बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : ओलीविरुद्ध नाराबाजीदेखि 'धनराजमाथि अनुसन्धान'सम्म

बिहीबार, १५ कात्तिक २०८१, ०० : ००
बिहीबार, १५ कात्तिक २०८१

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-

१. प्रधानमन्त्रीविरुद्ध नाराबाजी
महिला साफ च्याम्पियनसिपको फाइनलमा आयोजक राष्ट्र नेपाल बंगलादेशसँग पराजति भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको फाइनलमा नेपाल १-२ गोलले पराजित भएको हो । नेपालले हारेपछि दशरथ रंगशालामा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्शकहरूले नाराबाजी गरेका छन् । 

२. समीक्षामा जनमत पार्टी
डा. सीके राउत अध्यक्ष रहेका जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू निस्किन थालेपछि पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारेमा पार्टीमा गम्भीर रूपमा समीक्षा हुन थालेको हो । पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण नेता तथा कार्यकर्ता पार्टी छाड्न थालेपछि जनमत पार्टीका अध्यक्ष राउतले त्यसका विभिन्न १९ वटा कारण औँल्याएका छन् ।

३. सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान पुरा भएको छ  । बुधबार अबेर बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) बसन्त शर्माले बयान प्रमाणित गरेका हुन् ।

४. धनराजमाथि पनि अनुसन्धान

गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङ माथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् ।

५. अन्तःशुल्क स्टिकर भ्रष्टाचार प्रकरण
विशेष अदालतले अन्तःशुल्क स्टिकर भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १० जनालाई सफाइ दिएको छ । विशेषले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठ दोषी ठहर  गरेर अन्य प्रतिवादीलाई सफाइ दिएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर  र न्यायाधीशहरू खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो । 

 

६. महासंघमा द्वन्द्व
नेकपा एमाले सम्बद्ध जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा र महासचिव पेम्बा गुरुङ भोटेबिचको द्वन्द्वले उग्र रुप लिएको छ । अध्यक्ष शेर्पा र महासचिव भोटेको कार्यशैलीका कारण बढेको खटपटले कारबाही तथा खुकुरी प्रदर्शनको अवस्था समेत सिर्जना भइसकेको छ । महासंघमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक्षेपविना बैठक नै बस्न नसक्ने अवस्था सिर्जना भएको छ ।


७. संसदीय समिति
नेपालमा उत्पादन हुने सुपारीको तुलनामा निर्यात भएको परिमाण बढी देखिएको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति र प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको संयुक्त बैठकमा सुपारीको उत्पादन, बजार र निर्यातको अवस्थाबारे छलफल भएको हो ।


८. अध्यक्ष पद पुरस्कार
सरकारले एमाले नेता (प्युठान) हरि रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी भागबन्डाका आधारमा आयोग गठन गरेको हो ।

 

९. मधेसवादी दल
यतिबेला संघ र प्रदेशमा गरी मधेस केन्द्रित सबैजसो दल सत्तामै छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारमा सामेल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन जनाएको अवस्था छ ।


१०. अमेरिकी निर्वाचन प्रणाली
यो वर्ष विश्वका अधिकांश मुलुक निर्वाचनमय भए । केही मुलुक अब छिट्टै निर्वाचनमा होमिँदै छन् । बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत हुँदै सबै महादेशका देशहरूमा भएको निर्वाचनमा पृथ्वीका आधा भन्दा बेसी मतदाता निर्वाचनमा सहभागी भए । अमेरिकी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामा यो वर्षलाई लोकतन्त्रकै भविष्य निर्धारणको वर्ष मान्छन् । 


११. रास्वपाको आन्दोलन 
पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गर्न ‘हारगुहार’ गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तिहारको देउसी–भैलो कार्यक्रमलाई विरोधको स्वर अभिव्यक्त गर्ने माध्यम बनाउने भएको छ ।


१२. जन्मशताब्दी कार्यक्रम
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षमा भएका कमी–कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने कम्युनिस्ट घटकका प्रमुख नेताहरूले बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा नेकपा माओवादी केन्द्रले बुधबार कमलादीमा आयोजना गरेको ‘नेपाल कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक वैचारिक कार्यक्रममा कम्युनिस्ट आन्दोलनबारे चर्चा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप