मानव अधिकारवादी नेता श्रेष्ठलाई गणेशमान सिंह स्वर्ण पदक
काठमाडौँ । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले मानवअधिकारवादी नेता प्राध्यापक कपिलमान श्रेष्ठलाई सम्मान गर्ने भएको छ ।
जनआन्दोलनका सर्वोच्च कमाण्डरसमेत रहेका सिंहको एक सय १०औँ जन्मजयन्तीका अवसरमा श्रेष्ठलाई सम्मान गर्न लागिएको हो । लामो समयसम्म राजनीतिशास्त्रको प्राध्यापनमा क्रियाशील श्रेष्ठ मानवअधिकारको क्षेत्रमा समेत सक्रिय छन् । उनी राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत हुन् र
जनआन्दोलनको उद्गमस्थल शान्तिबाटिकामा यही कात्तिक २४ गते हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदकबाट विभूषित गर्ने प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले जानकारी दिए ।
सर्वमान्य नेता सिंह १९७२ साल कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका थिए भने २०५४ साल असोज २ गते निधन भएको हो । उनले निरंकुश जहानियाँ राणाशासन र पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरी बहुदलीय व्यवस्था पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।