दिवा खाजा कार्यक्रम : बिचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् भने बिचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो ।
आर्थिक रूपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढ्ने गरेका छन् । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजाँदा पढाइ प्रभावित हुँदै आएको थियो । “कक्षा दोहर्याउने, बिचमै विद्यालय छाडने र कक्षामा नियमति विद्यार्थी नआउने समस्या विगतमा थियो” विद्यालयका दिवा खाजा व्यवस्थापन गर्दै आएका श्रोत शिक्षक डवलबहादुर ठगुन्नाले भने, “दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन् ।”
उनका अनुसार नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थीलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी रु १५ का दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्नाले बताए ।
विद्यालयमा अध्ययनरत तीन सय १० जना विद्यार्थीलाई आइतबार खिर, सोमबार दालभात, मङ्गलबार फ्राइ गरिएको चना, बुधबार अण्डा राखिएको राइस फ्राई, बिहीबार खिचडी र शुक्रवार फलफूल खुवाइने गरिन्छ । खाजा खुवाउने र भान्सा सरसफाइको कार्यका लागि एक जना भान्सेको पनि व्यवस्था गरिएको छ ।
विद्यालयमै खाजा पाइन्छ भनेर विद्यार्थी नियमित विद्यालय आउने र दिनभर कक्षामा बस्ने गरेको विद्यालयका शिक्षक अमरबहादुर महराले बताए ।
यो सँगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यान्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर(फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ ।
दिवा खाजाको खर्च आम्दानीको विवरण हरेक तीन/तीन महिनामा शिक्षक स्टाप बैठक बसेर अनुमोदन गरी आवश्यक राय सुझावहरुलाई कार्यान्वयनमा लैजाने गरिन्छ । दिवा खाजाका लागि विद्यालयले वार्षिक योजना बनाई कार्यान्वयनमा गर्दै आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पन्तले बताए ।
विद्यालयमा दिवा खाजा कार्यक्रमसंगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदायिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमुना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशीले बताए ।
दिवा खाजाका लागि प्रति विद्यार्थी रु १५ का दरले वर्षमा जम्मा एक सय ८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ ।
दिवा खाजामा प्रोटिन, चिल्लो पदार्थ, आयोडिन, जिङक, भिटामीन ए लगायत समावेश गरिएको हुनु पर्छ । प्रति विद्यार्थीलाई दिवा खाजा एक सय ५० देखि दुई सय ग्राम सम्म उपलव्ध गराउनु पर्ने प्रावधान रहेको छ ।
नगरपालिकामा ६५ बाल विकास केन्द्रमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२ सामुदायिक विद्यालय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिभी र रेडियो सन्देशमा सिरियाका विद्रोही नेताहरुले के भने ?
-
पार्टी एकताका लागि माओवादीले कुन–कुन दलसँग वार्ता गरिरहेको छ ?
-
हिंसा अन्त्य गर्न मर्यादित महिनावारी दिवस मनाइयो
-
लोअर इर्खुवा हाइड्रोको आईपीओ प्रत्याभूति सम्झौताकर्तामा नागरिक लगानी कोष
-
रवि लामिछानेविरुद्ध चार दिन म्याद थप
-
संविधान बनेको ९ वर्ष भइसक्दा समेत थारु र मुस्लिम कोटा निजामती ऐनमा आएन : मन्त्री चौधरी