मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्री भट्टराईद्वारा विभिन्न कार्यालयहरूको निरीक्षण

बिहीबार, २९ कात्तिक २०८१, ११ : २८
बिहीबार, २९ कात्तिक २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सानोठिमीस्थित विभिन्न कार्यालयहरूको आकस्मिक निरीक्षण गरेकी छन् । विशेष शिक्षा परिषद्को बैठकमा सहभागी हुन परिषद्को सचिवालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेकी मन्त्री भट्टराईले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गरेकी हुन् ।

निरीक्षणपछि मन्त्री भट्टराईले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन आग्रह गरिन् । मन्त्री भट्टराई ले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बन्धनमा सञ्चालित विद्यालय सम्बद्ध काम गर्ने शाखाको समेत निरीक्षण गरेकी थिइन् । निरीक्षण गर्दै कार्य प्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएकी थिइन् ।

bidhya-2

शैक्षिक गुणस्तर परीक्षण केन्द्रसँगको अन्तरक्रियामा मन्त्री भट्टराई ले अनुसन्धानलाई वास्तविक बनाई अनुसन्धानका उपलब्धिलाई कार्यान्वयन गर्नका निम्ति योजनासहित अन्तर निकाय समन्वय गर्न सुझाव दिइन् । पुस्तकालयमा सबै उमेर समूहका पाठकका लागि उपयोगी पुस्तक थप गरी पुराना महत्त्वपूर्ण पुस्तकको संरक्षणसहित आधुनिक ढङ्गले पुस्तकालय व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्याई विशेषतः कक्षा १० र १२ को उपलब्धि सुधार गर्नुपर्ने बताइन् ।

bidhya-3

प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि व्यक्त गर्दै जनसेवामा समर्पित हुन कर्मचारीलाई आग्रह गरिन् । निरीक्षणका क्रममा केही कर्मचारी कार्यकक्षमा अनुपस्थित भएको र सो बारेमा पनि मन्त्री भट्टराईले चासो राखेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप