बिहीबार, २७ मङ्सिर २०८१
ताजा लोकप्रिय
स्वदेशी स्याउको बिक्री उत्साहप्रद

तीन महिनामै ६ गुणाले बढ्यो स्वदेशी स्याउको व्यापार

बुधबार, १४ कात्तिक २०८१, ११ : ५५
बुधबार, १४ कात्तिक २०८१

बुटवल । गत वर्षको तुलनामा यो वर्ष स्वदेशी स्याउको व्यापार उत्साहप्रद देखिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा चालु आर्थिक वर्षको तीन महिनामा ६८० मेट्रिक टन स्वदेशी स्याउ बिक्री भएको छ । अघिल्लो आर्थिक वर्षभरि यो बजार केन्द्रमा नेपाली स्याउ जम्मा १०५ मेट्रिक टनमात्र बिक्री भएको थियो । बुटवल कृषि उपज थोक बजार केन्द्रबाट लुम्बिनी प्रदेशका अधिकांश बजारमा तरकारी तथा फलफूल पुग्ने गर्दछ ।

बुटवल कृषि उपज थोक बजार केन्द्रका निर्देशक रामचन्द्र भट्टराईले दसैँको बेलामा नेपाली स्याउले राम्रो बजार पाएको बताए । दसैँमा खासगरी जुम्लाको स्याउको बिक्री निकै राम्रो रहेको र तिहारको बेलामा मुस्ताङको स्याउले बजार पाइरहेको उनको भनाइ छ ।

लुम्बिनी फलफूल व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले बुटवलमा भारतीय स्याउको तुलनामा नेपाली स्याउको बिक्री निकै राम्रो रहेको बताए । दसैँको समयमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि चीनबाट फुजी स्याउ आउन ढिलो भएकाले नेपाली स्याउको बिक्री बढेको उनको भनाइ छ ।

भारत र चीनबाट भित्रिएको स्याउको मूल्यको तुलनामा नेपाली स्याउको मूल्य कम हुनुका साथै तुलनात्मक रूपमा ताजासमेत हुँदा नेपाली स्याउले राम्रो बजार लिन सफल भएको बुटवल कृषि उपज थोक बजार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भुसालले बताए ।

6

जुम्लाको स्याउ प्रतिकिलो १०० देखि १२० र मुस्ताङको स्याउ ग्रेडिङ गरेर प्रतिकिलो ३०० देखि ३२० रुपैयाँसम्ममा बिक्री भएको छ । जबकि भारतको स्याउको प्रतिकिलो मूल्य ३०० देखि ३५० सम्म रहेको व्यापारीहरू बताउँछन् ।

बुटवलका कृषि उपज केन्द्रबाट रुपन्देही, पाल्पा, चितवन, कास्की, प्युठान, रोल्पा, रुकुम, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा स्याउ जाने गर्दछ । बुटवलस्थित कृषि उपज केन्द्रमा जुम्लाबाट स्याउ सिधै पठाउने गरेका छन् । बुटवल कृषि उपज थोक बजार केन्द्रका पूर्वअध्यक्ष एवं फलफूल थोक विक्रेता कलाधर पन्थीले पछिल्लो समय बुटवल, भैरहवामात्र नभइ नेपालसँग सीमा जोडिएको भारतको सुनौली, नौतनवासम्म कर्णालीका स्याउ बिक्री भइरहेको बताए । 

जुम्लाको स्याउ ब्राण्डिङ गर्न सांसद शाही सक्रिय

जुम्लाको स्याउलाई ब्राण्डिङ गर्न प्रतिनिधि सभा सदस्य तथा राप्रपाका नेता ज्ञानेन्द्र शाही आफैँ खटिएका छन् ।

‘किसानका समस्या, हाम्रो समाधान’ अभियान अन्तर्गत किसानसँग देशव्यापी छलफल अभियानमा लागेका शाहीले रुपन्देहीका व्यवसायीसँग जुम्लाको स्याउ बिक्रीका लागि आग्रह गरेका छन् । उनले यो वर्ष जुम्लाको स्याउले राम्रो बजार पाए पनि अझै सुधार गरेर थप प्रतिस्पर्धा गर्ने वातावरण तयार पार्ने बताए ।

3333

अर्को वर्षदेखि भण्डारण, दाना छनोट लगायतमा ध्यान दिने सांसद शाही बताउँछन् । नेपाली स्याउको बिक्री प्रवर्द्धन गर्ने र विदेश जाने पैसा रोक्न यो अभियान चलाएको खुलाउँदै उनले स्याउ कहाँ बिक्री गर्ने भनेर आत्तिएका किसानका स्याउ काठमाडौँ लगेर बिक्री गर्न आफूले संयोजनसमेत गरिदिएको बताए ।

जुम्लामा उत्पादन भएको स्याउको बजारीकरणका लागि राज्यले सहजीकरण गर्न ढिलाइ भएकाले आफूहरूले अभियान चलाएको सांसद शाहीको भनाइ छ ।

भैरहवा भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा भारतबाट ७ करोड २६ लाख ४० हजार मूल्यको स्याउ आयात भएको छ । यस्तै, चीनबाट १ करोड १ लाख ८३ हजार मूल्यको स्याउ आयात भएको भैरहवा भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि कार्तिक १२ गतेसम्म चीनबाट ४ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको र भारतबाट १ करोड ११ लाख १२ हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।

बुटवलमा कति कारोबार ?

बुटवलका कृषि उपज थोक बजार केन्द्रमा गत आर्थिक वर्ष ४ हजार ५४४ मेट्रिक टन स्याउ बिक्री भएको छ । जसमा सबैभन्दा धेरै चीनको ३ हजार ५४५ मेट्रिक टन, भारतको ८९४ मेट्रिक टन र नेपालको १०५ मेट्रिक टन स्याउ बिक्री भएको कृषि उपज केन्द्रका व्यवस्थापक रामचन्द्र भट्टराईले बताए ।

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म एक हजार ८६४ मेट्रिक टन स्याउ आएकोमा चीनबाट ८०३ मेट्रिक टन, भारतबाट ३८१ मेट्रिक टन र नेपाली स्याउ ६८० मेट्रिक टन बिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप