राजा नभई देश र प्रजातन्त्र जोगिँदैन : राजनीतिक विश्लेषक खनाल
काठमाडौँ । राजनीतिक विश्लेषक रञ्जन खनालले नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र बीआरआई सम्झौताका विषयमा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को ऋण लिन नसकिने बताएका हुन् ।
‘हामी अहिले ऋण लिन सक्ने अवस्थामा छैनौँ । त्यसकारण अहिले बीआरआईको ऋण लिन सक्दैनौँ,’ उनले भने । साथै, बीआरआईको सन्दर्भमा होमवर्क नै नभई अगाडि बढाइएको उनको भनाइ छ । उनले बीआरआईलाई पारदर्शी रूपमा अगाडि बढाउन आवश्यक रहेको बताए ।
‘चीन हाम्रो नजिकको मित्र राष्ट्र हो । चीनसँग बीआरआईको सहकार्य बढाइयो । यसमा केही होमवर्क नै भएको छैन । यसमा पारदर्शिता चाहियो । यसको बारेमा जान्ने हामीलाई हक छ । हामी अहिले ऋण लिन सक्ने अवस्थामा छैनौँ । यो केपी ओली, शेरबहादुर र अहिलेका अर्थमन्त्रीले नभनुन्, हामीले भन्नैपर्छ– नेपालको अर्थतन्त्र डामाडोल छ । हामीले नयाँ आर्थिक क्रान्ति नगरी देशको मुहार फेर्न सक्दैनौँ,’ उनले भने ।
साथै, उनले आफू स्वर्गीय राजा महेन्द्रको अनुयायी रहेको बताउँदै राजा नभई देश र प्रजातन्त्र जोगिने जिकिर गरे । ‘म महेन्द्रका थुप्रै नीतिहरूको अनुयायी पनि हुँ । राजा नहुँदा देशको प्रजातन्त्र जोगिनेवाला छैन । यो देश जोगिनेवाला छैन । आज हाम्रो देशले नेतृत्व खोजेको छ भने राजा महेन्द्रजस्तो नेतृत्व खोजेको छ । हामीले स्वतन्त्र राष्ट्रको सदस्यता कसको पालामा पायौँ ? हामीले अन्तर्राष्ट्रिय जगतमा कसको पालामा प्रसिद्धि कमायौँ ? राजमार्ग, उद्योग धन्दा र विकास कसको पालामा सुरु भयो ? हामीले भन्नैपर्छ, राजा महेन्द्रको पालामा खुलेको हो । अब देशले राजा महेन्द्रको बाटो अवलम्बन गर्नुपर्छ र हाम्रा मित्र राष्ट्रहरूसँगको सम्बन्धमा रिभ्यू गर्नुपर्छ । हाम्रा नेताहरूले मित्र राष्ट्रहरूसँगको सम्बन्ध बिगारे । अहिले विदेशी हस्तक्षेप बढिरहेको छ,’ उनले भने ।