शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो ‘केटी हराएको सूचना’

बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । फिल्म ‘केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार आयोजित एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो । ट्रेलर अन्य फिल्म भन्दा फरक र रोचक किसिमले तयार गरिएको छ ।

ट्रेलरमा फिल्मको कथा बुझाउने महत्त्वपूर्ण दृश्यको अलावा न्यारेसन समेत छ । कलाकार बुद्धि तामाङको न्यारेसन ट्रेलरमा छ । ट्रेलरमा कलाकार नाजिर हुसेन, सृष्टि श्रेष्ठ मात्र देखिएका छन् । फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन् ।

सामाजिक सञ्जालबाट भेटिएका दुई अपरिचित युवायुवतीको दुई दिने यात्रामा हुने उतारचढावको कथामा फिल्म बनेको हो । फिल्म पहाडी समुदायको युवा र मधेसी समुदायकी युवतीको प्रेमको कथा समेत भनिएको छ ।

कार्यक्रममा निर्देशक गौचनले फिल्मले तराई र पहाडलाई जोड्ने बताए । ‘मैले तराईका केटा र पहाडकी केटीको विवाह भएको धेरै भेटेको छैन’, गौचनले भने ‘त्यो अभाव फिल्मले पुरा गर्छ ।’ फिल्ममा ९५ प्रतिशत दृश्य नाजिर र सृष्टिको रहेको बताएका गौचनले फिल्म अहिले बजारमा आएको भन्दा फरक रहेको दाबी गरे । 

गौचनले ३२ वर्षअघिको लोकप्रिय सिरियल ‘उजेली’ र ‘हाम्रो मुमिन’का निर्देशक गरेका थिए ।

अभिनेता नाजिरले फिल्मको हिस्सा बन्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए । फिल्ममा आफूले तराईकै पात्रको भूमिका निर्वाह गरेको बताएका नाजिरले फिल्मबाट धेरै कुरा दिन खोजिएको सुनाए ।

अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म अभिनयबाट अहिलेसम्मकै बेष्ट अनुभव भएको बताइन् । ‘केटी हराएको सूचना’ आफूले अभिनय गरेको मध्य उत्कृष्ट फिल्म भएको धारणा उनको थियो ।

फिल्ममा सृष्टि र नाजिर सिता र रामको भूमिकामा छन् ।  फिल्ममा सृष्टि र नाजिरको अलावा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता र नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्म कात्तिक ३० गते प्रदर्शन तयारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया