खस साम्राज्यसँग जोडिएको ढाल–तरबार नाच लोपोन्मुख
सुर्खेत । पश्चिम दैलेखको लकान्द्र, सिराडीका नामबहादुर शाही (६१ वर्ष) र देवी बुढा (६३ वर्ष) कुनै बेलाका चर्चित ढाल–तरबार खेलाडी थिए । कुनै ठाउँमा विवाह, उत्सव तथा शुभ कार्यमा ढाल–तरबार खेल्नुपर्यो भने उनीहरूलाई निम्ता आउँथ्यो । आफ्ना ढाल र तरबारसहित उनीहरू खेल्न पुग्थे ।
समाजमा ढाल तरबार खेल्ने खेलाडीको निकै ठुलो सम्मान हुन्थ्यो । साबिकका लकान्द्र, विशाला, चामुण्डा, जुम्बुकाँध, पाँचला लगायतका गाविसमा गएर उनीहरूले आफ्नो ढाल–तरबार नाच निकै कलात्मक ढङ्गले प्रस्तुत गर्थे । ढाल–तरबार खेल्नकै लागि एक पटक सुर्खेतसम्म पुगेको स्मरण गर्छन् उनीहरू ।
‘हामीले पनि हाम्रा पुर्खाबाटै यो नाच (खेल) सिकेका हौँ,’ हाल ठाटीकाँध गाउँपालिका–१ का देवी बुढाले भने, ‘यो हाम्रो परम्परा, संस्कृति हो । यसको महत्त्व बेग्लै छ ।’
कहिल्यै नदेखेका मान्छेका लागि यो नाच र कला अनौठो हुने उनले सुनाए । यो नाचलाई स्थानीय बुढापाकाहरू ‘सरम नाच’ पनि भन्छन् ।
विशेषगरी विवाह, व्रतबन्ध, न्वारन, भुवो तथा भस्सो, शुभ कार्य र उत्सवहरूमा यो नाच प्रस्तुत गरिन्छ । चाडपर्व, त्यसमा पनि दसैँदेखि तिहारसम्म कर्णालीका विभिन्न ठाउँमा भुवो तथा भस्सी जात्रा लाग्छन् । ती जात्रामा कुनै बेला यो नाच नै आकर्षणको केन्द्र हुन्थ्यो ।
पश्चिम दैलेखका ठाटीकाँध, सात्तला लगायतका ठाउँमा भैलो तथा भस्सी जात्रा लगाइन्छ । ती जात्रामा यो नाच प्रस्तुत हुने गरेको बुढाको भनाइ छ ।
अर्का खेलाडी नामबहादुर शाही गाउँघरमा दमाहा र ढाल तरबारको खोजी हुन थाल्यो भने कुनै शुभकार्य हुन लागेछ भनेर कुनै बेला बुझ्ने गरिएको स्मरण गर्छन् । उनका अनुसार त्यो बेला अहिलेको जस्तो प्रविधिको विकास भइसकेको थिएन । अझ विवाह र कसैको घरमा न्वारन भयो भने ढाल–तरबार नाच अनिवार्यजस्तै हुन्थ्यो ।
यो नाच परम्परागत सांस्कृतिक सम्पदा तथा मौलिक संस्कृतिकै रूपमा रहेको शाहीले बताए । यद्यपि पछिल्लो समय यो लोप हुँदै गइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।
७० को दशक अघिसम्म पश्चिम क्षेत्रमा ढाल तरबार नाच निकै प्रख्यात थियो । जब सबैमा प्रविधिको सहज पहुँच पुग्यो, बिस्तारै यो नाच लोप हुँदै गएको शाही बताउँछन् । ०७० को दशक यता फाट्टफुट्ट कसैको विवाहमा ढाल–तरबार नाच खेलाइए पनि पहिलेजस्तो रौनक नरहेको उनको भनाइ छ ।
‘अहिले सबैका हातहातमा मोबाइल छन्, विवाहमा नाचका लागि डीजे छन्,’ स्थानीय इतिहासका जानकार भूपाल विक्रम शाह भन्छन्, ‘प्रविधिले हाम्रा लोक संस्कृतिहरूमाथि अतिक्रमण गर्यो ।’
आधुनिकताको नाममा लोक संस्कृति हराउँदै गएकोप्रति उनी चिन्ता व्यक्त गर्दछन् । ग्रामीण भेगहरूमा प्रविधि नपुग्दासम्म विवाह तथा शुभकार्यमा रमाइलोका लागि ढाल–तरबार, देउडा नाच प्रख्यात थियो । देउडा संस्कृति पछिल्लो समय आधुनिक तरिकाले विकसित भइसक्दा ढाल–तरबार नाच भने लोपोन्मुख अवस्थामा छ ।
यो संस्कृति विशेषगरी कर्णाली तथा सुदूरपश्चिमका ठकुरी, क्षेत्री र दलित समुदायमा प्रख्यात छ । ढाल–तरबार नाच पुरुषहरूले मात्रै खेल्छन् । हुम्लाका केही क्षेत्रमा ठकुरी, क्षेत्री, थपाल्या, व्यासी जाड थपाल्या र दलितहरूले विशेष अवसरमा खेल्ने गरेको इतिहासका अनुसन्धानकर्ता डा. दीपेन्द्र रोकाया बताउँछन् ।
कालिकोट, जुम्ला, मुगु र डोल्पाका कुनै कुनै गाउँमा अझैपछि अवशेषमा रूपमा मात्रै बाँकी छ यो नाच । कालिकोटको खाँडाचक्र नगरपालिका–१, का धर्मराज ताम्राकार ढाल तरबार एउटा ऐतिहासिक खेल भएको बताउँछन् । लोपोन्मुख अवस्थामा रहेको यो संस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको मत छ ।
यो संस्कृति पुस्तान्तरण हुन नसक्नु पहिलो कारण हो– ५० वर्ष उमेर समूहभन्दा मुनिका युवा समूहमा यो संस्कृतिबारे खासै रुचि छैन । युवापुस्तामा संस्कृतिको विकास र संरक्षणमा चासो नभएको ढाल–तरबार खेलाडी शाही बताउँछन् ।
‘अहिलेको युवा पुस्ता डिस्को डान्स, क्लब तथा मोडर्न गीतहरूमा रम्न चाहन्छ तर आफ्नो संस्कृतिप्रति चासो दिँदैन,’ उनले भने, ‘संस्कृति इतिहाससँग जोडिन्छ । संस्कार र संस्कृति नभएको समाज त अपाङ्गजस्तै हुन्छ ।’
- ढाल–तरबारका तरिका र दमाहाको ताल
ढाल–तरबार खेलाडीले नाच प्रदर्शन गर्नुपूर्व सबै खेलाडीका ढाल र तरबार एकै ठाउँमा राख्ने गरिन्छ । वरिपरि खेलाडीहरू हुन्छन् । उनीहरूले ढाल र तरबारमा पुष्प, चामल र दक्षिणा राखेर पूजा गर्छन् । पूजा गर्ने बेलादेखि दमाहा बजाउन सुरु हुन्छ ।
त्यसपछि मात्रै ढाल–तरबार नाच तथा खेल प्रदर्शन गर्ने गरिन्छ । खेलाडी देवी बुढाका अनुसार दमाहाको तालमा मात्रै ढाल–तरबार खेलिन्छ ।
ढाल–तरबारसँग सम्बन्धित दमाहाका दुईवटा बाजा हुन्छन्:
पहिलो, सरमे बाजो । ढाल तरबार नाचलाई श्रम नाच भन्ने हुँदा यसलाई स्थानीयले सरमे बाजो पनि भन्छन् । यो बाजा वर्षमा जतिबेला (विवाह, व्रतबन्धदेखि सबै शुभ कार्य, उत्सवमा) बज्छ ।
दोस्रो, भुवो बाजो । यो बाजा भनेको वर्षमा एक दिनमात्रै बज्छ । चाडपर्वको अवसरमा लाग्ने भुवो तथा भस्सी जात्रा (पर्व)मामात्रै यो बाजा बज्ने गर्दछ । उक्त दिन एकातिर दमाहाको लाइन र अर्कातिर ढाल–तरबार खेल्नेहरूको लाइन हुन्छ ।
त्यसमा पनि तीन वटा नाच तथा खेल प्रदर्शन हुन्छन् ।
घा खेल्ने : यो ढाल तरबार सबैभन्दा उत्कृष्ट नाच हो । यो विशेषगरी दुई जनाबिच खेलिन्छ । निकै कलात्मक र तरबार नचाउन सक्ने खुबी खेलाडीमा हुन्छ । खेलाडीले निकै आकर्षक ढङ्गले तरबार नचाउने हुँदा तरबार नाच भन्ने गरिएको हो । यो खेल १०–१५ मिनेटको हुन्छ । दमाहाको तालमा बिस्तारै सुरु गरेर पछि निकै छिटोछिटो तरबार नचाउने, ढालले छेक्ने गरिन्छ ।
एउटा थाकेको खण्डमा बिचमा अर्को व्यक्तिले पनि पालो दिन्छन् । यद्यपि तरबारले भने कसैलाई छुन हुँदैन । ‘त्यो युद्ध कलाजस्तै हो । तरबारले व्यक्तिलाई छोयो भने त्यो राम्रो मानिँदैन,’ खेलाडी नामबहादुर शाही भन्छन् ।
अन्तिममा भने ठुला (उमेर, नाता) बाट आशीर्वाद पाउने र सानाले ढोग दिने गरिन्छ । यो एउटा संस्कार हो ।
चौडाल : यो पनि निकै आकर्षक हुन्छ । यो एकातिर दमाहा बजाउनेहरूको लाइन हुन्छ भने अर्कातिर ढाल–तरबार खेल्नेहरूको । त्यसमा दमाहा र खेलाडीको पैतला, ढाल र तरबारको ताल मिल्नुपर्छ । लामो लाइनमा घुम्ने, उठ्ने, बस्ने गरिन्छ । यो एउटा ठाउँबाट अर्को ठाउँसम्म जाने बेलामा हिँड्दै खेल्दै गरिन्छ ।
फड्को : यो ठुलो समूहमा दमाहा र खेलाडीहरूबिच खेलिन्छ (एउटै ठाउँमा) ।
ढाल–तरबार नाच प्रस्तुत गरेको उपलक्ष्यमा खेलाडीहरूलाई एउटा ‘खसी’ अर्थात् केही न केही खानेकुरा दिएर सम्मान गर्ने चलन छ ।
- ढाल तरबार नाचको इतिहास
इतिहासविद्हरूका अनुसार यो मूलतः बहादुरीको विम्ब हो । इतिहासको कुनै कालखण्डमा कर्णालीका विभिन्न ठाउँमा साना–ठुला राज्य थिए ।
त्यहीबेला एउटा राजाका सैनिकले अर्काको राज्यमाथि आक्रमण गर्ने र विजेताले उत्सव मनाउने चलन थियो । इतिहासका अनुसन्धानकर्ता डा. दीपेन्द्र रोकायाले भने, ‘राज्य त्यसै आएको होइन भन्ने सान हो । यसभित्र शासकीय र बहादुरीको इतिहास हुन्छ । यसबारे ठाउँ अनुसार तर्क र तथ्य पेस गर्ने, गराउने चलन छ ।’
यद्यपि यो कुन बेलादेखि सुरु भएको हो भन्नेबारे एकमत छैन । इतिहासकार राजाराम सुवेदीले कर्णालीको विषयमा लेखेका केही पुस्तकलाई उद्धृत गर्दै तयार गरेको पुस्तकमा राजा मलय बम्म (राष्कोटी राजा) को समयदेखि सुरु भएको उल्लेख छ ।
मलय बम्म कालिकोटकै रास्कोटबाट मान्म आएर वि.सं. १४३२ देखि १४४८ सम्म खाँडाचक्रमा जुम्ला राज्यसमेत कब्जा गरी आधिपत्य जमाएका थिए । खाँडाचक्रमा चाप वंशी राष्कोटीको खस साम्राज्य चलाएका थिए उनले ।
उनै मलय बम्मले कालिकोटकै लुहारेकोट भनिएको ठाउँमा लुहारहरूको बस्ती व्यवस्थापन गरी एक जना दलित समुदायका व्यक्तिलाई लडाइँमा मार हान्न मिल्ने हतियार बनाउन लगाए । यस क्रममा दुवैतिर धार भएको सिरूपाते खाँडो नामको हतियार तयार भयो । (जो कर्णालीको मौलिक नयाँ खाले हतियार थियो) । त्योसँगै अर्काको हतियारलाई छेक्न मिल्ने ढाल आकारको गोलो चक्रे हतियार पनि बनाए ।
भारतको जोतपुरबाट आएका औरंग मुसलमानी राजा रत्न ज्योतिले स्थापना गरेको तौरता डोटी राज्यसमेत यसै खाँडोको प्रयोगबाट कब्जा गरी मलय बम्मले पुर्खाको उदयस्थल कैलाशको मानसरोवरमा पुगी खाँडो पखालेर विजय यात्रा गरेका थिए ।
विद्रोहीमाथि ढाल र तरबारबाट विजय हासिल गरेकाले त्यही समयबाट ढाल–तरबार अर्थात् श्रम नाचको सुरुवात भएको बताइन्छ ।
पछि विजय उत्सव, चाडवाड र राजाको बिदाइ सम्मान समेतमा यसै हतियारलाई खेलाएर नाच्ने परम्परा कर्णालीमा निरन्तर भएबाट देश देशावरमा फैलिएको उल्लेख छ । इतिहासकार सुवेदीले उक्त कुरा मान्मकै केही पुराना व्यक्तिहरूलाई उद्धृत गर्दै लेखेका छन् ।
दुल्लुका इतिहासकार भुपाल विक्रम शाहले पनि यो कुरा स्वीकार गरे । यो कुरा आफूले राष्ट्रगुरु योगी नरहरिनाथबाटै सुनेको उनले बताए । शाहका अनुसार ०४५ सालमा योगी नरहरिनाथकै पहलमा नाभीस्थानमा महायज्ञ लागेको थियो । त्यहाँ पनि ढाल–तरबार नाच प्रस्तुत गरिएको र योगी नरहरिनाथले पनि मलय बम्मकै समयमा यो सुरु भएको बताएका थिए ।
जुम्लाका इतिहासकार रमानन्द आचार्य पनि यो तर्कसँग सहमत देखिन्छन् । इतिहासविद् प्रेम कैदी त्योसँगै त्यतिबेलाका विभिन्न (कर्णाली किनाराका) राजाहरूले युद्ध जितेपछि पर्व मनाइहाल्ने भएकाले खुसीमा यो परम्पराको सुरुवात भएको बताउँछन् । यसलाई धार्मिक दृष्टिकोणबाट पनि हेर्न मिल्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
-
भारतीय किशोर सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन
-
अमेरिकन डलरसहित युवक पक्राउ
-
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्न : मुख्यमन्त्री कँडेल
-
कास्की अदालतमा सूर्य थापामाथि खनिए रवि, योजनाअनुसार प्रतिवेदन लेखेको आरोप
-
१० बजे १० समाचार : दुर्गा र रविको हिरासतमै बासदेखि ‘दुई नम्बरे उपकुलपति’को आरोपसम्म