राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
काठमाडौँ । छिमेकी मुलुक भारत सरकाले फिल्म क्षेत्रका लागि ‘दादासाहेब फाल्के पुरस्कार’ वितरण गर्छ । राष्ट्रिय पुरस्कारको रूपमा रहेको यो पुरस्कार महिनौँ दिन अगाडिदेखि वितरण महिनौँपछि समेत चर्चा हुन्छ ।
नेपाल सरकारले फिल्म क्षेत्रका लागि वितरण गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को भने त्यति चर्चा भएको पाइन्न । सरकारले चलचित्र विकास बोर्डको आयोजनामा वर्ष २०८० को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बुधवार साँझ बाँड्यो । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट वितरण भएको पुरस्कारमा थुप्रै कलाकर्मीले अवार्ड र सम्मान थापे । जसको चर्चा त्यति हुन सकिरहेको छैन ।
समारोहमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड प्राप्त गर्दा उत्कृष्ट चलचित्र ‘बुलाकी’ र उत्कृष्ट निर्देशक फिल्म ‘दिमाग खराब’बाट निश्चल बस्नेत घोषित भए । समारोहमा ‘बुलाकी’ले तीन अवार्ड हात पारेको छ । यसका निर्देशक लक्ष्मण सुनारले भने सामाजिक सञ्जालबाट आफ्नो फिल्मले तीन अवार्ड जित्दा पनि आफूले कार्यक्रमको खबर नपाएको गुनासो पोखेका छन् ।
दश विधामा सर्वोत्कृष्ट अवार्ड बाँडिएको समारोहमा तीन फिल्म ‘सतीदेवी’, लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ विशेष चलचित्र घोषित भए ।
सोही अवसरमा पहिलो नेपाली चलचित्र ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मानदेखि तैयव शाह (कलाकार), कृष्ण प्रसाद रायमाझी (प्रदर्शक), नारायण प्रधान (द्वन्द्व निर्देशक), विद्या कार्की (कलाकार), नरेन्द्र महर्जन (प्रदर्शक), नन्द किशोर प्रसाद श्रीवास्तव (कलाकार/निर्माता), भोज बहादुर गुरुङ ((निर्देशक÷निर्माता) अमूल कार्की ढली (सङ्गीत संयोजक) ध्रुवकुमार श्रेष्ठ (प्रदर्शक) र बुद्धि तामाङ (कलाकार)लाई विशेष योगदान सम्मान दिइयो ।
पुरस्कारको समाचार केही मिडिया बाहेकको प्राथमिकतामा परेको छैन । न सामाजिक सञ्जालमै चर्चा छ । नेपाल सरकारबाट नियमित वितरण हुँदै आएको यो चलचित्र क्षेत्रको सर्वोच्च पुरस्कार हो । आजको मितिसम्म आउँदा पुरस्कार परिष्कृत समेत भएको छ । राष्ट्रले राष्ट्रपतिबाट प्रदान गरिने पुरस्कारको चर्चा भने घट्दो छ । पुरस्कार वितरण समारोहमा चलेका कलाकारको खडेरी देखियो । केही पुरस्कृत ब्यक्तिकै अनुपस्थिती रहे।
गत वर्ष पुरस्कारबाट उत्कृष्ट फिल्मको विधा हटेको विषय अदालतसम्म पुग्यो । यो वर्ष पनि केही विधामा प्रश्न उठिरहेका छन् ।
चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा विगतका केही वर्षदेखि पुरस्कारको विश्वसनीयता र चर्चा घट्दै आएको बताउँछन् । ‘अहिले अवार्ड पनि धेरै हुने गरेको छ । कुन राम्रो, कुन महत्त्वपूर्ण त्यसमा ध्यान दिन छाडेका छन्’, देउजाले भने ‘विगतका वर्षमा अवार्ड र पुरस्कार राम्रोलाई भन्दा हाम्रोलाई पनि वितरण भयो । त्यसले गर्दा कार्यक्रममा कलाकार समेत सहभागी हुन छाडे ।’ पब्लिकको रुचाएका फिल्म र फिल्मकर्मी बेगरले अवार्ड पाउँदा पनि चर्चा घट्ने देउजाको धारणा छ ।
देउजाको बिचारसँग फिल्म समीक्षक तथा निर्देशक दीपेन्द्र लामा पनि सहमत जनाउँछन् । नेपालमा राष्ट्रिय चलचित्र पुरस्कार मात्र होइन, सबै अवार्डको गरिमा र चर्चा घटेको लामाको धारणा छ ।
‘अहिले अवार्ड प्रोफाइल बढाउन र अमेरिका लगायत मुलुकमा पलायन हुनका लागि प्रयोग भइरहेका छन् । त्यसले अवार्डका लागि सेटिङ, सिफारिस र चाकडी मौलाइरहेको छ’, लामाले थप्छन् ‘राजनीतिक दलको आफ्नो मान्छे लगायत धेरै कुरामा पनि अवार्ड दिइन्छ ।’
अवार्डका लागि मात्र होइन, अवार्डको जुरी समेत क्षमता भन्दा भनसुन र आफ्नो मान्छे हेर्न थालिएको लामाको भनाई छ । ‘जुरीमा वर्तमान समयमा अपडेट नभएका मानिस बस्ने र उनीहरूले गरेको निर्णय समय सान्दर्भिक नहुने समेत भइरहेको छ’ लामाले थपे ‘सानातिना असन्तुष्टि स्वभाविक हो । धेरै असन्तुष्टि र विवादमा भने आयोजकले ध्यान दिनुपर्छ ।’
के भन्छ बोर्ड ?
राष्ट्रिय चलचित्र पुरस्कारको जति चर्चा हुनुपर्ने हो, त्यो नभइरहेको चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकी बताउँछन् । ‘कार्यक्रममा तोकिएको सङ्ख्या अनुसार उपस्थिति पनि भएको र कार्यक्रम पनि राम्रै आयोजना भएको हो’, बुढाथोकीले भने ‘राष्ट्रपति कार्यालयमा आयोजना भएकोले चाहना हुँदा पनि धेरैलाई सहभागी सराउन सकिएन । कार्यक्रममा पनि छोटो बनाउनुपर्यो ।’
‘गतवर्ष हामीले सहभागिता र चर्चा राम्रो गर्न सकिन्छ कि भनेर छलफल पनि चलाएका थियौ’, बुढाथोकीले थपे, ‘राष्ट्रिय पुरस्कारको अन्तर्राष्ट्रिय प्रचलन राष्ट्रपतिबाट राष्ट्रपतिको कार्यालयमा निश्चित समारोहका बिच दिने प्रचलन छ भनेर छलफल भयो ।’
जुरीहरूको निर्णय समयमै खोलेर त्यो बाहिर ल्याउन नसकेको कारण पनि प्रचारमा कम देखिएको हुन सक्ने बुढाथोकीको धारणा छ । ‘आन्तरिक हाम्रो तयारी राम्रो थियो । बाहिर भने केही अगाडिदेखि प्रचार भने नभएको हो’ बुढाथोकीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता