नेपाल प्रिमियर लिग क्रिकेट : भारतका नन्दन लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षक
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले नन्दन फाडनिसलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
उनले लामो समय भारतको गोवा क्रिकेट संघमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनी भारतका पूर्वक्रिकेटर पनि हुन् । उनले सन् १९८६ देखि सन् १९९९ सम्म थुप्रै प्रथम श्रेणीको क्रिकेट र लिस्ट ‘ए’ क्रिकेट खेलेका थिए ।
आफ्नो समयका चर्चित विकेटकिपर ब्याट्सम्यान नन्दनले महाराष्ट्र क्रिकेट टोलीबाट रणजी ट्रफी पनि खेलेका थिए । उनले भारतको नेशनल क्रिकेट एकेडेमीमा पनि काम गरिसकेका छन् । उनले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा रहेर पनि काम गरिसकेका छन् ।
उनले आगामी एनपीएलका लागि लुम्बिनी लायन्समा प्रमुख प्रशिक्षकको भूमिकामा जोडिन पाउँदा निकै खुसी लागेको बताए । रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि उनले ब्यक्त गरे ।
लुम्बिनी लायन्सका मालिक इश्वर जीसीले नन्दनलाई प्रमुख प्रशिक्षकका रुपमा भित्राउन पाउँदा आफूहरु निकै उत्साही बनेको बताएका छन् । उनको प्रशिक्षकत्वमा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि क्लबले लिएको छ ।
लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको क्लब हो । फरच्युना हेल्थ केयर प्रालीले लुम्बिनी लायन्सलाई एक करोड ८६ लाख चार रुपैयाँमा खरिद गरेको हो । लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल हुन् । उनी नेपाली राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।
हालै काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा लुम्बिनी लायन्सले तीन खेलाडीका लागि अधिकतम १५–१५ लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्स क्लबले १५ लाख रुपैयाँमा खरिद गरेको खेलाडी सूर्य तामाङ, विवेक यादब र सन्दीप जोरा हुन् ।
यसैगरी, अक्सनमा लुम्बिनी लायन्सले दुई खेलाडीका लागि १०–१० लाख रुपैयाँ खर्चिएको थियो । लुम्बिनी लायन्सले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । दुर्गेस गुप्ताका लागि भने लुम्बिनी लायन्सले आठ लाख रुपैयाँ खर्चिएको थियो ।
यसका अतिरिक्त, लुम्बिनी लायन्सले अर्जुन साउदलाई पाँच लाख रुपैयाँ र दिनेश अधिकारीलाई दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको थियो । लुम्बिनी लायन्सले अभिशेष गौतम र विकास आग्रीलाई दुई–दुई लाख रुपैयाँमा किनेको थियो । अक्सनमा लुम्बिनी लायन्सले कुल ८४ लाख ७५ हजार रुपैयाँ खर्च गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो