बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
विपद्

प्राकृतिक प्रकोपबाट क्षति बढेको बढ्यै

विगत पाँच आर्थिक वर्षमा ८० अर्ब ४१ करोड क्षति भएको तथ्याङ्क
मङ्गलबार, १५ असोज २०८१, १६ : १४
मङ्गलबार, १५ असोज २०८१

विराटनगर । केही दिन अघि निरन्तर वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले देशभरको जनजीवन प्रभावित बनेको छ । अहिलेसम्म उक्त बाढी, पहिरो र डुबानमा परेर २ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने केही मानिस अझै बेपत्ता छन् ।

बाढी, पहिरोका कारण भौतिक संरचनाको क्षतिको विवरण आउन अझै केही दिन लाग्ने सरकारी निकायहरूको भनाइ छ । तर, प्रारम्भिक तथ्याङ्कहरूले सडक, पुल, पुलेसो तथा कल्भर्ट बगाउँदा सरकारी सम्पत्तिमात्रै दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको देखाउँछ ।

सरकारी भवन, विद्यालय, स्वास्थ्य चौकी तथा प्रहरी कार्यालयहरूमा कति क्षति भयो भन्नेबारे अझै यकिन विवरण आएको छैन । यस्तै सर्वसाधारणको घर, खेत, बालीनाली, पशुचौपायामा पुर्‍याएको क्षतिको विवरण भने अझै आएको छैन ।

तर, तथ्याङ्कहरूले देखाए अनुसार बर्सेनि बाढी, पहिरो तथा प्राकृतिक प्रकोपबाट अर्बौं रुपैयाँको धनमाल नष्ट भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (२०८०/०८१) को फागुनसम्ममा मात्रै ७० अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ९८ करोड ९३ लाख, आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ७४ करोड ४७ लाख, आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ११ करोड र आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ९२ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको थियो ।

सबैभन्दा बढी क्षति आगलागीबाट हुने गरेको तथ्याङ्कले देखाउँछ । गत वर्ष भूकम्पको कारण ६९ अर्ब १ करोडको क्षति भएको थियो । विगत पाँच वर्षमा आगलागीबाट ९ अर्ब ९७ करोड २ लाखको क्षति भएको छ । यस्तै जनावरको आक्रमण र दुर्घटनाबाट १० अर्ब १ करोड ६८ लाख, भूकम्पबाट ६९ अर्ब १ करोड ६५ लाख, चट्याङबाट ४ करोड ६६ लाख, पहिरोका कारण ३४ करोड ६८ लाख, भीषण वर्षाका कारण २७ करोड ६० लाख, वन डढेलोबाट २ करोड १२ लाख, बाढीका कारण ४५ करोड ३ लाख र हावाहुरीका कारण २४ करोड ४५ लाख बराबरको क्षति भएको छ ।

  • हेर्नुहोस् तथ्याङ्क

Bipad page-0001​​​​​​​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप