शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सावर्णि पढिसक्दा मैले पाएको नवीनतम ज्ञान

शनिबार, १७ कात्तिक २०८१, १६ : ४८
शनिबार, १७ कात्तिक २०८१

म वर्षमा मुस्किलले ४ देखि ५ वटा  साहित्यिक किताब छिचोल्छु  । त्यसमाथि  साहित्य बडा मुस्किल लाग्छ । सबैका कथा कथनी उस्तै उस्तै लाग्ने । केही नयाँ खोज्ने म जस्ता 'चुजी' पाठक हुनु पक्कै राम्रो नहोला । यस वर्ष, त्यो पनि दसैँको फुर्सदमा कुन किताब पढ्ने ?  म अलमलमै थिएँ ।  हरारीको नेक्सस आउँदै छ, यो दसैँलाई प्रसाद हुने भयो सोच्दै थिएँ ।

यस्तैमा नेपाली साहित्य बजारमा एउटा हल्ला चल्यो  एक जना बालरोग विशेषज्ञ डा. श्रीधर खनालको नयाँ उपन्यास, जुन नौलो विषयवस्तु र नेपालकै पहिलो एआई रोबोटिक साइन्स फिक्सन, दाबी गरिँदै थियो । एउटा डाक्टर त्यसमाथि एआईजस्तो जटिल विषयवस्तु, के पो लेख्या होलान् ? केही दिन म हल्लाको पछाडि लागिनँ । जब मेरो परम मित्रको हातमा  उनकै किताब देखे र प्रशंसा सुनेँ मलाई पनि पढ्ने इच्छा एकाएक पैदा भयो ।

यसरी पढ्न सुरु गरेँ

 कभर पेज आकर्षक लाग्यो  । बुक हिल पब्लिकेशन,  त्यसमाथि भूपेन्द्रजीको च्वाइस , त्यति खराब पनि नहोला, थोरै आशा जीवित राख्दै पढ्न सुरु गरेँ  ।

पाना पल्टाउन सकस भएन ।  अर्को पानामा के होला भन्ने कौतुहलताले भने काउकुती लगाई रह्यो  । उपन्यास दुई बसाई मै सकेँ  । जुन मेरो लागि अर्को उपलब्धि थियो । कहीँ कतै रत्तीभर बोर फिल भएन  । यस अर्थमा पठन सफल रह्यो  । विषयको उठान, पात्रको बिम्बात्मक प्रयोग गजबको लाग्यो । 

उपन्यासले गहन विषय उठान गरेको छ । वास्तवमै मानवको परिचय के हो ? प्रश्न गरेको छ । यसको उत्तर पनि गहकिलो हिसाबले दिएको छ । एक कोषीय जीव हुँदै, मानव जस्तो चेतनशील जीवको विकास कति अमूल्य वरदान र संयोग हो, सृष्टिको । यही वाक्यले म पटक पटक निचोरी, रन्थनिए । लगभग हरेक पानामा प्रश्न छन् र सँगै उत्तर पनि  । यस लघु उपन्यासमा प्रेम छ, जीवन छ, प्रकृति छ, युद्ध छ र समाधान पनि छ ।

एआईको बारे

सावर्णिबारे सुन्दा लाग्थ्यो एआईको बुक टेक्नोलोजी सम्बन्धी के लेखेका रहेछन्? कतै यो हलिउड मुभी जस्तो त हैन ? एस्ट्रोनटस् को बारेमा पो हो कि ? कति मङ्गलसम्बन्धी खोज वा ब्रह्माण्ड सम्बन्धी अन्वेषण ?

किताब पढ्दै जाँदा मैले किताबमा जीवन पाएँ । यो प्रकृति र मानव जगत् कति सुन्दर छ र यसको प्रयोग कुन हदसम्म भइरहेको छ भन्ने झकझकाहट लेखकले प्रस्तुत गरिरहेको पाएँ । जीवन र जगत् सँग आर्टिफिसियल इन्टेलिजेन्सको बेजोड मेल पाएँ । भर्खरै उदाउँदै गरेको एआई भविष्यमा के सम्म हुन्छ र कतिसम्म विनाश गर्न सक्छ भन्ने अनुपम कल्पना किताबमा लेखकले पोख्न खोजेका छन् ।

सावर्णि एक पात्र हो जुन आफैँमा एक एआई रोबोट हो । उसले बनाएको मानव जीवन आखिर कस्तो होला भन्ने किताब पढ्दै जाँदा उत्सुकता बढ्छ । त्यस्तै कौतुहलताका बिच किताबसँगै अगाडि बढेँ ।

सावर्णिको संसार अत्यन्तै सुन्दर एवम् व्यवस्थित थियो । सारा जगत् उस्तै भएता पनि मानव जीवन सबै “एआई कन्ट्रोलल्ड थियो । सबै मान्छे का पर्सनल एसिस्टेन्ड एआई रोबोटहरू थिए र मानव उनीहरू बाटै परिचालित थिए । मुटुको चाल, ब्लड प्रेसर, अक्सिजन लेभल, सपना, अवचेतन मन, हर्मोनल ब्यालेन्स सबै रोबोट द्वारा नै निगरानी हुन्थ्यो ! मानव समाज सबै एक ए आई को कन्ट्रोलमा थ्यो किनकि त्यसको निर्माता स्वयम् एक एआई रोबोट थियो !

 द्वापर युगका कृष्ण र एआईयुगका किसन

उपन्यासमा किसन क्यारेक्टर लाई एआई युगका नायकको रूपमा प्रस्तुत गरिएको छ । यदि एआई युगमा कृष्णको अवतार जन्मिए भने के होला भन्ने मनोवृत्तिमा उनको चरित्रलाई प्रस्तुत गरिएको छ । किसनको बालापन, उनको विभिन्न लीला र देरिका र अल्फाको कथालाई पनि अब्बलरुपमा प्रस्तुत गरिएको छ । काहीँ कतै किसनको कथा अलिक तन्कियो कि भन्ने लागेता पनि समग्रमा नगरको सम्पूर्ण ध्यान आफूतिर तान्न र किसन आफूलाई प्रमाणित गर्न सफल देखिन्छन् ।

प्रकृतिको अनुपम बर्णन

साँचै ! मानव जति नहुँदा कस्तो होला पृथ्वी ? उपन्यासमा भनिएको छ ! जब एक एआई युक्त पृथ्वी ध्वस्त हुन्छ अनि कैयौँ शताब्दी पछि ...

“धरती आफ्नै लय र तालमा थियो । नदी बगिरहेकै थिए । ताल समुन्द्र उस्तै शान्त थिए । हिमालको मुस्कान उस्तै जादुई थियो । मरुभूमि उस्तै लमतन्न थियो । जनावरहरू निस्फिक्री हिँडिरहेका थिए । कोइलीको स्वर अझै निखारिएको थियो । बादलको लुकामारी चलेकै थियो । लाग्थ्यो पृथ्वी यति सुन्दर कहिल्यै थिएन..... ।”


लेखकले प्रस्तुत गरेका यी लाइनहरूले मानव जाति नहुँदा पृथ्वी अझै सुन्दर भएको छ । मानव जातिको पृथ्वी दोहनले गर्दा जलवायु परिवर्तन लगायतका खतरा उत्पन्न भएको दर्साउन खोजेका छ, जुन निकै सरहनीय छ । जलवायु परिवर्तनको सामना गर्नु र यस सँग लड्नु आजको आवश्यकता हो भन्ने कुरा यी हरफहरूले पुनः एक पटक उद्वेलित गराउँछ ।

हतियार भन्दा माथिको शक्ति

लेखकले उपन्यासमा  हतियार भन्दा पनि माथिको अस्त्र के हुन सक्छ भन्ने कल्पना गरेका छन् । ठुलो तामझाम गरेको 'महाभारत स्टाइल'को युद्ध कसरी एक निमेषमै विजय प्राप्त गरेर सकिन्छ भन्ने देखाएका छन् । एउटा युद्ध बाट हुनसक्ने सम्भावित जनधनको क्षति कसरी कम गरी अस्तित्वको रक्षा गर्ने भन्ने देखाउन लेखक सफल देखिन्छन् ।

नसुल्झिएका जीवित प्रश्नहरू

उपन्यास पढिसक्दा लाग्यो, हामी मानव जातिको यात्रा पनि कतै यतै त छैन । हाम्रो भविष्य अब के हुन्छ ? एआईको बढ्दो दुरुपयोग रोक्न के गर्नु पर्छ ? एआई मानव को रक्षक कि भक्षक ? अहिलेको मानव यात्रा के टुङ्गिने तरखरमा त छैन ? आखिर प्रकृति माथिको प्रयोग कहिले सम्म ? यी विविध प्रश्नहरू घण्टौँ सम्म मेरो मनमा घुमिरह्यो !

लेखकसँग गुनासो

लेखकीय जति नै अब्बल भएता पनि पाठकीय दृष्टिसँग सधैँ एकनास हुन्छ भन्ने छैन । उपन्यास पढ्दै गर्दा लाग्छ किसनको अस्तित्व र अन्त्य कुनै अरू तरिकाले भएको भए हुने । तर यसमा लेखकले पाठकसँग “माइन्ड गेम” गरेका छन् । एक सर्प्राइज दिएका छन् जसले उपन्यास सक्दा पनि अनुत्तरित प्रश्नहरू जीवित नै रहन्छन् । धेरै प्रतीक्षा पछि आएको अन्तिम युद्ध अत्यन्तै छोटो समयमा सकिदा “लास्ट फाइट” छुट्यो कि जस्तो लाग्या थियो । तर हतियार भन्दा माथिको शक्तिको बारेमा जानेपछि लेखकको इम्याजिन गर्ने सक्ने अद्वितीय क्षमता प्रति नतमस्तक भएँ । किसनको बाँसुरी सुमधुर नै लागेता पनि, लेखकले आफ्नो लेख्य त्यसमा अलिक छोट्टाए हुने लाग्छ । तर, एक बाल मनोवृत्ति दर्साउन भने उनी सफल छन् ।

 अन्त्यमा,

मानव, जगत्, टेक्नोलोजी, एआई र मङ्गल यात्रालाई सँगै जोडेर आजको समय सापेक्ष ज्ञान उपन्यासको माध्यमबाट प्रेषित गर्न सक्नु लेखकको खुबी हो । आजको मानवले कस्तो भुल गर्दै छ र यसको कारणले कतिसम्म विपत् बेहोर्नुपर्ने हुनसक्छ भनी आँखा खोल्ने प्रयत्न गर्नु नै लेखकको सबैभन्दा उच्चोपन हो । अबको एआई र टेक्नोलोजिकल ऐरा कस्तो हुनुपर्दछ भनी यस उपन्यासले सम्पूर्ण मानव जातिलाई मार्ग निर्देश गर्नेछ भन्नेमा म विश्वस्त छु । अन्त्यमा म यत्ति भन्छु कि वर्षभरि केही मात्र नेपाली पुस्तक पढ्ने मैले सावर्णि पढिसक्दा एक नवीनतम ज्ञान पाएँ । यो समग्र पृथ्वी र जगतप्रति आफ्नो जिम्मेवारी बोध र आत्मीयता छायो ।  नेपाली पुस्तक यो किसिमका पनि बन्न सक्ने रहेछन् भन्ने आभास भयो । लेखकलाई सादर नमन  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ऋषि पोख्रेल
ऋषि पोख्रेल
लेखकबाट थप

छुटाउनुभयो कि ?