शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कुकबुक ‘द मिस्टिक किचेनस अफ नेपाल’ सार्वजनिक

आइतबार, २५ कात्तिक २०८१, ०९ : ४९
आइतबार, २५ कात्तिक २०८१

काठमाडौँ । प्रसिद्ध पाक विज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्वारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ । 

काठमाडौँको होटल मनासलुमा आयोजित एक समारोहबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उक्त पुस्तकको विमोचन गरेका हुन् । अङ्ग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरिकामा यसअघिनै विमोचन भई धेरै प्रति विक्री भइसकेको छ । 

पुस्तक विमोचन गर्दै मन्त्री पौडेलले बृहत् कुकबुकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न पुर्‍याएको योगदानका लागि शेफ वैद्यको प्रशंसा गरे ।

उनले खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको छ भन्दै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि कुकबुक एउटा कोसेढुङ्गा हुने बर्ता ।

“पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छ,” उनले भने ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पाक संस्कृति पर्यटनको महत्त्वपूर्ण आयाम भएकाले यस पुस्तकले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

उनले नेपाली पर्यटनलाई आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नका लागि शेफ वैद्यको कुकबुक सहयोगी हुने बताए ।

अर्को सन्दर्भमा उनले नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि देखापरेका कानुनी कठिनाइहरू समाधान गर्न सफल भएको बताए । उनले खरिद ऐनमा हालै भएको संशोधनले बोर्डलाई अन्तर्राष्ट्रिय पक्षबाट सीधै सेवा खरिद गर्न सक्ने बनाएको जानकारी दिए । “पर्यटन बोर्डले अब नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि बीबीसी र सीएनएन जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सेवा सीधै खरिद गर्न सक्नेछ,” उनले भने ।

आफ्नो पुस्तकको बारेमा बोल्दै शेफ वैद्यले यो पुस्तक आफूले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम भएको बताए ।

“नेपालको मिस्टिक किचेन्स एक कुकबुक मात्र होइन – यो माटोलाई आत्मासँग जोडने खाना, संस्कृति र समुदाय बीचको गहिरो सम्बन्धको उत्सव हो,“ वैद्यले भने । ले आफ्नो पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि जानकारी दिए। 

यस पुस्तकमा व्यञ्जनहरूको सांस्कृतिक र ऐतिहासिक महत्वका बारेमा संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली रेसिपीहरु समावेश गरिएका छन् । पुस्तकले पाठकहरूलाई नेपालको विविध परिदृश्य र संस्कृतिको माध्यमबाट अविस्मरणीय पाक  यात्राका लागि आमन्त्रण गरेको छ । 

काठमाडौँको भिडभाड सडकदेखि हिमालको शान्त फेद र तराइका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संकृतिलाई प्रवर्धन गर्ने जीवन्त स्वादहरूको एउटा सङ्ग्रहको रूपमा यो पुस्तक प्रकाशित भएको छ ।

यस पुस्तकमार्फत शेफ वैद्यले प्रसिद्ध नेपाली शास्त्रिय व्यञ्जन र विभिन्न जातीय समुदायमा लुकेर रहेका विभिन्न परिकारहरू र तिनीहरूको संस्कृति तथा ऐतिहासिक पक्षलाई सङ्गृहीत गरेका छन् । घरमा पकाउने र व्यावसायिक प्रयोजन दुवैका लागि नेपाली पाक संकृतिको सौन्दर्य र गहिराइको अनुभव गर्ने अवसर प्रदान गर्ने यस पुस्तकले नेपाली पाक सम्पदाको संरक्षणमा महत्त्वपूर्ण योगदान गर्ने छ । 

शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ले कोर्डन ब्लु र ओरेगन कुलिनरी ईन्स्टिच्युट जस्ता प्रख्यात शैक्षिक संस्थाहरूमा दुई दशकभन्दा बढी समय आबद्ध भएर  विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्कृति र परिकारको विधामा शिक्षा तथा प्रशिक्षणको माध्यमबाट प्रेरणा दिई योगदान गरेका छन् । 

नेपाली पाक संस्कृतिप्रतिको आफ्नो गहिरो प्रेमलाई यस बृहत् पाक पुस्तक मार्फत विश्व मञ्चमा ल्याउन सफल भएपश्चात अब आफ्नो यात्राले पूर्णता  पाएको महसुस भएको उनी बताउँछन् । 

नेपालमा जन्मेर अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका लेखक वैद्यले आफ्नो जन्मभूमिमा योगदान गर्ने आफ्नो प्रतिबद्धता अनुरूप यस पुस्तकको बिक्रीबाट प्राप्त हुने आम्दानीको केही अंश नेपालमा महिला र बालबालिकाको शिक्षालाई सहयोगार्थ दान दिने घोषणा पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?