सोमबार, २४ मङ्सिर २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले बाढी पहिरो पीडितलाई ५० लाख सहयोग गर्ने

बिहीबार, १७ असोज २०८१, १७ : ३७
बिहीबार, १७ असोज २०८१

पोखरा ।  गण्डकी प्रदेश सरकारले बाढी पहिरो पीडित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

अघिल्लो साताको अविरल वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न ठाउँमा बाढी पहिरोबाट २ सयभन्दा बढीको मृत्यु भएको छ । ‘विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभर ठुलो मानवीय र भौतिक क्षति भयो । यो विपत्तिको सामना हामी सबै मिलेर गर्नुपर्छ भन्ने धेयले प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो,’ पाण्डेले भने । 

यसअघि जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूका लागि पनि गण्डकी सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

यसैबिच, बैठकले गण्डकी प्रदेशभित्र विपद्का कारण भएको क्षतिको अध्ययन गर्न समिति गठन गरेको छ । पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका महानिर्देशक डा.प्रेरणा सेढाईको संयोजकत्वमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सिडिई हरिदत्त पौडेल र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रवीण ढकाल सदस्य रहने गरी समिति गठन गरिएको हो ।

समितिले प्रदेशभर विपद्ले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी काम सुरु गरेको १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन सरकार समक्ष पेस गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप