शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
आन्दोलनको नयाँ स्वरुप

देउसी–भैलो खेल्दा पनि रास्वपाको आन्दोलन !

बुधबार, १४ कात्तिक २०८१, १९ : ३०
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गर्न ‘हारगुहार’ गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तिहारको देउसी–भैलो कार्यक्रमलाई विरोधको स्वर अभिव्यक्त गर्ने माध्यम बनाउने भएको छ ।

सभापति लामिछानेलाई ‘जेल बाहिर निकाल्न’ गृहमन्त्री र प्रधानमन्त्रीलाई भेटेर संवादको थालनी गरेको रास्वपाले तिहार तथा छठ पर्व अघि अब सडक आन्दोलन नगर्ने भएको हो । पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी रचनात्मक विरोध स्वरूप देउसी–भैलोलाई प्रयोग गर्ने तयारी भएको बताउँछन् ।

‘विरोधका आगामी कार्यक्रमका लागि केन्द्रमा छलफल भइरहेको छ । तिहार अघि प्रदेश र जिल्लाहरूबाट विरोधको कार्यक्रम हुनेछ,’ बुर्लाकोटीले रातोपाटीसँग भने, ‘देउसी–भैलोलाई पनि रचनात्मक रूपले उपयोग गर्ने भन्ने कुरा छ । देउसी–भैलो खेल्दा हामीमाथि भएको राजनीतिक प्रतिशोध, सहकारीको विषय र सङ्गठित महाभ्रष्टाचार विरुद्धको नाराहरू भट्याउने भन्ने तयारीसहित छलफल भइरहेको छ ।’

सहकारीको बचत अपचलनमा संलग्न भएको भन्दै कास्की प्रहरीले हिरासतमा राखेर लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । कार्तिक ३ मा लामिछाने पक्राउ परेपश्चात् रास्वपा भने निरन्तर सडक सङ्घर्षमा छ । पार्टी उपसभापति डीपी अर्यालको नेतृत्वमा आन्दोलन समिति बनाएर पार्टीले सडकमा नेता–कार्यकर्ता तथा शुभेच्छुक उतारेको छ । यस्तै अर्का पार्टी उपसभापति स्वर्णिम वाग्लेले राजनीतिक नागरिक संवादको जिम्मेवारी पाएका छन् ।

raswapa protest (3)

मङ्गलबारमात्र बालुवाटार क्षेत्रमा भएको आन्दोलनमा पार्टी सांसद अशोक चौधरी, केन्द्रीय नेता पुकार बमसहित ५० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सभापति लामिछानेलाई थुनामुक्त गर्न भन्दै नेता पुकार बम प्रहरी हिरासतमै अनसन बसेका थिए ।

त्यसअघि सोमबार रास्वपा उपसभापति डीपी अर्यालले गृहमन्त्रीसँग, अर्याल र प्रमुख सचेतक सन्तोष परियार मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै संवाद गरेका थिए । सो क्रममा उनीहरूले रवि लामिछानेलाई कम्तीमा थुनामुक्त गरेर अनुसन्धान गर्न अनुरोध गरेका थिए ।

‘भोलिको दिनमा राजनीतिक सहकार्य गर्नै पर्छ, आज कांग्रेस–एमाले मिलेको भन्दै रास्वपाको भविष्य सक्ने गरी रविको विषयमा अघि नबढ्न संवाद भएको रहेछ,’ रास्वपाका एक नेता भन्छन्, ‘ओलीले पनि आफूविरूद्ध रास्वपाले गरिरहेको प्रहारको विषयमा चासो राख्नुभएको रहेछ ।’

एकातिर आन्दोलन, अर्कोतर्फ राजनीतिक संवाद तथा चाडपर्वको चटारोलाई समेत ध्यानमा राख्दै रास्वपा केही दिन ‘पर्ख र हेर’को स्थितिमा बस्ने निर्णयमा पुगेको छ । बरु यो बिचमा सम्भव भएसम्म राजनीतिक संवादलाई बढवा दिने तयारीमा रास्वपा छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको बयान यस बिचमै सकिने आशमा रास्वपा देखिएको छ ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार यो बिचमा ‘जुम’मार्फत केन्द्रीय समिति बैठक बस्ने तयारी भएको छ ।

raswapa protest (2)

‘चाडपर्वको बेलामा पनि साथीहरूलाई आह्वान गरेपछि सडकमा आउनुहुन्छ । मेरो, हाम्रो पार्टी र हामीले उठाएको एजेन्डाका लागि धेरै साथीहरूको तिहार र छठ जस्तो महत्त्वपूर्ण पर्वलाई खल्लो नबनाइदिनुहोला भनेर सभापतिज्यूले हामीलाई अनुरोध सहितको निर्देशन दिनुभएको छ,’ बुर्लाकोटीले थपे, ‘साथीहरू निरन्तर सङ्घर्षमै जाऔँ भनेर तयार हुनुहुन्छ । तर, चाडपर्व र सभापतिको निर्देशन पनि हामीले मनन गर्नुपर्छ नि !’

हाल लामिछाने सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । पोखरा, बुटवल लगायतका स्थानमा रहेका विभिन्न सहकारीको बचत हिनामिना गरेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याउन लामिछानेको पनि संलग्नता रहेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।

सूर्य थापा नेतृत्वमा रास्वपा सांसद शिशिर खनालसहित अन्य दलका सांसदसमेत सदस्य बसेर बनाइएको संसदीय विशेष छानबिन समितिले रास्वपा सभापति लामिछानेसहित ४ जनालाई कारबाहीको सिफारिस गरेको छ ।

विशेष समितिले लामिछानेलाई सहकारीको रकम हिनामिनामा नभई गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्ने र गराउने भूमिका खेलेकोमा र अन्यलाई भने सहकारीको बचत रकम अपचलन गरेकामा दोषी औँल्याएको छ । पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय र वीरगन्जको सानो पाइला सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको समितिको निष्कर्ष छ ।

raswapa protest (1)

समितिको प्रतिवेदनको आधारमा सूर्यदर्शन सहकारीको रकम अपचलनमा लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन् । सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन् ।

तर, रास्वपाले यसलाई ‘राजनीतिक प्रतिशोध’ भनेको छ । अदालती प्रक्रियामा र कानुनी राज्यमा विश्वास भए पनि वर्तमान सरकारमा विश्वास नभएकाले आन्दोलनमा उत्रनुपरेको रास्वपाको जिकिर छ । पार्टीका प्रमुख सचेतक सन्तोष परियार पहिलो चरणको खबरदारी आन्दोलन सकिएको भन्दै राजनीतिक प्रतिशोध साँध्ने काम निरन्तर भए फरक ढङ्गबाट आन्दोलन अघि बढ्ने बताउँछन् ।

‘राजनीतिक प्रतिशोध साँधेर चाहिनेभन्दा बढी दुःख दिने र नचाहिने केस थप्दै जाने काम बढ्दै गए हामीले पनि अर्को तरिकाले सोच्नुपर्ने होला नि,’ उनको भनाइ छ ।

रास्वपाले रवि लामिछानेलाई हिरासत बाहिर ल्याएर छानबिन गर्न अनुरोध गरिरहेको छ । रवि लामिछाने एक व्यक्तिमात्र नभई पूर्वउपप्रधान तथा गृहमन्त्रीसहित राज्यको चौथो ठुलो दलको सभापति पनि भएकाले हिरासत बाहिर राख्नुपर्ने दबाब रास्वपाको छ ।

रविले देश छाडेर भाग्ने अवस्था नभएको, प्रमाण नष्ट गर्ने र बाहिर आएर थप अपराध नगर्ने दाबी गर्दै बाहिर राखेर अनुसन्धान गर्नुपर्ने पार्टी प्रमुख सचेतक परियारको तर्क छ ।

‘अहिले हामीसँग सडक र नेपाली जनता बाहेक कोही छैन । सत्तामा उहाँहरू हुनुहुन्छ र बलियो हुनुहुन्छ । हाम्रा सभापतिमाथि धेरै जनताको आशा, विश्वास छ । केही नेताको इगोको भरमा भित्र राखेर तँलाई देखाइदिन्छु भन्ने अवस्था रहे फरक ढङ्गले सोच्नु पर्छ,’ उनले भने ।

रविलाई कसरी फसाउन सकिन्छ भनेर सम्पत्ति शुद्धीकरण लगेर सत्तामा रहेको दल रास्वपा सिद्ध्याउन सकिन्छ कि भन्ने खेलमा लागेको परियारको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?