आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विज्ञका कुरा

१२ प्रकारका क्यान्सरको जोखिममा बालबालिका (भिडियोसहित)

आइतबार, २० असोज २०८१

जन्मदेखि १९ वर्षबिचको उमेर समूहकालाई देखिने क्यान्सरलाई बालबालिकामा हुने क्यान्सर भन्न सकिन्छ । यो उमेर समूहमा प्रायः ब्लड क्यान्सर देखिन्छ । ठुलो मान्छेको तुलनामा बालबालिकालाई तुलनात्मक रूपमा क्यान्सर कम नै हुन्छ । नेपालमा करिब ४२ प्रतिशत जनसङ्ख्या १९ वर्ष मुनिको छ । हरेक वर्ष यो उमेर समूहका करिब १५ सय जनामा क्यान्सर हुने गरेको पाइएको छ ।

१९ वर्ष मुनि उमेर समूहका व्यक्तिमा मुख्यतः १२ प्रकारका क्यान्सर देखिन्छ । ठुलो मान्छेलाई हुने क्यान्सरभन्दा बच्चामा हुने क्यान्सर फरक प्रकृति र फरक समयमा देखिने खालका हुन्छन् । बालबालिकामा सबैभन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर हो । क्यान्सर प्रभावित प्रत्येक ३ बालबालिकामध्ये एक जनामा ब्लड क्यान्सर हुन्छ । यसरी हेर्दा क्यान्सर हुने बालबालिकामध्ये करिब ३० देखि ४० प्रतिशतको हाराहारीमा ब्लड क्यान्सर नै हुन्छ । यस प्रकारको क्यान्सर करिब ९० प्रतिशत निको पार्न सकिन्छ ।

शरीरका विभिन्न ठाउँका ग्रन्थिमा आउने क्यान्सर, ब्रेन ट्युमर (मस्तिष्क र स्पाइनलको ट्युमर) पनि बालबालिकामा हुन्छ । ब्रेन ट्युमर धेरैजसो मस्तिष्कको तल्लो भागबाट सुरु हुन्छ । जस्तो सेरिबेलम वा ब्रेन स्टेम । यस्तै, बच्चालाई हुन सक्ने अर्को क्यान्सर हो आँखाको क्यान्सर (रेटिनो ब्लास्टोमा) । यो क्यान्सर बच्चा जन्मदेखि नै आउन सक्छ । पाँच वर्ष मुनिका बच्चामा प्रायःजसो यो देखिन्छ । यस्तै, कलेजोमा पनि क्यान्सर हुन सक्छ । यसका अतिरिक्त बच्चालाई मिर्गौला, अण्डकोष र ओभरीको वरिपरि पनि क्यान्सर हुन सक्छ । यस्तै, नसाको क्यान्सर, हड्डीको क्यान्सर, छाला क्यान्सर लगायत १२ समूहका क्यान्सर हुन सक्छ ।

dr krishna sagar sharma

  • बालबालिकालाई हुने क्यान्सरका लक्षण

समग्रमा बच्चालाई हुन सक्ने क्यान्सरमध्ये ब्लड क्यान्सर र ग्रन्थि क्यान्सर मुख्य हो । ब्लड क्यान्सरले बच्चामा रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ । यो रोग हुँदा बच्चामा आफैँ पनि रोगसँग लड्ने क्षमता कम हुन्छ । रगतमा समस्या हुँदा बालबालिका झन् बढी कमजोर हुन्छन् । यसले गर्दा लामो समयसम्म ज्वरो आउँछ । एक दुई हप्तासम्म उपचार गर्दा पनि ज्वरो निको भएन भने ब्लड क्यान्सरको आशङ्का गर्नुपर्छ । त्यो बाहेक शरीरका विभिन्न ग्रन्थि बढ्छन् । शरीर कमजोर हुँदै जाने र रगतको मात्रा घट्ने हुनाले बच्चाहरू पहेँलो हुँदै जाने र हेमोग्लोबिन घट्दै जान्छ । प्लेटलेट भन्ने रक्त कोशिका घट्दै जाने हुनाले शरीरका विभिन्न ठाउँमा निला डाम देखिने हुन्छ । गिँजाट, दिसा, पिसाबमा रगत देखिन्छ ।

यस्तै, बच्चा कमजोर हुँदै गयो, खान मानेको छैन, शरीरका विभिन्न अङ्गबाट रक्तश्राव हुन्छ भने क्यान्सर हो कि भने शङ्का गर्न सकिन्छ । यस्तो अवस्थामा क्यान्सर हो कि होइन भनेर निर्क्योल गर्न आवश्यक छ ।

ग्ल्याल्ड क्यान्सरमा ग्रन्थि बढेको देखिन्छ । सुरुमा यसमा पनि राति ज्वरो आउने, पसिना आउने, बच्चा दुब्लाउँदै जाने हुन्छ । खान मन नलाग्ने हुन्छ । यस्ता लक्षण लामो समय देखिएमा क्यान्सरको आशङ्कामा स्वास्थ्य परीक्षण गराउनु पर्छ । कतिपय ब्लड क्यान्सर र ग्रन्थि क्यान्सरका लक्षण समान हुन्छन् । समग्रमा यस्ता लक्षणबाट रोगको पहिचान गर्न सकियो भने ब्लड क्यान्सर अथवा ग्रन्थि क्यान्सर छिटो पत्ता लाग्छ ।

क्यान्सर उपचार गर्दा लामो समय लाग्छ, निको हुँदैन, धेरै खर्च लाग्छ भन्ने छ । तर यो सत्य होइन ।

त्यसबाहेक ब्रेन क्यान्सरमा टाउको दुख्ने, वाक–वाक आउने अथवा कहिलेकाहीँ आँखामा समस्या हुने, हातखुट्टा कमजोर हुने अथवा कहिले कमजोरी हुँदै जाने हुन्छ । पढ्ने बच्चा छ भने उसको अक्षर परिवर्तन हुन्छ ।

कहिलेकाहीँ हिँड्ने बानी पनि परिवर्तन हुन्छ । कहिलेकाहीँ मुर्छा पनि पर्न सक्छ । यस्तै, सामान्य व्यवहारभन्दा फरक खालका लक्षण देखा पर्छन् । यस्तो अवस्थामा ब्रेन ट्युमर हो कि भनेर अनुमान लगाउन सकिन्छ ।

केही बच्चामा जन्मिँदै आँखामा ‘क्याट्स आइ’ हुन सक्छ । यो भनेको बिरालोको आँखा टल्केजस्तो टल्किने लक्षण देखिन्छ । भर्खर जन्मेको बच्चाको आँखाको फोटो खिचेर हेर्न सकिन्छ । सामान्य रूपमा त्यो नदेखिन सक्छ तर फोटोमा देखिन्छ । यस्तो देखिएमा चिकित्सकसँग सल्लाह सुझाव लिनुपर्ने हुन्छ ।

त्यसैगरी पेट फुलेर आएको छ, पेटभित्रका अङ्ग कलेजो, मिर्गौला, अण्डकोष, ओभरी लगायतमा हुने क्यान्सरको लक्षण हुन सक्छ । कसैलाई ज्वरो आउँछ, कसैको पिसाबमा रगत देखिन्छ । कहिलेकाहीँ जन्डिस हुन सक्छ । यस अतिरिक्त हड्डी सुन्निने, सामान्य लड्दा पनि हड्डी भाँचिने लक्षण देखा पर्छन् ।

  • बच्चाको क्यान्सर उपचार हुने ठाउँ

बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पतालमा पनि बालबालिकामा हुने क्यान्सर उपचारका सेवा उपलब्ध छन् । केही निजी अस्पतालमा पनि यस प्रकारको सेवा उपलब्ध छ । बालरोग विशेषज्ञ भएका ठाउँमा परीक्षण गरेर पहिचान गर्न सके बच्चामा हुने क्यान्सर निको हुन्छ ।

  • उपचार खर्च कति लाग्छ ?

क्यान्सर उपचार गर्दा लामो समय लाग्छ, निको हुँदैन, धेरै खर्च लाग्छ भन्ने छ । तर यो सत्य होइन । बालबालिकामा हुने धेरैजसो क्यान्सर ६ महिनामा उपचार गर्न सकिन्छ । समग्रमा क्यान्सर भनेर डराउँछौँ तर १ देखि २ लाख रुपैयाँको खर्चमा यो निको हुन्छ । ब्लड क्यान्सरका लागि ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्न सक्छ । धेरै ठाउँमा क्यान्सरको उपचार निःशुल्क नै हुने गर्छ । जस्तो कि बेड, खाना निःशुल्क हुन्छ । समयमै पहिचान गर्न सकियो भने ५ देखि १० लाख खर्चमा क्यान्सर निको पार्न सकिन्छ ।

बिपी क्यान्सर अस्पतालमा १५ वर्ष मुनिका बालबालिकामा क्यान्सर पहिचान गर्न सके निःशुल्क उपचार हुन्छ । खाना, शय्या, आईसीयु निःशुल्क भए पनि औषधिको लागि खर्च हुन्छ । क्यान्सर सेवा समाज छ । केही सहयोग पनि त्यहाँबाट गर्न सकिन्छ । त्यस्तै, सरकारले दिने १ लाख रुपैयाँ उपचार खर्चबाट पनि उपचार गराउन सकिन्छ ।

 (बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बाल चिकित्सा र किशोर हेमाटोलोजिस्ट, ओन्कोलोजिस्ट डा. शर्मासँग कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया