चिउरा : नेवार समुदायका लागि प्रसाद, खाद्यान्न र कोसेली
काठमाडौँ । नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारमा चिउराको प्रयोग हुन्छ । यस समुदायले हरेक भोजमा खाद्यान्नका रूपमा तथा पूजामा प्रसादको रूपमा चिउरा प्रयोग गर्ने गरेको संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् ।
‘नेवार समुदायको धार्मिक तथा सांस्कृतिक कार्यसँगै दैनिक जीवनमा पनि चिउरा प्रयोग हुन्छ,’ उनी भन्छिन्, ‘यो हाम्रो जीवनशैलीसँग जोडिएको छ । नेवार समुदायमा चिउराको प्रयोग प्रसाद, खाद्यान्न र कोसेलीका रूपमा हुँदै आएको छ । पूजा–अनुष्ठानमा त यसको विशेष महत्त्व छ ।’
अन्य समुदायले चिउरालाई खाद्यान्नका रूपमा लिए पनि नेवार समुदायले यसलाई जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्छ ।
‘नेवार समुदायको प्रायः पूजामा चिउरा चाहिन्छ । अनुष्ठानमा चिउरा राख्दाखेरि दुई थरीको राखिन्छ,’ डा. बज्राचार्य भन्छिन्, ‘एउटा मासुसँगै र अर्को मासुविना ।’
जन्मेपछि पहिलोपटक बच्चालाई घरबाहिर लैजाँदा चिउरा छरेर लैजाने प्रचलन रहेको उनी बताउँछिन् । ‘बिग्रिएको चिउरा वा कनिका छरेर बच्चालाई पहिलोपटक घरभन्दा बाहिर निकालिन्छ,’ उनी भन्छिन्, ‘भूत पन्छाउँदा थालमा चिउरा, जाँड, काँचो मासु, लसुन आदि राखेर पूजा गरिन्छ ।’
उनका अनुसार, नेवार समुदायमा पहिलोपटक सुत्केरी छोरी भेट्न जाँदा चाकुसँगै चिउरा लिएर जाने प्रचलन छ । छोराको ६ महिनामा र छोरीको पाँच महिनामा पास्नी गर्दा ८४ परिकार बनाइन्छ, जसमा चिउरा अनिवार्यजस्तै हुन्छ । यस्तै, ‘मान्छेको मृत्यु भएको घरमा चोख्याउन जाँदा पनि चिउरा नै लिएर जाने प्रचलन छ ।
खानका लागि तयार अन्नजन्य वस्तुमध्ये चिउरालाई एक स्वास्थ्यकर खाद्यवस्तु मानिन्छ । पोषणविद्हरू दही र चिउरालाई स्वास्थ्यकर भोजन मान्छन् । नेपाली समाजमा दही–चिउरा खाने पर्व नै छ ।
चिउरा स्वास्थ्यकर भएकाले हामीकहाँ यसको उत्पादन भइरहेको छ । साना उद्योग अन्तर्गत चिउराको उत्पादन हुँदै आएको छ ।
पूर्वउद्योग सचिव भरत थापाका अनुसार चिउराको उद्योग घरेलु तथा साना उद्योगमा पर्छ । स्थानीय तहमै दर्ता गरी सञ्चालन गर्न सकिने भएकाले यसका उद्योग कति छन् र कति परिमाणमा उत्पादन हुन्छ भन्ने यकिनका साथ भन्न सकिँदैन ।
‘टेक्नोलोजीमा विकास भएसँगै अचेल चिउरा ठुलो मात्रामा उत्पादन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘चिउराको बजार राम्रो छ । पहिलाको तुलनामा पछिल्लो समय चिउराको स्वादमा परिवर्तन पाइन्छ ।’
नेपाल खुद्रा व्यापार संघका महासचिव अमूल काजी तुलाधरका एक दशकअघिको तुलनामा अहिले चिउराको उत्पादन र बिक्री–वितरण बढेको देखिन्छ ।
कृषि सहकारीबाट २०७९ देखि बर्दियामा सञ्चालित एक चिउरा उद्योगले गत असारमा ३४ क्विन्टल चिउरा उत्पादन गरेको थियो । सो चिउरा स्थानीय बजारमै खपत भएको बर्दियास्थित चिउरा–भुजा उद्योगका कर्मचारी राजेश कुमार चौधरीले बताए । ‘चिउराको त स्थानीय बजार नै राम्रो छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ हामीले माग अनुसार गर्न सकेका छैनौँ ।’