आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

शनिबार, १९ असोज २०८१, १७ : ४९
शनिबार, १९ असोज २०८१

जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो । 

सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका  डिभिजन प्रमुख अनुभव चौधरीले बताए । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्र्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । 

रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा, भोलहिया शाखाअन्तर्गतको लौकहा प्रशाखा, जिगङरिया शाखाको नहर तथा बाँध रहेको क्षेत्र बाढीले क्षति पुर्‍याएको छ । यस्तै सर्लाहीतर्फको पूर्वी मूल नहरको लक्ष्मीपुर शाखा, पूर्वी मूलनहरको गडैया शाखाको आरफोर सेक्सन तथा सडकमा क्षति पुर्‍याएको प्रमुख चौधरीले बताए । विसं २०३५ मा निर्माण सुरु भएको उक्त आयोजना २०५० सालमा सञ्चालनमा आएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?