामीलाई सबै जानकारी हुँदैन । सम्भवतः तारमै हाइ भोल्टेज करेन्ट प्रवाह भएको हुनसक्छ । नभए पनि उक्त तार कतै छोइएर करेन्टमा जोडिएको होला,’ उनी भन्छन्, ‘चाहे जे होस्, दोषीमाथि कारबाही हुनुपर्छ । हामीले कारबाही माग गरेको हो, प्रहरीले वास्तै गरेन ।’

विद्युत् तारका कारण ज्यान गएपछि पोखरामा रहेका पर्यटन सम्बद्ध संघ संस्था र नागरिक समाजले पनि घटनाको विरोध गरेका छन् भने दोषीमाथि कारबाहीको माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप