शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय
तीन कविता

ओमप्रकाश वाल्मीकिका तीन कविता

शनिबार, १० कात्तिक २०८१, १७ : ३०
शनिबार, १० कात्तिक २०८१

३० जुन १९५० मा भारत उत्तर प्रदेशको मुजफ्फरनगरमा जन्मिएका कवि ओमप्रकाश वाल्मीकि भारतीय हिन्दी साहित्यमा सशक्त कवि मानिन्छन् । दलित अस्मिता र दलित जीवनको सौन्दर्यलाई आफ्ना रचनाको केन्द्रमा राख्ने उनी दलित साहित्यका प्रतिनिधि भारतीय रचनाकार हुन् । सन् ८० को दशकबाट लेखन आरम्भ गरे पनि ९० को दशकमा प्रकाशित उनको आत्मकथा ‘जूठन’ले उनलाई प्रसिद्ध बनायो । कविता मूल विधा भए पनि कथा, नाटक र अनुवादबाट उनले आफूलाई अभिव्यक्त गर्नबाट रोक्न सकेनन् । १७ नोभेम्बर २०१३ का दिन देहरादुनमा उपचारका क्रममा ६७ वर्षको उमेरमा क्यान्सरका कारण उनको निधन भयो । 

om prakash balmiki

‘सदियों का संताप’, ‘बस बहुत हो चुका’, ‘अब और नहीं’, ‘शब्द झूठ नहीं बोलते’ उनका कविता संग्रह हुन् । ‘छतरी’, ‘सलाम’, ‘अम्मा एन्ड अदर स्टोरिज’, ‘घुपैठिए’ उनका कथा संग्रह हुन् । त्यसैगरी ‘दो चेहरे’, ‘उसे वीर चक्र मिला था’ उनका नाटक हुन् । यसका साथै ‘दलित साहित्य का सौन्दर्य शास्त्र’, मुख्यधारा और दलित साहित्य’, ‘सफाई देवता’ उनका अन्य रचना हुन् । रातोपाटीका लागि पत्रकार नरेश ज्ञवालीले अनुवाद गरेको ओमप्रकाश वाल्मीकिका तीन कविता ः 

१) मालिकको इनार

चुलो माटोको
माटो पोखरीको
पोखरी मालिकको ।

भोक रोटीको
रोटी कोदोको
कोदो बारीको
बारी मालिकको ।

गोरु मालिकको
हलो मालिकको
अनौ समाउने हात आफ्नै
तर अन्न मालिकको ।

इनार मालिकको
पानी मालिकको
खेत–बारी मालिकको
गल्ली र टोल मालिकको
त्यसो भए आफ्नो के त ?
गाउँ ?
सहर ?
देश ?

 
२) उनीहरू भोका छन्

उनीहरू भोका छन्
तर मान्छेको मासु खाँदैनन्
तिर्खाएका छन्
तर रगत पिउँदैनन्
नाङ्गै छन्
तर अरुलाई नङ्ग्याउँदैनन्
टाउकोमाथि छानो छैन
तर अरुका लागि छानो बनाउँछन् ।

३) मेरा पुर्खाहरू

तिमीले भन्यौ—
ब्रह्मको खुट्टाबाट जन्मिए शूद्र
र टाउकोबाट ब्राह्मण
उनीहरूले एक आखर सोधेनन्–
ब्रह्म कहाँबाट जन्मिएका हुन् ?

तिमीले भन्यौ—
सेवा नै धर्म हो शूद्रको
उनीहरूले एक आखर सोधेनन्—
यसको सट्टा के दिन्छौँ ?

तिमी मखलेल थियौ—
गुलामी पाएर
उनीहरू खुसी थिए
तिम्रो आनन्द देखेर
सुम्पिएर आफ्नो सम्पूर्ण शक्ति
तिम्रो हातमा ।

आङमा छैन एकसरो
पेटमा छैन अन्न
खित्का छाडेर फेरि पनि
हाँस्थे उनीहरू
तिमी हाँसेको देखेर !

उनीहरू जान्दैनथे
षड्यन्त्र गर्न
लुट्न—
निर्बल र असहायलाई !

जान्दैनथे
हत्या गर्नु
वीरताको चिनारी हो
लुटमार अपराध होइन
संस्कृति हो ।

कति अबोध थिए उनीहरू
मेरा पुर्खा
मानवीय थिए
तर अछुत थिए ! 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओमप्रकाश वाल्मीकि
ओमप्रकाश वाल्मीकि
लेखकबाट थप