प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरे ।
प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका एवं द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।
यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् ।
सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि दुई शीर्ष नेताबीच कुराकानी भएको जनाइएको छ । यसैबीच, प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विदेशी मुद्राको भाउ : कसको मूल्य कति ?
-
प्रिमियर लिगमा लिभरपुललाई घाटा, एभर्टनले अंक खोस्यो
-
माथिल्लो त्रिशूली जलविद्युत् प्रभावितलाई सामाजिक उत्तरदायित्वको १७ करोड
-
रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
-
नगरको नारा, ‘एक घर एक धारा’