माओवादीकै कारण बिदेसिए, अहिले माओवादीबाटै गाउँपालिका अध्यक्ष उम्मेदवार
विराटनगर । आगामी मङ्सिर १६ गतेका लागि प्रदेश तथा पालिकाहरूका रिक्त जनप्रतिनिधिहरूको पदका लागि उपनिर्वाचन हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा पनि सोही मितिमा निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।
उपनिर्वाचनका लागि माओवादी केन्द्रले आफ्नो तर्फबाट नमोनारायण माझीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । कांग्रेस र एमालेले भने अझै आफ्नो उम्मेदवार तय गर्न सकेका छैनन् । निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मङ्सिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या २७ हजार ४३९ छ ।
२०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मतमात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
पालिकाको ७ वटा वडामध्ये एमालेले ४, कांग्रेसले २ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत छ ।
त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसका कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।
नमोनारायण माझी भने त्यसबेला वडा नम्बर १ बाट ८२८ मतका साथ विजयी बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सत्यनारायण चौधरीले ५१८ मत पाएका थिए । २०७९ सालको निर्वाचनमा भने वडा नम्बर १ मा कांग्रेसका सुरेशकुमार माझी ७१८ मत ल्याएर विजयी भए । यस्तै एमालेका सत्यनारायण माझीले ७०९ मत ल्याउँदा नमोनारायण माझीले ५५४ मत ल्याएका थिए ।
विगतका निर्वाचनको मतपरिणाम र सांगठनिक आधार कमजोर रहेको ठाउँमा नमोनारायणलाई पार्टीमा भित्र्याएको माओवादीले यस पटक जित निकाल्ने दाबी गरेको छ । यसै सन्दर्भमा हामीले माओवादी उम्मेदवार माझीसँग छोटो कुराकानी गरेका छौँ । प्रस्तुत छ उनीसँगको कुराकानी–
- निर्वाचन हुँदा प्रतिस्पर्धी देखिने दुई ठुला दल कांग्रेस र एमालेले उम्मेदवारी घोषणा नगर्दै तपाईंले चाहिँ उम्मेदवारी घोषणा गर्न किन हतार गर्नुभएको ?
– हतार भएको होइन । बरु ढिलो भयो । गत भदौ २९ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ग्रामथान–७, नेताचोकमा आयोजित कार्यक्रममा आउनु भएको थियो । त्यसबेला मैले एक हजारदेखि ११ सय जनासम्म कार्यकर्ता लिएर पार्टीमा प्रवेश गरेको थिएँ । त्यसैबेला नै अनौपचारिक रूपमा उम्मेदवार घोषणा भइसकेको थियो । पार्टीको आन्तरिक व्यवस्थापन गर्दागर्दै औपचारिक घोषणा हुन करिब डेढ दुई महिना लाग्यो । त्यसकारण यो उम्मेदवारी घोषणा गर्न हतार भएको होइन, ढिलो भयो । किनकि म आन्तरिक रूपमा चुनावी अभियान लिएर डेढ महिना अगाडिदेखि नै जनताको घरमा गइसकेको छु ।
- अगाडि नै उम्मेदवारी घोषणा गर्दा तपाईंले आर्थिक व्यवस्थापन धान्न सक्नु हुन्छ ?
– यो एकदमै गम्भीर विषय हो । तर, माननीय अमनलाल मोदीसहित सिङ्गो पार्टीको सहयोग मलाई छ । पहिलो पटक उम्मेदवारी घोषणा गर्दा अलिअलि खर्च भएको छ । नभए सामान्य ढङ्गले टोलटोलमा जाने, घरघरमा जाँदा धेरै खर्च हुँदैन ।
- तपाईँको राजनीतिक आबद्धताको इतिहास के हो ?
– मैले २०४५ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत महेन्द्र मोरङ क्याम्पसमा राजनीति सुरु गरेको हुँ । ०५१ सालमा मैले स्ववियुको चुनावमा नेविसंघबाट उपसभापतिको टिकट पाएको थिएँ । तर, त्यहाँ १७ मतले म पराजित भएँ । ०५४ सालमा कांग्रेसबाट लखन्तरी गाविसको अध्यक्ष उम्मेदवार भएँ । त्यसबेला मैले एमालेलाई २ मतले पराजित गरेको थिएँ । अहिलेको ग्रामथानको १ नम्बर पर्छ त्यो । ०५९ सालमा हाम्रो पदावधि सकियो । अनि माओवादी द्वन्द्व बढ्दै गयो । त्यतिबेलाको जनप्रतिनिधिको खर्च र जनप्रतिनिधिले पाउने सुविधा धेरै फरक थियो ।
त्यसबेला मलाई धेरै आर्थिक नोक्सान भयो । अर्कोतिर माओवादीको टार्गेट थियो । त्यसबेला कांग्रेसलाई छानीछानी कारबाही गर्ने अभियान माओवादीले चलाएको थियो । त्यसपछि म विदेशतिर (मलेसिया) गएँ । त्यहाँ ७ वर्ष बसेँ ।
०६७ सालमा फर्किएपछि फेरि दुबई गएँ र ४ वर्ष बसेँ । चाहनाभन्दा बढी मैले आर्थिक व्यवस्थापन गर्न सकेँ । त्यसपछि ०७४ सालमा मैले कसैलाई जिताउने सोचका साथ निर्वाचनमा लागेको थिएँ । विजयकुमार गच्छदारसँग नजिकबाट चिनिने भएकाले उहाँको उम्मेदवारलाई जिताउन आएको थिएँ । तर, यहाँ घुम्दै जाँदा मेरै माहौल देखियो । त्यसपछि म फोरम लोकतान्त्रिकबाट वडा नम्बर १ को उम्मेदवार बनेँ र धेरै मतले जितेँ । ०७९ सालसम्म मैले राम्रैसँग वडाध्यक्षको काम गरेँ । तर, विडम्बना ! कांग्रेसले मैले गर्न चाहेको काममा पनि साथ दिएन । मैले पनि उनीहरूले भनेको मानिनँ । जनताको पक्षमा काम गर्दा तपाईँहरू बाधा गर्नुहुन्छ भने म मान्दिनँ भनेँ । फेरि म २०७९ मा पालिकाको अध्यक्षको उम्मेदवारको प्रतिस्पर्धाको दौडमा थिएँ । तर, कांग्रेसले टिकट दिएन । आर्थिक चलखेल भयो ।
गाउँपालिकामा लड्दा स्वतन्त्रको माहौल थिएन । अहिले बालेन, हर्क, गोपाल हमालहरूको माहौल आए पनि त्यसबेला गाउँपालिकामा त्यस्तो माहौल नै थिएन । खर्च मात्रै हुन्छ जित्न सक्दिनँ भन्ने लाग्यो । यो मान्छे कसैलाई जिताउन र हराउन उठेको भन्ने आरोप लाग्ने देखियो ।
त्यसपछि मैले आफू वडामा जित्छु भनेर उठेँ । किनकि म घरघर चिन्दथेँ । मैले काम गरेको थिएँ । त्यसपछि मैले स्वतन्त्र उम्मेदवारी दिएँ । माहौल राम्रो पनि थियो । तर, अन्तिम समयमा यो मान्छेले जितेर के हुन्छ र ? बजेट ल्याउन सक्दैन, केही गर्न सक्दैन भनेर प्रचार भयो र मलाई हराइयो । म तेस्रो भएँ । तर, त्यसपछि मेरो क्रेज भने बढिरहेको छ । अहिले पालिकाको जुन क्रियाकलाप छ, । वडाले जनताको काम नगर्ने, पालिकाले सेवाग्राहीलाई हप्कीदप्की गर्ने, नानाथरी भन्ने, मुद्दा लगाइदिने खालको काम भयो । त्यसको विषयमा मैले विरोध गर्दै आएँ । त्यसपछि माहौल बढ्दै गएको छ । त्यसपछि धेरै जनासँग सल्लाह गरेर म माओवादीबाट टिकट लिएर लड्न लागेको हुँ ।
- ग्रामथानमा माओवादीको सांगठनिक अवस्था धेरै कमजोर हो । कांग्रेस र एमालेजस्तो ठुला पार्टीहरू प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा तपाईंले कसरी जित्नुहुन्छ ?
– तपाईंले भनेको सही कुरा हो । पुरानो पार्टी कांग्रेस र एमालेको टोलटोलमा संगठन छ । तर, अहिले माओवादीबाट माननीय अमनलाल मोदीले २ पटक संघीय निर्वाचन जित्नु भयो । उहाँले केही कार्यकर्ता बढाउनु भएको छ । जब, म कांग्रेसबाट माओवादीमा प्रवेश गरेँ, त्यसपछि ओझेलमा परेका र डरले बाहिर निस्कन नसकेका मानिसहरू पनि अहिले संगठित भइरहेका छन् । जनताहरू नमोनारायणलाई जिताउनु पर्छ भनेर उत्साहपूर्वक आइरहेका छन् । यहाँ लहर पैदा भएको छ ।
तपाईँहरू पनि चोक बजार, चिया पसलमा गएर अनुगमन गर्नुहोला, त्यहाँ चर्चा नमोनारायणकै छ । भोलि भोट के हुन्छ, थाहा छैन । तर, अहिलेको माहौल जित्ने अवस्था छ । किनकि कांग्रेसमा १७ जना उम्मेदवारका आकांक्षी छन् । एकापसमा हानाहान छ । कांग्रेसका ती फेसहरू सबै जनताले चिनेको छ । यस्तै एमालेमा पनि ७–८ जना प्रतिस्पर्धामा छन् । उनीहरूको फेस पनि जनताले चिनेका छन् । त्यसकारण काम गर्ने भनेको नमोनारायण नै हो । ऊ भएपछि यहाँको विकास राम्रो हुन्छ भन्ने जनतामा परेको छ ।
मेरो साथमा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, विजय विश्वास हुनुहुन्छ । मेरो सारथिहरू उहाँहरू नै हुनुहुन्छ । त्यसकारण जनता पनि उत्साहित छन् । पालिकाको कर्मचारीतन्त्रले सेवाग्राहीलाई पनि राम्रो गरिरहेको छैन । विकास निर्माणमा ढिलाइ छ । धेरै रकमहरू फ्रिज भएर गएको छ । त्यो विषयमा हामीले आवाज उठाउँदा मलाई पनि झुठा मुद्दा लगाएका छन् । जनतालाई नै मुद्दा लगाएपछि, जनताको करबाट सेवा सुविधा लिनेले जनताको सानो गुनासो पनि सुन्न नचाहने भएपछि जनताहरू एकदमै आक्रोशित भएको अवस्था छ ।
यो पालिकामा सुशासन ल्याउने, परिवर्तन गर्ने, समृद्धि गर्ने एउटै मान्छे नमोनारायण हो भनेर जनताले भनिरहेका छन् । अहिले मलाई जिताउन धेरै कांग्रेसका साथीहरू आइरहेका छन् । कोही प्रवेश गरेका छन् । कोही मसँग चुनाव प्रचारमा हिँडिरहेका छन् । त्यसकारण यस पटक ग्रामथानमा मेरो जित सुनिश्चित छ ।
- तपाईं माओवादी सशस्त्र युद्धको बेलामा माओवादीबाटै भाग्नु भएको थियो । तर, अहिले माओवादीबाटै टिकट लिनुभएको छ । यसलाई कसरी लिनुहुन्छ ?
– राज्यसँग लड्दा क्षति हुन्छ । कांग्रेसले राणा शासनसँग लड्दा पनि जनताको क्षति भयो । पञ्चायतकालमा एमालेले गरेको झापा आन्दोलनमा त धेरै जनताको हत्या नै भयो । त्यसकारण यो क्षति हुने नै भयो । माओवादीले २५० वर्ष लामो तानाशाह शाही शासनलाई हटाउनका लागि १० वर्ष जनयुद्ध गरेको हो । त्यसबेला धेरै जनताले क्षति बेहोर्नु पर्यो । कति मानिस सहिद भए, घर परिवारविहीन भए, अपाङ्गता भए । कति अहिले पनि बेपत्ता छन् । त्यसकारण त्यो राज्यसँगको लडाइँ हो ।
माओवादीको र अरू पार्टीको इतिहास एउटै–एउटै हो । तर, अहिले प्रचण्डले भ्रष्टाचार निर्मूल गर्नका लागि एउटा अभियान चलाइरहनु भएको छ । सुशासनको लागि अभियान चलेको छ । त्यसबाट प्रभावित भएर म माओवादीमा आएको हुँ । अहिले तीन तहको सरकार, संघ, प्रदेश र स्थानीय सरकार बनाउने मोडल त माओवादीकै हो । तर, त्यो मोडलको सरकारहरू चलाउन माओवादीले राम्रोसँग पाएको छैन । तर, पाउनुपर्ने माओवादीले हो ।
प्रचण्ड र सिङ्गो पार्टी लागेपछि केही हुन्छ । विगतका तिता–मिठा कुरा त्याग्नु पर्छ र देश बनाउन लाग्नुपर्छ भनेर यता लागेको हुँ ।
- तपाईँको शैक्षिक योग्यता कति हो ?
– मैले ४९ सालमा आईएसी गरेको हुँ । बीएससीमा हुँदा पहिलो वर्ष क्लियर भएको हो । दोस्रो वर्ष पढ्दादेखि राजनीतिमा लागेँ र पढाइ अलिक लथालिङ्ग भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई आज अदालत पेस गरिँदै, पुनः म्याद थपको तयारी
-
सिरियामा विद्रोहीको दाबी– असद देश छाडेर भागे, सिरिया अब ‘स्वतन्त्र’
-
गढीमाई मेलाको मुख्य दिन आज, सयौँ पशु चौपाया भारतीय सिमानामा रोकिए
-
मृत्यु शय्यामा पुगेर नयाँ पहिचान बनाउँदै नवराज (भिडियोसहित)
-
प्रधानमन्त्री ओली आज झापा जाँदै
-
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य