आइतबार, २५ कात्तिक २०८१
ताजा लोकप्रिय
दसैँ

‘दार्जिलिङको जस्तो दसैँ कतै देखिनँ’

कर्मचारीको रूपमा वीरेन्द्रको हातबाट टीका थाप्थेँ : निर शाह
शुक्रबार, २५ असोज २०८१, १२ : २७
शुक्रबार, २५ असोज २०८१

काठमाडौँ । दसैँ विशेष गरेर मांसाहारी भोजन गर्ने पर्वको रूपमा लिइन्छ । मलाई झण्डै दुई दशक यता मासुमा त्यति रुचि छैन । दसैँमा खसीबोका, हाँस, कुखुरा लगायतको बलि र मारकाट बढी हुन्छ । दसैँमा विशेष गरी मासुका परिकार हुन्छन् । यस्ता कुरामा मेरो खासै लगाव छैन ।

अहिले म ७१ वर्ष पुगेँ । मभन्दा पनि अझ बढी उमेर पुगिसकेका मेरा नातेदार छन् । उनीहरूसँग दसैँ र टीकाको बहानाबाट भेटघाट हुने अवसर प्राप्त हुन्छ । त्यो अवसरबाट आफूलाई सकेसम्म वञ्चित नराखौँ भन्ने एक प्रकारको सोचले मलाई प्रेरित गरिरहन्छ ।

टीकाको केही दिन आफूभन्दा अग्रजसँग हुने भेटघाट मेरालागि सधैँ प्रतीक्षाको विषय बन्ने गरेको छ । तर, दसैँभन्दा तिहार मेरो बढी मनपर्ने चाड हो ।

परिवार र आफ्नो लामो समय छुट्टी हुने भएकाले सबैजना सँगै बसेर दसैँ मनाउने योजना हरेक वर्ष बन्छ । गएको वर्ष दसैँ मेरो पुर्खाको थलो जुम्लामा मनाउने योजना बनाएका थियौँ । त्यही अनुसार परिवारका सबैजना निस्किएका पनि थियौँ । तर, परिवारका सदस्यको स्वास्थ्यमा समस्या आएकाले सुर्खेतभन्दा अगाडि यात्रा गर्न सकेनौँ । त्यहाँबाट फर्किएर हामी झण्डै ७/८ दिन सौराहामा बसेर दसैँ मनायौँ ।

दसैँमा घुमघामका कारण कहिलेकाहीँ आफूभन्दा पाका आफन्तसँग भेट्ने अवसर गुम्ने गरेको छ । मलाई यो वर्ष सकेसम्म यस्तो अवसर गुमाउनुहुन्न भन्ने लागेको छ  । यो पटक टीकाको एक दिन यहाँ बसेर पाका उमेरका आफन्तबाट आशीर्वाद लिन्छु । मकहाँ त्यो भावनाले कोही आयो भने टीका लगाइदिएर आशीर्वाद दिन्छु । त्यसपछि परिवारसहित नेपालभित्रै कतै टुरमा निस्किन्छु ।

मेरो सबै कुरो योजनाबद्ध ढङ्गबाट हुने गरेको छ । यो पटक पनि यस्तै योजना बनेको छ ।

  • बलि दिन्नँ

दसैँमा विशेष गरी बलि दिने चलन छ । मैले आजसम्म जानीजानी लामखुट्टे त मारेको छैन । बलिको कुरै आएन । मलाई पहिलेदेखि नै यस्तोमा रुचि भएन । जुन समयदेखिको मलाई सम्झना छ, त्यो बेलादेखि आजको दिनसम्म बलिमा कहिल्यै रुचि भएन । यदि मैले आफ्नो आँखा अगाडि बलि दिएको देखेँ भने पनि त्यसको मासु खान सक्दिनँ ।

म भेजिटेरियन भने हैन, मासु खान्छु । अहिले ५ महिना जति माछामासु खाने, ७ महिना नखाने भएको छु । मिलेसम्म र पाएसम्म धेरै भेजिटेरियन खाना खान्छु ।

पूजापाठमा भने धेरै रुचि छ । ३६५ दिन नै नियमित पूजापाठ गर्छु भने नवरात्रिमा पूजा नगर्ने कुरै भएन । पहिलेदेखि नै एउटा दसैँ घर नक्सालको भगवती बहाल हो । त्यहाँ हाम्रो बाजेको पालादेखिनै पूजा गर्दै आएका छौँ । विशेष जमरा राखिएको हुन्छ । अर्को, आ–आफ्नो घरमा दसैँ अवधिभरि विशेष कक्ष बनाएर पूजा गरिन्छ । त्यसको नामै दसैँ कोठा हो ।

दसैँको समय चारैतिर रातो कपडाले बेरेर विशेष किसिमले भगवतीको पूजा हुन्छ । पुर्ख्यौली थलो जुम्लादेखि नै पूजा हुँदै आएको खड्ग र तरबार मसँग छ । तिनको पनि नियमित पूजा गर्नुपर्‍यो ।

  • म दरबारिया होइन

शाह परिवार भए पनि म दरबारिया शाह होइन ।  हाम्रो शाह परिवार नै बेग्लै हो । हाम्रो परिवारका एक दाजुले दरबारिया शाह वंशको एक महिलासँग विवाह गरेको कारणले हाम्रो सम्बन्ध जोडिन गएको हो । दरबारिया शाह गोरखनाथलाई पूजा गर्नुहुन्छ । हामी चन्दननाथलाई पूजा गर्छौँ ।

चन्दननाथ जुम्लामा छ । गोरखनाथको मन्दिर गोरखामै छ क्यार । उहाँहरूको गोरखकाली उतै पर्‍यो । हाम्रो त्रिपुरासुन्दरी पश्चिममै भयो । दरबारको गोरखाबाट ल्याएर हनुमान ढोकामा फूलपाती भित्र्याइन्छ । हाम्रो त्रिपुरासुन्दरीको प्रतीकको रूपमा स्थापना गरिएको शोभा भगवतीमा फूलपाती गरिन्छ ।

मैले राजा वीरेन्द्रसँग दसैँको टीका धेरै पटक लगाएको छु । त्यो टीका परिवारसँग नजिक भएको कारणले लगाएको भने होइन । जागिरे हुँदा राजासँग टीका लगाउन सरकारी कर्मचारीलाई उर्दी नै जारी हुन्थ्यो । त्यस सिलसिलामा टीका लगाउँथेँ । वीरेन्द्र एकदमै भलाद्मी किसिमको मानिस हुनुहुन्थ्यो । टीका थापे पनि मैले उहाँबाट कहिल्यै दक्षिणा पाइनँ ।

वीरेन्द्रसँग मेरो अन्य समय पनि भेट हुन्थ्यो । भेटमा  चलचित्र र टेलिभिजनको विषयमा कुरो हुन्थ्यो ।

  • दसैँ पहिले र अहिले

पहिले दसैँ आउँदा जुन उमङ्ग हुन्थ्यो, त्यो उमङ्गमा अहिले कमी पाएँ । दसैँसँग जोडिएर पहिले दुईतीन कुरो आउँथ्यो । पहिलो, मनै आनन्दित गर्ने खालको मौसम हुन्थ्यो । हावा चल्दा शीतलताको अनुभव हुन्थ्यो । अहिले त्यो प्रकारको मौसम छैन ।

अर्को कुरो, दसैँमा जताततै चङ्गा उडाउँदा आकाश नै ढाकेको हुन्थ्यो । त्यस्तो दृश्यले मन प्रफुल्लित हुन्थ्यो, अहिले यस्ता दृश्य दुर्लभ भयो । चङ्गामा अनेक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो । ती सबै देखेर हुर्किएको हुँ म । अहिले ती सम्झनामा मात्र रह्यो । आधारभूत रूपमै पहिले दसैँ आउँदा र अहिले दसैँ आउँदा फरक अनुभूति छ ।

  •  कलाकारबाट टीका थाप्दिनँ

दसैँमा म सधैँ आफ्ना अग्रजबाट टीका थाप्छु । म कलाकार भएकाले अग्रज कलाकारको हातबाट टीका लगाएको र आफूले पनि लगाइदिएको अनुभव छैन । एक पटक निर्देशक प्रकाश थापाको हातबाट भने दसैँको टीका थापेको छु । थापा एक किसिमले मेरो गुरु पनि हुनुहुन्थ्यो । उहाँले धेरै कुरो मलाई सिकाउनु भएको छ । काठमाडौँमै एक सन्दर्भमा एक पटक उहाँसँग टीका लगाएको थिएँ ।

टीका लगाउने कुरामा म कहिल्यै इन्करेज गर्दिनँ । त्यस कारण मसँग टीका लगाउन कलाकार आएको अनुभव छैन । यो टीका परिवारमै सीमित राख्न चाहन्छु । 

मलाई दसैँ आफन्तसँग भेला हुन सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ । मेरो विचारमा यो एउटा बृहत्तर ‘फ्यामिली ग्यादरिङ’ हो । यो चाड यसरी प्रभावकारी भएर जानुपर्ने थियो कि यसमा अन्तरपारिवारिक मानिसको समेत जमघट गर्न सक्नुपर्ने थियो । टोल, गाउँ र समाजभरिका मानिस एउटा चाडको नाममा एकत्रित हुने पर्वको रूपमा यसलाई विकास गर्न सकिन्थ्यो । त्यो यहाँ हुन सकेन । मैले यस्तो अनुभव दार्जिलिङ बस्दा गरेको थिएँ ।

  • सद्भावनायुक्त दसैँ दर्जिलिङमा

अध्ययनको सिलसिलामा तीन वर्षको दसैँ मैले दार्जिलिङमा बिताउनु पर्‍यो । त्यो समय जस्तो दसैँ मैले जीवनमा अहिलेसम्म अनुभव गर्न पाइनँ । त्यहाँ दसैँ मान्ने विद्यार्थी छन् भने क्रिचियन गुरुहरूले पनि टीका लगाइदिन्थेँ, आशीर्वाद दिन्थे ।

त्यहाँको सारा समाज नै मिलेर दसैँ मनाएको अभूतपूर्व स्मरण मेरो स्मृतिमा आउने गर्छ । म पढ्ने कलेज दार्जिलिङको सिवारी भन्ने टोलमा थियो । त्यो टोलमा दसैँ यसरी मनाइन्थ्यो कि जुन घरको मानिस जुन घरमा गएर खाए पनि हुन्थ्यो । त्यसो गर्दा हरेक घरमा मानिसहरू खुसी हुन्थे ।

हामी बाहिरबाट पढ्न बसेको विद्यार्थी थियौँ । घर जान नपाएको अवस्थामा हामीलाई कसले टीका लगाइदिन्छ र भनेर हरेक घरका मानिसले बोलाइ–बोलाइ दसैँको टीका लगाइदिन्थे । साँच्चिकै सद्भावनायुक्त दसैँ मैले दर्जिलिङमा मात्रै महसुस गरेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप