आइतबार, ३० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘ह्रस्व दीर्घ’को ट्रेलरमा के छ ?

बुधबार, २१ कात्तिक २०८१

काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारको अभिनय रहेको फिल्म हो ‘ह्रस्व दीर्घ’ । यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलर कलाकारको प्रेम, रोमान्स, एक्सन, बिछोड र कमेडीले मिश्रित छ । 

अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार–चढाव नै फिल्मको कथावस्तु हो । देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग हरि (हरिहर)को प्रेम अंकुराएको छ । तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम बसेको खुलेपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । हरिहर रोमान्टिक र एक्सन अवतारमा देखिएका छन् ।

लामो समयपछि अभिनयमा फर्किएकी अभिनेत्री बिपना थापाले फिल्ममा हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा छन् । साउथका कलाकारहरू अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरू सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायत पनि ट्रेलरमा अटाएका छन् । 

नीता यो फिल्मको निर्मात्री पनि हुन् । पहिलोपटक उनले फिल्म निर्माणमा हात बढाएकी हुन् । 

कार्यक्रममा नीताले फिल्ममा ६ करोड नेपाली खर्च भएको जानकारी दिइन् । सोचेको कुरा पूरा गर्न लडेर अगाडि बढ्यो भने सकिन्छ भन्ने अनुभव आफूले ‘ह्रस्व दीर्घ’ लिएको उनले बताइन् ।  उनका अनुसार भारतमा पनि फिल्म रिलिजको तयारी भइरहेको छ ।

निर्देशक चन्द्र पन्त फिल्म कतैबाट पनि कपी नगरिएको बताउँछन् । ‘यो नितान्त फ्रेस फिल्म हो । हामीले नयाँ दुनियाँ देखाउन खोजेका छौँ’, पन्तले भने । 

अभिनेता हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै हिन्दी फिल्म खिचेका छन् । 

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया