शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय
शोषण

‘काठमाडौँबाट दुबई र ओमानमा बेचिएँ, १८ महिनासम्म बलात्कृत भएर फर्किएँ’

आइतबार, २७ असोज २०८१, ०७ : २३
आइतबार, २७ असोज २०८१

काठमाडौँ । काठमाडौँमा छोरी हुर्काएर बसेकी ३० वर्षीय अस्मिता (नाम परिवर्तन) विदेश जाने सपना बोकेर दलालको सम्पर्कमा पुगिन् । युनाइटेड अरब इमिरेट्स (युएई) मा मासिक ४० हजार तलब र खान–बस्न निःशुल्क व्यवस्था हुने आश्वासन पाएपछि छोरीको भविष्य उज्ज्वल बनाउन उनले बिदेसिने निधो गरिन् ।

आर्थिक अवस्था कमजोर भएकी एकल महिला अस्मिता २०७९ जेठ १६ मा मा युएईतर्फ उडिन् । जानुअघि आफूले कृष्ण अधिकारी नामका व्यक्तिलाई ऋण खोजेर दुई लाख रुपैयाँ बुझाएको उनले बताइन् । तर, विदेश गएपछि उनी थप समस्यामा परिन् ।

काठमाडौँबाट दुबई पुगे पनि उनले काम पाइनन् । पठाउने व्यक्तिले जोडिदिएका सम्पर्क सूत्रले युएईको अजमानस्थित फ्ल्याटमा उनलाई बन्धक बनाए ।

‘विवाह गर्छु’ भनेर उनलाई बलात्कार गरे । पेटमा बच्चाको आकृति देखिएपछि काठमाडौँमा गर्भपतन गर्न पठाए । फर्केर बल्खुस्थित बयोधा अस्पतालमा आएर उनले गर्भपतन गराइन् । ‘दलाल’ले फेरि युएई बोलाउँदै भने, ‘फर्केर आऊ, तिमीलाई कुवेत पठाइदिन्छु ।’

कुवेतमा ७ महिना बन्धक बनेर आफन्त मार्फत १५ सय केडी बराबरको नेपाली रुपैयाँ ६ लाख ७५ हजार बुझाएर उनी त्यहाँबाट मुक्त भइन् ।

अस्मिता गर्भपतन गराएर दोस्रोपटक २०७९ फागुन १२ मा युएई उडिन् । युएई पुगेपछि त्यहाँ उनलाई पहिले बलात्कार गरेका पुरुषले भने, ‘कुवेतमा क्लिनरको काम मिलाइदिन्छु, त्यहाँ जाऊ, १५० कुवेती दिनार (केडी) कमाइ हुन्छ ।’

अस्मिता कुवेत लागिन् । २०८० वैशाख २८ मा उनी कुवेत पुगेर अजीत नामका श्रीलङ्कन नागरिकलाई भेटिन् । अजीतले पासपोर्ट जफत गरे । ‘मैले १५ सय केडीमा किनेको हुँ । जे भन्छु, त्यही गर, नत्र जेलमा सडाइदिन्छु,’ उनले अस्मितालाई भने ।

अब, उनी कुवेतमा बलात्कृत हुन थालिन् । उद्धार गरिदिन सबैतिर हारगुहार गरे पनि कसैले सुनेनन् ।

कुवेतमा ७ महिना बन्धक बनेर आफन्त मार्फत १५ सय केडी बराबरको नेपाली रुपैयाँ ६ लाख ७५ हजार बुझाएर उनी त्यहाँबाट मुक्त भइन् ।

काठमाडौँ आएर २०८१ जेठ ३१ मा उनले प्रहरीको मानव बेचबिखन ब्यूरोमा जाहेरी दिइन् । उनलाई दुबई पठाउनेमध्येका कृष्ण अधिकारीलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको ब्यूरोका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए । अस्मितालाई दुबई र कुवेतमा बन्धक बनाउने र बलात्कार गर्नेहरू फरार छन् ।

  • बेचिएर दुबई र ओमान पुग्दा अस्मिताले झेलेका व्यथा उनकै शब्दमा :

म एकल आमा भइ छोरी हुर्काएर बसेको थिएँ । आर्थिक अवस्थाको कारण राम्रो अवसर आए वैदेशिक रोजगारमा जानेबारे आमासँग परामर्श गरेँ । परामर्श गर्ने क्रममा कृष्ण अधिकारीमार्फत कुवेत गएकाहरूले ‘एकपटक निजलाई फोन गर न’ भनेपछि मैले फोन गरेर चिनजान गरेँ । अधिकारीले ‘मैले धेरै वर्ष अघिदेखि मानिसहरूलाई वैदेशिक रोजगारमा पठाएको छु, तपाईं पनि जाने भए आउनु’ भने । २०७९ सालको चैत दोस्रो साता उनले सातदोबाटोस्थित कोठामा बोलाए । युएई पठाएर कम्पनीमा काम लगाइदिने, मासिक तलब ४० हजारसम्म हुन्छ, लागत खर्च दुई लाखसम्म लाग्छ भने ।

कृष्ण अधिकारीले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत अर्का एक जना युवकलाई परिचय गराए । ती युवकले मेरो मोबाइल नम्बर मगेर भने, ‘म तपाईंलाई एक हप्तापछि अन्तर्वार्ता लिन्छु, थप कुरा त्यतिबेलै गरौँला ।’

मेरो अन्तर्वार्ता भयो । अन्तर्वार्तामा उनले मलाई पढाइ, बच्चा, परिवार र श्रीमानको बारेमा सोधे । मैले पार्लरको काम पनि सिकेको छु भन्दा उनले यहाँ पार्लरको काम होइन, दुबईमा मेरो गर्ल्स होस्टल छ । त्यहाँ काम लगाइदिन्छु भने । आफू त्यहाँ नबस्ने र आफ्नो अफिस ओमन र कुवेतमा पनि भएको बताउँदै ती युवकले ‘म कहिलेकाहीँ रेखदेख गर्न आउँछु । होस्टेलमा बस्ने महिलाहरूको रेखदेख गर्ने, निजहरूलाई खाना बनाउने, झाडुपोछाको काम गर्नुपर्छ’ भने ।

आफू नभएको बेलामा अफिसको काम पनि हेरदिनुपर्ने बताउँदै ती युवकले मलाई ३५ हजार तलब र खाना बस्न निःशुल्क हुने कुरा बताए ।

छोरीको भविष्य सोचेर दुबईबाट नेपाल फर्केर बल्खुमा रहेको बयोधा अस्पतालमा १९ फेब्रुअरी २०२३ मा गर्भपतन गराएँ ।

‘विदेश जानलाई लाग्ने खर्च छिटो व्यवस्था गर, अब छिटै उड्ने हो’ भनेपछि मैले कृष्ण अधिकारीलाई सातदोबाटोमा गएर २ लाख रुपैयाँ बुझाएँ । २०७९ जेठ १६ मा म युएई उडेँ । दुबई एयरपोर्टमा मलाई रिसिभ गर्न अन्तर्वार्ता लिने व्यक्ति आए । अजमान भन्ने ठाउँको फ्ल्याटमा लगे । त्यहाँ अरू १० जना नेपाली दिदी–बहिनी थिए । मलाई निजले आफू बस्ने फ्ल्याटमा लुगा धुने, खाना बनाउने र केटीहरू रेखदेख गर्न लगाए । त्यसबिचमा उनले मलाई विभिन्न किसिमले छुने र शारीरिक सम्पर्कको प्रस्ताव गरेपछि म रिसाएँ ।

‘गलत काम गर्न आएको होइन, मलाई छिटो कम्पनीका काम लगाइदिनुहोस्’ भन्दा नलगाएपछि नेपालमा रहेका कृष्ण अधिकारीलाई फोन गरेर सुनाएँ । उनले केही वास्ता गरेनन् ।

बिस्तारै ती पुरुषले ‘म तिमीलाई माया गर्छु, हामी बिहे गरौँ, म तिम्रो घरको सबै जिम्मेवारी लिन्छु । हामी श्रीमान्–श्रीमती हो भन्ने कागज बनाइसकेको छु’ भनेर युएईमा विवाह दर्ता गरेको कागज देखाए र ललाई फकाई विश्वासमा पारे । कानुन अनुसार पति–पत्नी भइसकेको र मेरो पासपोर्टसमेत उसैसँग भएको हुनाले आफूखुसी कतै गइहाल्यो भने प्रहरीले समातेर जेल हाल्छ भन्दै डर त्रास देखाउँदै मामाथि यौन शोषण गर्न थाले ।

नेपालमा फोन गरेर कृष्ण अधिकारी र निजको सहयोगी मिना कार्कीलाई यौन शोषण गर्न थालेको कुरा बताइ पटकपटक आफूलाई कि उद्धार गरिदिनु, नभए अर्कै ठाउँमा काममा लगाइदिनु भनी हारगुहार गर्दा पनि निजहरूले केही वास्ता गरेनन् । म ती पुरुषले भने अनुसार गर्न बाध्य भएँ ।

मेडिकलमा चेकअप गर्दा म गर्भवती भएँछु । मैले आधिकारिक रूपमा नेपाल गएर नै बिहे गर भन्दा उसले ‘घरको आर्थिक अवस्था राम्रो छैन, दुई जना बच्चा छन् । श्रीमतीलाई भन्न पनि गाह्रो हुन्छ’ भन्न थाले ।

उनले ‘चार–पाँच वर्षमा सबैकुरा मिलाएर तिमीसँग बिहे गर्छु, तिम्रो छोरीलाई पनि पढाउन बाहिर पठाउँछु । अहिले बिहेको कुरा नसोच । पेटमा भएको बच्चालाई अहिले जन्माउनु हुँदैन । नेपालमा गएर बच्चा फालेर आऊ, टिकट बनाइदिन्छु’ भनेर मलाई नेपाल पठाए ।

छोरीको भविष्य सोचेर दुबईबाट नेपाल फर्केर बल्खुमा रहेको बयोधा अस्पतालमा १९ फेब्रुअरी २०२३ मा गर्भपतन गराएँ । गर्भपतन गराउँदा कृष्ण अधिकारीको छोरी मनिषा अधिकारीलाई बोलाइ साक्षी राखेको छु ।

गर्भपतन गराएपछि लाग्यो– जिन्दगी यस्तै रहेछ । अब विदेश जान्नँ ।

मैले मेरो ज्यान नै जाने सम्भावना देखेर नेपालबाट आफन्तमार्फत रकम झिकाइ १५ सय केडी (६ लाख ७५ हजार नेपाली रुपैयाँ) बुझाएँ । त्यसपछि उनीहरूले मेरो राहदानी फिर्ता दिए ।

तर, मलाई गर्भवती बनाउनेले पुनः दुबई आउन पटक–पटक अनुरोध गरे । म पुनः २०७९ फागुन १२ मा युएई गएँ ।

ती पुरुषले मलाई दुबईमा भन्दा कुवेतमा गएर काम गर, क्लिनरमा राम्रो तलब हुने काम खोजिदिन्छु भने । उनले भनेका थिए, ‘१५० केडी कमाइ हुन्छ ।’

म कुवेत जान तयार भएँ । २०८० जेठ ५ मा म कुवेत ओर्लिएँ । त्यहाँ अजीत नामको श्रीलंकनले चलाएको एजेन्ट कार्यालयमा गएँ । मेरो पासपोर्ट जफत गरे, कार्यालयमै बन्धक बनाए । मजस्ता अरू २२ जना थिए । राम्रोसँग खाना पनि पाइँदैनथ्यो ।

मैले मसँग भएको पैसाले केही समय खानेकुरा किनेर खाएँ । बिस्तारै पैसा पनि सकिएपछि खानाको जोहो गर्न निकै कठिन भयो । हामीलाई बन्धक बनाउनेहरूको विरुद्धमा बोल्न सक्ने अवस्था थिएन । त्यहाँ ३ महिना राखेपछि प्रहरीको चेकिङ हुन थल्यो । म लगायत ११ जनालाई छुट्टै भाडामा लिएको कोठामा राखी बाहिरबाट ताला लगाएर राख्न थाले ।

कोठाभित्र बन्धक बनाएर अजीतले म समेतलाई यौनशोषण गर्न थाले । मैले श्रीलंकनसँग विवाद हुँदा भनेँ, ‘यत्रो समय भइसक्यो, किन काममा नलगाएको ?’ श्रीलंकनले जवाफ दिए, ‘तिमी धेरै हल्ला नगर, हामीले भनेको मान । होइन भने राम्रो हुन्न । तिमीलाई नेपालको पुरुषले १५ सय केडीमा बेचेर गएको छ । धेरै हल्ला गरेमा यतैको जेलमा सडाइदिन्छु ।’

मैले नेपाल फर्किन पटकपटक गुहार गरेँ । त्यहाँ पठाउने पुरुषले मलाई भने, ‘नेपाल फर्किने भए १५ सय केडी बुझाउनुपर्छ, होइन भने चुप लागेर बस् । तँलाई मैले साइड लगाउन त्यहाँ पठाएको हुँ ।’

मैले मेरो ज्यान नै जाने सम्भावना देखेर नेपालबाट आफन्तमार्फत रकम झिकाइ १५ सय केडी (६ लाख ७५ हजार नेपाली रुपैयाँ) बुझाएँ । त्यसपछि उनीहरूले मेरो राहदानी फिर्ता दिए ।

आफन्तको सहयोगमा टिकट काटेर २०८० मङ्सिर ३ मा नेपाल फर्किन सफल भएँ ।  कमजोर आर्थिक, शैक्षिक अवस्था तथा नाजुक परिस्थितिको फाइदा उठाएर उनीहरूले मलाई बेचे, शोषण गरे । युएईमा नेपालबाटै गएका एजेन्टले ११ महिना आफैँसँग राखी बिहे गर्ने तथा श्रीमतीकै दर्जा दिने आश्वासन दिई ममाथि पटकपटक यौन शोषण गरे । कुवेतमा दुई स्थानमा ७ महिना बस्दा पटकपटक म यौन शोषणको सिकार भएँ ।

वैदेशिक रोजगारमा जाने सपना देखेको १८ महिना मैले ‘नारकीय’ जीवन बिताउन बाध्य भएँ । बलात्कृत भएर फर्किएँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप