कम्युनिस्ट शीर्ष नेताहरूको एउटै मत– गम्भीर आत्मसमीक्षासहित एकताको पहल गरौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षमा भएका कमी–कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने कम्युनिस्ट घटकका प्रमुख नेताहरूले बताएका छन् ।
नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा नेकपा माओवादी केन्द्रले बुधबार कमलादीमा आयोजना गरेको ‘नेपाल कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा कम्युनिस्ट आन्दोलनबारे चर्चा भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक स्पष्टतासहित कमी–कमजोरीबारे आ–आफ्ना पार्टीभित्र गम्भीर समीक्षा गर्न अपिल गरे ।
‘कम्युनिस्ट पार्टीभित्र वैचारिक स्पष्टतासहित गम्भीर समीक्षा गर्नु आवश्यक छ । एक ठाउँमा बसौँ भनेर आदर्शका कुरा गरेर हुँदैन । द्वन्द्वात्मक भौतिकवादी वस्तुवादी ढंगले गम्भीर समीक्षा हुनुपर्छ’, प्रचण्डले भने, ‘मेरो सम्पूर्णमा अपिल छ– कम्युनिस्ट आन्दोलनमा लागेपछि आफूले गरेका राम्रा–नराम्रा कामको समीक्षा गरौँ ।’
यसैगरी हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिने प्रचण्डको भनाइ थियो । कम्युनिस्ट पार्टीको एकता, जनयुद्ध र शान्तिको प्रस्ताव आफैँले राखेकाले अब हुने समाजवादी क्रान्तिको आधार तयार गर्न पनि आफूले पहल गर्ने उनले बताए ।
‘कम्युनिस्ट आन्दोलनको विगतका वीरताको गाँथा गाएरमात्र समाजवादमा पुग्न सकिँदैन । त्यसका लागि वैचारिक स्पष्टतासहित दृढ सङ्कल्प चाहिन्छ । त्यसको आधार तय गर्न म नेतृत्वदायी भूमिका खेल्न तयार छु’, प्रचण्डले भने ।
यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण सबैभन्दा ठुलो समस्या रहेको बताए ।
‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हावी हुँदै गएको छ । स्वार्थी प्रवृत्ति बढ्दै गएको छ । भ्रष्टीकरण बढ्दै गएको छ । यो नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो’, उनले भने, ‘कम्युनिस्ट पार्टी भ्रष्टाचारमुक्त नभएसम्म समस्याको समाधान हुन सक्दैन । हामी अझै कमी–कमजोरी स्वीकार्न तयार छैनौँ । सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएका छन् । कम्युनिस्ट पार्टी सर्वसत्तावादमा जाने खतरा छ ।’
पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ अध्यक्ष नेपालले चिन्ता व्यक्त गरे । उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो नभएको भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
अहिले नेपालको कम्युनिस्ट पार्टीमा जडसूत्रवादी चिन्तन र दक्षिणपन्थी चिन्तन हावी भएकाले समस्या झन् जटिल भएको अध्यक्ष नेपालको भनाइ थियो ।
कार्यक्रममा सहभागी नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तत्काल एमाले र माओवादीबिच एकता सम्भव नभएको बताए । अहिले जो–जोसँग एकता सम्भव छ, ती पार्टीहरू मिल्न उनले सुझाव दिए ।
‘अहिले माओवादी र एमालेबिच एकता सम्भव छैन । तर भविष्यमा हुँदै हुँदैन भन्ने हुँदैन, एकता हुन सक्छ । अहिले जो–जोसँग एकता सम्भव छ, गर्नुपर्छ । एमाले त एकल बहुमत ल्याउने तयारीमा छ । प्रचण्डजी पनि एकल बहुमत ल्याउने तयारीमा हुनुहुन्छ’, उनले भने ।
दुनियाँ बदल्छु भन्नेले आफूलाई बदल्नुपर्ने र आफूलाई बदल्न नसक्नेले दुनियाँ बदल्छु भन्नु जनतालाई ढाँट्नु मात्र भएको ज्ञवालीको भनाइ थियो । समाजवादी व्यवस्था ल्याउनका लागि विचारमा आगो लगाउन तयार हुनुपर्ने उनले बताए ।
आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको भन्दै ज्ञवालीले समाजवादी कार्यक्रम अहिले नै लागु गर्ने कि आधारमात्र तयार गर्ने भन्नेमा प्रस्ट हुनुपर्नेमा जोड दिए ।
यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले ऐतिहासिक जनयुद्धको नेतृत्व गरेकोमा प्रचण्डलाई धन्यवाद दिँदै शान्ति प्रक्रियापछि पुरानै ठाउँमा फर्किएकोमा असन्तुष्टि पोखे । वामपन्थीबिच एकतामात्र भनेर नहुने, त्यसका लागि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उनले बताए ।
‘प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गर्नुभयो, त्यसका लागि धेरै धन्यवाद छ । अहिले उहाँ फेरि फर्किएर पहिलेकै ठाउँमा पुग्नुभयो । यसबारे गम्भीर समीक्षा गर्नुपर्छ’, वलीले भने, ‘निष्पक्ष छानबिन गरौँ । अब नढाँटिकन एउटा किताब लेख्नोस् । तपाईंलाई के चिजले प्रभावित ग¥यो ? कहाँ बिग्रियौँ ? एकताको कुरा गरेर हुँदैन । बाहिर चुनावी राजनीति गरेर हुँदैन ।’
माओवादी अहिले वैज्ञानिक समाजवादमा जान डराइराखेको वलीको आरोप थियो । दलाल पुँजीवादको पछि लागेर समाजवाद नआउने भन्दै उनले यसमा गम्भीर समीक्षा नभएसम्म पार्टी एकता हुन नसक्ने बताए ।
नेकपा स्थापनाको ७५ वर्षमा कम्युनिस्टभित्र चार धार देखिएको वलीले विश्लेषण गरे । पहिलो धार डा. केशरजंग रायमाझी रहेको उनले बताए । रायमाझी धारको नेतृत्व नेकपा संयुक्तले गरेकाले करिब अलप भएको उनको निष्कर्ष छ ।
वलीले दोस्रो धारका रूपमा पुष्पलाल श्रेष्ठको धारको नेतृत्व नेमकिपा र ऋषि कट्टेलले गरिराखेको भए पनि पछिल्लो समय कमजोर हुँदै गएको बताए ।
तेस्रो धार झापा विद्रोहबाट जन्मिएको एमाले, एकीकृत समाजवादी पार्टी भएको उनको भनाइ थियो ।
चौथो धार नेकपा चौम भएको र त्यसको नेतृत्व माओवादीले गरेको उनले बताए । अर्को हाँगो नेकपा मसाल रहेको वलीको भनाइ थियो ।
कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न टुक्रामा विभाजित भए पनि वर्ग रहेसम्म आन्दोलन जीवितै रहने बताए । उनले कम्युनिस्ट पार्टीलाई एक बनाउन शीर्ष नेताहरूले नसकेको आरोप लगाए । यसका लागि प्रचण्ड र माधव नेपालले विशेष पहल गर्नुपर्ने पुरीको भनाइ थियो ।
‘नेपालको कम्युनिस्ट आन्दोलन निकै उतारचढाव भएका छन् । विभिन्न घटकमा विभाजित छन् । नरबहादुर कर्माचार्य स्वयं निकै असन्तुष्ट रहेको उनको जीवनीमा आएको छ । कम्युनिस्ट आन्दोलनमा विचलन पनि आएका छन् । कतिले सिद्धान्त छोडेका पनि छन्’, पुरीले भने, ‘कम्युनिस्टको अन्तिम लक्ष्य राजतन्त्र समाप्त गरी गणतन्त्र स्थापना गर्नु नै हो । कम्युनिस्ट आन्दोलनलाई एक बनाउन प्रचण्ड र माधव नेपालले विशेष भूमिका खेल्नुपर्छ ।’
कार्यक्रममा सहभागी भएका सबै नेताहरूले नेकपाका संस्थापक सदस्य कर्माचार्यलाई आदर्श, सरल, निश्चल, दृढ आत्मविश्वास भएको नेताका रूपमा चित्रण गरेका थिए । उनको आदर्शलाई पछ्याएर सबै कम्युनिस्ट पार्टीलाई एक बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।